+
+
Shares

राजकीय सम्मानसहित आशा भोसलेको अन्त्येष्टि गरिँदै, अन्तिम श्रद्धाञ्जलीमा पुगे कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय गायिका आशा भोसलेको निधनपछि मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि आज अपराह्न ४ बजे शिवाजी पार्कमा गरिने छ।
  • उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई 'भारतीय संगीतका सबैभन्दा प्रतिष्ठित र बहुआयामिक स्वरमध्ये एक' भनेका छन्।
  • आईपीएल खेलमा मुम्बई इन्डियन्सका खेलाडीले कालो पट्टी बाँधेर एक मिनेट मौन धारण गरी भोसलेप्रति सम्मान व्यक्त गरेका छन्।

मुम्बई । भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोसलेको अन्त्येष्टि आज मुम्बईमा राजकीय सम्मानका साथ गरिने भएको छ । आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएकी भोसले ९२ वर्षकी थिइन् ।

उनको पार्थिव शरीरलाई आज अपराह्न ४ बजे शिवाजी पार्कमा अन्त्येष्टि गरिने कार्यक्रम छ । अन्तिम श्रद्धाञ्जलीका लागि बिहानैदेखि उनको निवास बाहिर सर्वसाधारणदेखि कलाकारसम्मको भीड लागेको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस पनि अन्त्येष्टिमा सहभागी हुने जनाइएको छ ।

भोसलेको निधनले भारतीय फिल्म र संगीत उद्योगमा गहिरो शोक छाएको छ । बलिउडका चर्चित कलाकार शाहरुख खान, काजोल, श्रेया घोषाल, करिना कपूर खान, विक्की कौशल, अनु मलिक, कमल हासन, जुनियर एनटीआर लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनको निवासमा अन्तिम दर्शनका लागि अभिनेत्री तब्बु, क्रिकेटर सचिन तेन्दुलकर र उनकी पत्नी अञ्जली तेन्दुलकर पुगेका थिए । उनीहरूले भोसलेकी नातिनी जनाई भोसलेलाई समवेदना व्यक्त गरेका दृश्यले उपस्थित सबैलाई भावुक बनायो । जनाई अन्तिम दर्शनका क्रममा निकै भावुक बनेकी थिइन् ।

शिवसेनाका प्रमुख उद्धव ठाकरे पनि परिवारसहित श्रद्धाञ्जली दिन पुगे । अभिनेत्री आशा पारेखले पनि आफ्ना पुराना सहकार्य सम्झँदै भोसलेप्रति अन्तिम श्रद्धा अर्पण गरिन् । भोसलेले पारेखका लागि ‘जाइए आप कहाँ जाएंगे’, ‘आजा आजा मैं हूँ प्यार तेरा’, ‘ओ मेरे सोना रे’ जस्ता चर्चित गीत गाएकी थिइन् ।

भोसलेको निवासमा अन्तिम दर्शनका क्रममा उनका चर्चित गीतहरू बजाइएका छन् । ‘आओ हुजूर तुमको’, ‘दिल चीज क्या है’, ‘ओ साथी रे’ जस्ता गीतको धुनबीच मानिसहरू श्रद्धाञ्जली दिन आइरहेका छन् ।

अभिनेत्री तब्बुसँग उनको सम्बन्ध पनि विशेष रह्यो । केही महिनाअघि मात्र भोसलेले तब्बुलाई गिटार उपहार दिएकी थिइन् । फिल्म ‘तक्षक’का लागि उनले गाएको ‘मुझे रंग दे’ गीत आज पनि चर्चित छ ।

उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै भोसलेलाई ‘भारतीय संगीतका सबैभन्दा प्रतिष्ठित र बहुआयामिक स्वरमध्ये एक’ भनेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले पनि उनको निधनलाई “संगीतप्रेमीका लागि अपूरणीय क्षति” भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

शाहरुख खानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आशा भोसलेको प्रतिभा समयभन्दा धेरै टाढासम्म बाँचिरहनेछ । उनको स्वर भारतीय सिनेमाको एक महत्वपूर्ण आधार हो, जसले सदियौंसम्म गुञ्जिरहनेछ ।’

क्रिकेटर सचिन तेन्दुलकरले उनलाई “परिवारजस्तै” भन्दै सम्झिएका छन् । उनले भनेका छन्, “उनका अमर गीतमार्फत उनी सधैं जीवित रहनेछिन् ।’

संगीतकार एआर रहमानले “उनको स्वर र व्यक्तित्वमार्फत उनी सधैं बाँचिरहनेछिन्’ भन्दै श्रद्धाञ्जली दिएका छन् । गायिका श्रेया घोषालले आफूले बाल्यकालदेखि उनको गीत सुनेर सिकेको स्मरण गर्दै उनको बहुआयामिक प्रतिभाप्रति सम्मान व्यक्त गरेकी छन् ।

उनको निधनप्रति क्रिकेट जगतले पनि सम्मान जनाएको छ । आइतबार भएको आईपीएल खेलमा मुम्बई इन्डियन्सका खेलाडीले कालो पट्टी बाँधेर एक मिनेट मौन धारण गरेका थिए ।

७ दशकभन्दा लामो करिअरमा हजारौं गीत गाएकी भोसलेले रोमान्टिक गीतदेखि उत्साहपूर्ण गीतसम्म सहज रूपमा गाउने क्षमता राख्थिन् । यही बहुआयामिकता नै उनलाई पुस्तौंदेखि संगीतकारको पहिलो रोजाइ बनायो । आज उनको अन्त्येष्टिसँगै भारतीय संगीतको एक युग औपचारिक रूपमा टुंगिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?