+
+
Shares

सबाना फिटनेसको पाचौँ वार्षिकोत्सवमा २० महिलालाई निःशुल्क वर्कआउट प्लान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:३३

महिलाहरूको स्वास्थ्य, फिटनेस र सशक्तिकरणलाई केन्द्रमा सञ्चालन हुँदै आएको सबाना फिटनेसले आफ्नो पाचौँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । यस अवसरमा आर्थिक रूपमा कमजोर तथा जिम र डाइट प्लान अफोर्ड गर्न नसक्ने २० जनालाई निःशुल्क वर्कआउट प्लान उपलब्ध गराइएको छ ।

सबाना फिटनेसकी सञ्चालिका सबाना खातुनका अनुसार आफूले प्रदान गर्ने फिटनेस प्लानले महिलाहरूलाई महंगो पैसा नतिरी पनि आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिन्छ भनेर प्रेरणा दिन बनाइएको हो ।

‘घरमै गरिने केही साधाहरण व्यायाम र हामीले दैनिक खाने खानालाई सही तरिकाले मिलाएर खाँदा पनि तौल घटाउन सकिन्छ भन्ने देखाउन खोजेकी हुँ’ उनले भनिन् । उनका अनुसार धेरै महिलाहरूले ‘डाइट गरे पनि तौल घट्दैन’ भन्ने गुनासो गर्ने गर्छन् । यस्तो अवस्थामा उनीहरूलाई सही तरिका देखाउनु नै आफ्नो उद्देश्य भएको बताउँछिन् ।

हालसम्म देशका विभिन्न ठाउँ– बुटवल, भैरहवा, पोखरा लगायतबाट ४०–५० जना महिलाहरूले यो निःशुल्क कार्यक्रमका लागि दर्ता गरिसकेका छन् । तीमध्ये करिब २० जना सक्रिय रूपमा अभ्यास गरिरहेका छन् । केही महिलाहरूले ७ केजीसम्म तौल घटाउन सफल भएको पनि उनले जानकारी दिइन् ।

सबाना भन्छिन्, ‘धेरै महिलाहरूलाई लाग्छ तौल घटाउन महँगो हुन्छ । तर त्यो गलत धारणा हो । सामान्य खानपिनलाई व्यवस्थित गरेर र केही साधाहरण व्यायाम गरेर पनि राम्रो परिणाम ल्याउन सकिन्छ ।’

कार्यक्रमकै क्रममा उनले एउटा महत्वपूर्ण तथ्य सार्वजनिक गरिन् सबाना फिटनेसमा आउने कुल सदस्यता शुल्कको ५ प्रतिशत रकम गरिब तथा विपन्न बालबालिकाको शिक्षा र खानपानमा सहयोगका लागि खर्च गरिँदै आएको छ ।

‘यो कुरा मैले अहिलेसम्म सार्वजनिक गरेकी थिइनँ, तर पाँच वर्ष पुगेको अवसरमा साझा गरेकी हुँ’ उनले भनिन् ।

सबानाको मातृत्वपछिको प्रेरणादायी फिटनेस यात्रा

उनले आफ्नो व्यक्तिगत अनुभव पनि सेयर गरिन् । गर्भावस्थामा करिब ४० केजी तौल बढे पनि उनले त्यसलाई स्वाभाविक रूपमा स्वीकारिन् । हाल १६ महिनाको शिशुकी आमा रहेकी उनी १०६ केजीबाट ८१ केजीसम्म तौल घटाउन सफल भइसकेकी छन् ।

उनका अनुसार स्तनपान गराइरहेको अवस्थामा आफूलाई पोषणयुक्त खानामा ध्यान दिँदै, शरीरलाई माया गरेर बिस्तारै फिटनेसमा फर्कनु महत्वपूर्ण हुन्छ ।

पोस्ट–डेलिभरी अवस्थामा धेरै महिलाहरूले शारीरिक परिवर्तनका कारण मानसिक दबाब भोग्नुपर्ने उल्लेख गर्दै उनले परिवार, विशेषगरी श्रीमानको साथ अत्यन्त आवश्यक हुने बताइन् ।

‘एक आमालाई उसको शरीरका कारण आलोचना होइन, माया र समर्थन चाहिन्छ । त्यसले बच्चाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ’ उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?