२८ चैत, धनकुटा । यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नयाँवर्षको अवसरमा कोप्चे उत्सव गर्न लागिएको हो ।
आयोजक कोप्चे पुनर्जागरण अभियानले शनिवार पत्रकार सम्मेलन गरी चैत ३० देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्धनका लागि उत्सव गर्न लागिएको आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिए ।
उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् ।
त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बन्ने प्रतियोगिता घुम्ने कुर्सी आदि मनोरञ्जनात्मक खेल खेलाइने जनाइएको छ ।
यस्तै संस्कृति संरक्षण र पर्यटन विकासका लागि अन्तरक्रिया, स्थानीय हस्तकलाको प्रदर्शनी तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ । उत्सवमा नेपाल फोटो पत्रकार महासंघको सहकार्यमा धनकुटाका पुराना तस्बिर तथा सामग्रीको प्रदर्शन गरिने भएको छ ।
तीन दिनसम्म चल्ने उत्सवमा करिब १५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा १३ लाख ३५ हजार आम्दानी र खर्च हुने आयोजकको अनुमान छ ।
उत्सवमा भक्तपुरको हाडीगाउँसँग सहकार्य सुरुवात गरिने हस्ताक्षर गरिने भएको छ । जसले सहयोग आदानप्रदानका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा रहेको छ ।
तीन दशक अघिसम्म धनकुटा मुख्य बजारको रूपमा रहेको कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि पुरानै चहलपहल फर्काउन भन्दै पुनर्जागरण अभियानले नयाँ वर्षको अवसरमा कोप्चे उत्सव गर्दै आएको छ ।
प्रतिक्रिया 4