News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय संगीतकी गायिका आशा भोसलेको निधनले विश्व संगीतमा एउटा युगको अन्त्य भएको छ।
- आशा भोसलेले नेपाली फिल्म र गीतमा स्वर दिँदै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न मद्दत गरिन्।
- उनले नेपाली संगीतका प्रतिष्ठित स्रष्टासँग सहकार्य गरी नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याइन्।
भारतीय संगीतकी अद्वितीय गायिका आशा भोसले हामीबीच रहिनन् । उनको निधनले भारतीय उपमहाद्वीप मात्र होइन, विश्व संगीतले एउटा युग गुमाएको छ । ७ दशकभन्दा लामो संगीत यात्रामा हजारौँ गीतमार्फत उनले जुन विरासत छोडिन्, त्यसको आभा हजारौं वर्षसम्म दिप्त भैरहनेछ ।
उनको प्रभाव नेपालमा पनि गहिरो छ । उनले नेपाली फिल्म र गीतमा स्वर दिएकी छन्, जसले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न मद्दत गर्यो । विशेषगरी सन् ७०/८० को दशकमा नेपाली संगीतमा भारतीय संगीतकार र गायकसँगको सहकार्य बढ्दै जाँदा भोसलेको स्वरले पनि यहाँ स्थान पायो ।
उनले गाएका केही नेपाली गीत आज पनि बजिरहन्छन् । नेपाली फिल्मका लागि उनले दिएको स्वरले पाश्र्वगायनलाई उचाइमा पुर्यायो । त्यसबेला नेपाली संगीत उद्योग विकासकै क्रममा थियो, त्यस्तो अवस्थामा भोसलेजस्तो अन्तर्राष्ट्रिय स्तरको गायिकाको सहभागिताले नेपाली पाश्र्वगायनलाई आत्मविश्वास दिएको थियो ।
उनको योगदान गीत गाउनुमा सीमित थिएन, उनले नेपाली संगीतलाई व्यापक दर्शकमाझ चिनाउन सहयोग गरिन् । भारतीय रेडियो र क्यासेट संस्कृतिमा उनका गीतसँगै नेपाली गीत पनि सुन्ने वातावरण बनेको थियो ।

संघर्षशील यात्राको कथा
सन् १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेको जीवन बाल्यकालदेखि नै सहज थिएन । प्रसिद्ध गायक तथा नाटककार पण्डित दीनानाथ मंगेशकरकी छोरी भएकाले संगीत उनको रगतमै थियो । तर बाल्यकालमै पिताको निधन भएपछि परिवारको जिम्मेवारी उनको काँधमा आयो । त्यहीँबाट सुरु भयो संघर्ष र आत्मनिर्भर यात्राको कथा ।
दिदी लता मंगेशकरको छायाँमा आफ्नो छुट्टै पहिचान बनाउनु त्यति सजिलो थिएन । सुरुका दिनमा बी-ग्रेड फिल्मका अवसर र अस्वीकारको पीडाबाट गुज्रँदै उनले आफूलाई प्रमाणित गरिन् । तर कहिल्यै हार मानिनन् । समयसँगै उनले आफ्नो स्वरलाई यति फराकिलो बनाइन् कि शास्त्रीय, गजल, पप, क्याबरेदेखि लोकशैलीसम्म सहजै गाउन सक्ने बहुआयामिक गायिका बनिन् ।
उनको योगदान भारतीय संगीतमा संख्यामा होइन, गुणस्तर र विविधतामा पनि अतुलनीय छ । उनले आरडी बर्मन, ओपी नैय्यरजस्ता दिग्गज संगीतकारसँग काम गर्दै नयाँ ध्वनि र शैलीको प्रयोग गरिन् । ‘पिया तू अब तो आजा’, ‘दम मारो दम’, ‘चुरा लिया है तुमने’, ‘इन आँखों की मस्ती’ जस्ता गीतले उनलाई पुस्तौँपुस्ता सम्झने बनायो ।
उनको आवाजमा एकैपटक पीडा, प्रेम र विद्रोह सबै अभिव्यक्त हुन्थ्यो । यही कारणले उनी गायिका मात्र होइन, एउटा भावनात्मक अनुभव बनिन् । उनले हिन्दी मात्र होइन, बंगाली, मराठी, गुजराती, पंजाबी, अंग्रेजी लगायत २० भन्दा बढी भाषामा गीत गाएकी छन् ।
नेपाली संगीत र संस्कृति भनेपछि हुरुक्कै
भोसलेले नेपाली फिल्म र गीतमा दिएको स्वर आज पनि संगीतप्रेमीले सम्झिरहन्छन् । उनले गाएका गीत हिट मात्र भएनन्, नेपाली श्रोताको भावनासँग गहिरो रूपमा जोडिए ।
‘म प्यार बेचिदिन्छु’, ‘यति धेरै माया दियौ’, ‘एउटा मान्छे मनपर्छ’, ‘बैगुनी मायाले’, ‘गैरी खेतको शिरै हान्यो’, ‘आज हाम्रो भेट भएको दिन’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘दियो बाली साँझको’, ‘साउने झरीमा’, ‘वसन्त नै बस्न खोज्छ यहाँ’, ‘पहाडको माथि माथि’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’ लगायतका नेपाली गीत हिट छन् ।
यी गीतमा भोसलेले प्रेम, विरह, प्रकृति र जीवनका सरल भावलाई आफ्नो विशिष्ट शैलीमा प्रस्तुत गरेकी छन् । उनको आवाजले यी गीतलाई जीवन्त बनाएको छ । धेरै गीत आज पनि रेडियो, सांगीतिक कार्यक्रम र डिजिटल प्लेटफर्ममा सुन्न पाइन्छ ।
भोसलेले नेपाली संगीतका थुप्रै प्रतिष्ठित स्रष्टासँग सहकार्य गरिन् । नारायणगोपाल, प्रकाश श्रेष्ठ, शम्भुजीत बासकोटा, जयदेव, किरण खरेल, रञ्जित गजमेर, कुसुम गजमेर उनले लगायतसँग काम गरेकी छन् । यी सहकार्यले नेपाली संगीतमा नयाँ स्वाद थपे । भारतीय गायन शैली र नेपाली शब्द तथा धुनको संयोजनले एउटा फरक पहिचान बनायो । विशेषगरी रञ्जित र शम्भुजीतजस्ता संगीतकारसँगको कामले आधुनिक नेपाली फिल्म संगीतलाई उचाइमा पुर्याउन मद्दत गर्यो ।
भोसलेले नेपाललाई सधैं सांस्कृतिक रूपमा नजिकको देशका रूपमा हेरेकी थिइन् । उनका लागि नेपाल छिमेकी देश होइन, संगीत बुझ्ने र आत्मसात गर्ने दर्शक भएको समाज थियो । उनले नेपाली श्रोताको संगीतप्रेम, संवेदनशीलता र गीतप्रतिको लगावको प्रशंसा गर्ने गर्थिन् । ‘पर्देमे रहेनो दो, पर्दा ना उठाओ’ गीतको छायांकन र काठमाडौंमा भएको पछिल्लो कार्यक्रममा आउँदा उनले यहाँको वातावरण, मान्छेको ऊर्जा र आतिथ्यबाट आफू प्रभावित भएको बताएकी थिइन् ।
नेपाली संगीतप्रति उनको दृष्टिकोण सकारात्मक थियो । नेपाली गीतमा मौलिकता, लोकधुनको गहिराइ र शब्दको मिठास रहेको बताउने गर्थिन् । उनको बुझाइमा नेपाली संगीत प्रकृतिसँग जोडिएको छ- पहाड, नदी, वर्षा र गाउँघरका अनुभूति गीतमा झल्किन्छन् । यही विशेषताले नेपाली संगीतलाई फरक बनाउँछ । उनले समयसँगै गुणस्तर कायम राख्नु, राम्रो शब्द प्रयोग गर्नु र अभ्यासलाई निरन्तरता दिनुपर्ने कुरामा पनि जोड दिएकी थिइन् ।
भोसले भारतीय गायिका मात्र होइनन्, विश्व संगीतको एक महत्वपूर्ण नाम हुन् । उनले विभिन्न देशमा कन्सर्ट गरिन्, अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गरिन् र भारतीय संगीतलाई विश्वमञ्चमा पुर्याइन् । उनका गीत दक्षिण एसियाबाट बाहिर पनि उत्तिकै लोकप्रिय छन् । यही कारणले उनलाई ग्लोबल आइकनको रूपमा पनि चिनिन्छ ।
नारायणगोपाल थिए ‘फेभरेट सिंगर’

भोसलेसँग नेपाली फिल्म निर्देशक तुलसी घिमिरेका रोचक किस्सा छन् । डेब्यू फिल्म ‘बाँसुरी’को गीतमा आवाज दिन आग्रह गर्दै तुलसी र रञ्जित गजमेर मुम्बई पुगेका थिए । आशा रञ्जितलाई कान्छा भनेर बोलाउँथिइन् र उनीहरूको मित्रता राम्रो थियो । रञ्जितको चिनजानीबाटै तुलसीले मुम्बईको वेस्टर्न आउटडोर स्टुडियोमा आशासँग भेटे अनि फिल्ममा गीत गाउन आग्रह गरे ।
स्टुडियोबाट बाहिर निस्कँदै गर्दा आशालाई तुलसीले भेटे । रञ्जितले चिनापर्ची गराइदिएपछि तुलसीले गीत गाउन अप्रोच गरे । ‘कति पैसा दिन्छौ’ भनेर सुरुमै आशाले आफूलाई भनेको क्षण तुलसी सम्झिन्छन् । त्यतिबेला भारती पनि सँगै थिइन् । भारती र तुलसीको विवाह भैसकेको थिएन ।
‘दिदी सानो फिल्म बनाउँदैछु’ भनेर तुलसीले भनेपछि ‘पैसा कितना देगा’ भनेर आशाले ठट्टा गरिन् । त्यसपछि रञ्जिततर्फ हेर्दै ‘कान्छा गाना रेडी करो’ भनेर भनिन् । त्यसपछि स्टुडियोको बुकिङ पनि गरे । ‘अनि हामी खुसी भयौं । उहाँको आवाज नेपाली फिल्ममा समावेश गर्नु एउटा माइलस्टोन थियो’ तुलसी सम्झिन्छन् ।
आशाले ‘बाँसुरी’का दुई गीत गाइन्- मिरमिरे साँझमा सिमसिमे पानी’ र ‘झझल्को लिएर आएछ सावन, फेरी आँखामा’ । यी दुवै गीतमा आशाले स्वर दिइन् भने रञ्जितले संगीत भरे । त्यसपछि तुलसीका अन्य फिल्महरू चिनो, कोसेली, लाहुरेमा पनि आशाले स्वर दिइन् ।
‘उहाँ नेपालीलाई साह्रै माया गर्ने लिजेन्ड्री सिंगर । नेपाल र नेपालीलाई साह्रै माया गर्ने’ तुलसी सम्झिन्छन्, ‘उहाँलाई मनपर्ने गायक नारायणगोपाल हुनुहुन्थ्यो । उहाँहरूले पहाडको माथि माथि गीतमा पनि सहकार्य गर्नुभयो ।’ तुलसीका अनुसार आशाले नारायणगोपालको स्वर, गायकी र उनको स्वभावको खुबै प्रशंसा गरेकी थिइन् । ‘आशाजी नेपाल र नेपालीलाई खुबै माया गर्ने मान्छे हो’ तुलसीले सम्झिए, ‘नेपाली गीत भने पछि हुरुक्कै । उहाँले अन्य भाषाका गीत पनि गाउनुभयो तर, नेपालको भनेपछि उहाँले नाइँनास्ती गर्नुभएन ।’
भोसलेको निधनले एउटा युगको अन्त्य भएको अनुभूति हुन्छ । तर उनका गीतहरू कहिल्यै हराउने छैनन् । उनको स्वर अझै रेडियोमा बजिरहनेछ, नयाँ पुस्ताले सुन्नेछ र पुराना पुस्ताले सम्झिनेछ । उनले देखाएको बाटो– संघर्ष, मेहनत र समर्पण- सधैं प्रेरणाको स्रोत रहनेछ । उनको अनुपस्थिति महसुस हुनेछ, तर उनको आवाज सधैं हाम्रो साथमा रहनेछ ।
भोसलेको जीवन नयाँ पुस्ताका लागि एउटा स्पष्ट सन्देश हो– सफलता छोटो बाटोबाट आउँदैन । उनले निरन्तर अभ्यास, अनुशासन र मेहनतलाई प्राथमिकता दिइन् । समयसँगै आफूलाई बदल्दै लगे पनि आफ्नो पहिचान गुमाइनन् । आजका गायक-गायिकाले उनीबाट सिक्न सक्ने सबैभन्दा ठूलो कुरा यही हो- बहुआयामिक हुनु, तर मौलिकता जोगाउनु ।

प्रतिक्रिया 4