News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन्।
- पोखरेलले सभामुख डोल प्रसाद अर्यालको विदेशमा कमाएको भनिएको सम्पत्तिको स्रोत र कर तिर्ने विषयमा जवाफ दिनुपर्ने बताए।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दु:ख दिने काम भएको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए।
२८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गरेका छन् ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप थियो ।
साथै, उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाए ।
श्रमिकबाट मालिक बन्नु अपराध नभएको भन्दै विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आएको र राज्यलाई कर तिरिएको छ वा छैन ? भन्नेबारे जवाफ दिनुपर्ने महासचिव पोखरेलको भनाइ थियो ।
‘श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ,’ महासचिव पोखरेलले भने ।
मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउँदै उनले आफ्नो पार्टीका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन पनि तयार रहेको जिकिर गरे ।
‘सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन्,’ उनले भने ।
जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ‘प्रतिशोधको हतियार’ बनाएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दु:ख दिने काम भएको उनले सम्बोधनको क्रममा बताए । साथै, उक्त कदमको पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी समेत महासचिव पोखरेलको छ ।
प्रतिक्रिया 4