+
+
Shares

आशा भोसलेको निधनमा शम्भुजीत : नेपाली संगीतलाई लगाउनुभएको गुन युग-युगसम्म रहनेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएपछि नेपाली संगीत क्षेत्र शोकाकुल बनेको छ।
  • संगीतकार शम्भुजीत बासकोटाले भोसलेसँगको सहकार्य र आत्मीय सम्बन्ध सम्झँदै उनलाई नेपाली संगीतको सच्चा हितैषी बताउनुभयो।
  • भोसलेले नेपाली गीत गाउने इच्छा व्यक्त गर्दै मुम्बईमा रेकर्डिङका लागि बोलाएकी थिइन् र 'चेलीबेटी' फिल्मका गीत गाएकी थिइन्।

काठमाडौं । भारतीय संगीतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएपछि नेपाली संगीत क्षेत्र पनि शोकाकुल बनेको छ । उनको निधनसँगै यहाँका स्रष्टाले उनीसँगका आफ्ना सम्झना साझा गर्न थालेका छन् ।

संगीतकार शम्भुजीत बासकोटाले पनि भोसलेसँगको सहकार्य र आत्मीय सम्बन्ध सम्झिँदै उनलाई नेपाली संगीतको सच्चा हितैषीका रूपमा चित्रित गरेका छन् ।

‘आशा भोसलेको निधनको खबरले निकै दुःखी बनायो,’ बासकोटाले भने, ‘२०४० सालतिर काठमाडौंको विशाल बजारमा पहिलो पटक उहाँसँग भेट भएको थियो । उहाँ आरडी बर्मनसँग घुम्न आउनुभएको थियो । त्यही बेला मैले आफूलाई नेपाली संगीतकार भनेर चिनाएको थिएँ ।’

त्यो छोटो भेटले नै सहकार्यको ढोका खोल्यो । बासकोटाका अनुसार भोसलेले नेपाली गीत गाउने इच्छा व्यक्त गर्दै मुम्बईमा रेकर्डिङका लागि बोलाएकी थिइन् । त्यसपछि उनी ‘चेलीबेटी’ फिल्मका गीत लिएर मुम्बई पुगे ।

‘तिम्रो आँखाको सागरमा…’ यूगल गीत तयार पारेको थिएँ । अर्को ‘एउटा मान्छे मन पर्छ भन्न सक्दिन’ गीत लता मंगेशकरका लागि थियो,’ बासकोटा भन्छन्, “तर लता दिदी विदेशमा भएकाले दुवै गीत आशाले नै गाउनुभयो ।’ यी गीतहरू पछि निकै लोकप्रिय भए ।

फिल्म ‘प्रेम पिण्ड’को चर्चित गीत ‘गैह्री खेतको सिरै हान्यो’ पनि भोसलेकै स्वरमा रेकर्ड भयो । ‘यो गीतमा हामीले निकै मेहनत गर्‍यौं । समय पनि धेरै लगायौं । अन्ततः गीतले राम्रो प्रभाव छोड्यो,’ बासकोटाले सम्झिए । यही गीतका लागि उनले सर्वोत्कृष्ट संगीतकार र आशा भोसलेले सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेका थिए ।

बासकोटाका अनुसार भोसलेसँगको सम्बन्ध केवल काममा सीमित थिएन । ‘रेकर्डिङअघि उहाँकै घरमा रिहर्सल हुन्थ्यो । आफैंले चिया-खाजा खुवाएर हौसला दिनुहुन्थ्यो । नेपाली गीतप्रति उहाँको विशेष लगाव थियो,’ उनले भने ।

उनकै संगीतमा आशा भोसलेले ‘करोडपति’ फिल्मको ‘छुन्छन् तिमीलाई चञ्चल हावा’ गीत पनि गाएकी थिइन् । “मैले उहाँसँग गरेका सबै गीत सफल भए,” बासकोटाले भने, “यो मेहनतको परिणाम हो । उहाँ नेपाली संगीतलाई मनदेखि माया गर्ने कलाकार हुनुहुन्थ्यो ।’

उनले पछिल्लो भेट पनि सम्झिए । ‘काठमाडौंमा भेट हुँदा पनि उहाँले नयाँ गीतबारे सोध्नुभएको थियो । मैले बनाउँछु भनेको थिएँ, तर त्यो सम्भव हुन सकेन,’ उनले भने ।

बासकोटाले श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘मेरा सृजनालाई अलौकिक आवाजले सिंगारेर मेरो संगीतलाई गर्विलो बनाइदिनुभएकोमा म यसलाई आफ्नो जीवनको आशीर्वादको रूपमा लिएको छु । दिदीको निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु । यस दुखको घडीमा म यहाँप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु । आशा दिदी, यहाँले यस भौतिक संसारबाट विदा लिनुभए पनि संसारभरि रहेका संगीतप्रेमीको मन मस्तिष्क र संगीत आकाशमा सदा गुञ्जिरहनुहुनेछ । यहाँले नेपाली संगीतलाई लगाउनुभएको गुन युगयुगसम्म रहिरहने छ । हामी सबै नेपालीले दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?