+
+
Shares

आफ्नो जिद्दी र प्रतिभाले दशकौंसम्म राज गरेकी आशा भोसले

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ, जसले हिन्दी चलचित्र संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्।
  • आशाले १९४८ मा प्लेब्याक गायन सुरु गरिन् र ओपी नय्यर र एसडी बर्मनसँग काम गरेर संगीतमा नयाँ पहिचान बनाइन्।
  • उनले 'उमराव जान' चलचित्रको गजल गाएर राष्ट्रिय पुरस्कार जितिन् र नयाँ पुस्तालाई संगीतमा नयाँ शैली प्रस्तुत गरिन्।

चर्चित गायिका आशा भोसलेको आज निधन भयो ।

भारतीय संगीत क्षेत्रमा उनी ठूलो नाम हुन् । प्लेब्याक सिङ्गरको रूपमा उनले धेरै यादगार गीतहरू गाएकी छिन् ।

हुन त कोही मान्छे अमर हुँदैन । तर कोही कोही सधैंका लागि गुन्जिरहन्छन् । आशा त्यस्तै मध्येकी एक हुन् । उनको हकमा ‘नयाँ दौर’देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे कृष्णा’देखि ‘उमराव जान’ अनि ‘इजाजत’ हुँदै ‘रंगीला’सम्म आइपुग्दा समय फेरियो । पर्दाका नायिकाहरू फेरिए । पुस्ता पनि फेरियो । तर उनको आवाज सधैं जवान नै रहिरह्यो ।

आजको समयमा उनको मिठो आवाज र गीतहरूको चर्चा त भइरहन्छ । तर उनको संघर्षबारे भने कमै मात्र कुरा हुन्छ । यतिसम्म कि उनी असाध्यै प्रतिभाशाली हुँदाहुँदै पनि एक अर्थले ‘नम्बर दुई’ मै चित्त बुझाउनु पर्यो । किनकि हिन्दी सिने जगतमा ‍’नम्बर एक’मा उनकी आफ्नै दिदी लता मंगेशकर रहिरहिन् ।

लताजस्ती चर्चित गायिकाको अघि आफ्नो छुट्टै पहिचान बनाउनु आशालाई ठूलो चुनौति थियो । तर, आफ्नो जिद्दी र खुबीको बलमा आशा दिदीको छायाबाट बाहिर निस्किइन् । र, संगीतको दुनियाँमा आफ्नो छुट्टै नाम कमाइन् ।

संगीतसँगको साइनो र संघर्षको सुरुवात

आशाको संगीतसँगको साइनो सानैदेखि जोडिएको थियो । उनका बुबा दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता र मराठी नाटक क्षेत्रका सम्मानित व्यक्ति थिए ।

उनीहरू पाँच दाजुभाइदिदीबहिनी थिए– लता, मीना, आशा, उषा र हृदयनाथ । घरमा सानैदेखि संगीतको माहोल थियो । सानोमा लता र आशाको जोडी निकै मिल्ने थियो । आशा सधैं आफ्नी दिदीको पछिपछि लाग्थिन् ।

तर आशा ९ वर्षकी हुँदा उनीहरूका बुबाको निधन भयो । बुबा बितेपछि परिवारमा ठूलो आर्थिक संकट आइपर्‍यो ।  बाँच्ने आधार खोज्दै उनीहरूको परिवार पुणे र कोल्हापुर हुँदै सन् १९४५ मा मुम्बई आएर बस्यो ।

मुम्बई आएपछि १४ वर्षकी लताले पूरै परिवारको जिम्मेवारी सम्हालिन् । र, फिल्मी दुनियाँमा काम पाउन संघर्ष गर्न थालिन् । केही समयपछि आशाले पनि दिदीलाई साथ दिन थालिन् ।

पहिलो कदम र सफलताका लागि संघर्ष

सन् १९४८ मा चुनरिया भन्ने चलचित्रबाट आशाले प्लेब्याक गायन सुरु गरिन् ।

उनले गीता दत्त र शमशाद बेगमसँग मिलेर आफ्नो पहिलो गीत ‘सावन आया रे’ गाएकी थिइन् ।

त्यसको एक वर्षपछि सन् १९४९ मा उनले ‘रात की रानी’ चलचित्रमा पहिलोपटक एक्लै गीत गाउने मौका पाइन् ।

त्यही वर्ष दिदी लता मंगेशकरको जीवनमा पनि ठूलो परिवर्तन आयो । चलचित्र ‘महल’को गीत ‘आएगा आनेवाला’ गाएपछि लता रातारात हिट भइन् । उनी यति धेरै सफल भइन् कि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

१९५० को दशकमा लता निकै सफल भइन् । नौशाद, सी रामचन्द्र, शंकर जयकिशन र एसडी बर्मन जस्ता ठूला संगीतकारहरूले उनलाई नै पहिलो रोजाइमा राख्न थाले ।

लताको सफलता र आशाको संघर्ष

एकातिर लता हिन्दी गीतसंगीतमा राज गरिरहेकी थिइन् भने अर्कोतिर धेरै मिहिनेत गर्दा पनि आशाले त्यो सफलता पाउन सकेकी थिइनन् ।

त्यसबेला आशालाई धेरैजसो साना तथा कम बजेटका चलचित्रहरूमा मात्र गीत गाउने मौका मिल्थ्यो ।

उनले केही संगीतकारहरूसँग काम त गरिरहेकी थिइन्, तर ठूला संगीतकार र ठूला चलचित्रहरूले उनलाई मौका दिएका थिएनन् ।

आशा भोसलेको जीवनी लेख्ने राजु भारतनले उनका सुरुवाती दिनहरू सम्झिँदै भनेका छन्, ‘सुरुमा आशा त्यति चर्चित थिइनन्, उनी केवल संघर्ष गरिरहेकी थिइन् । निर्माताहरूले लतालाई पाएनन् भने गीता दत्त वा शमशाद बेगमलाई गाउन दिन्थे । आशाको त कतै नाम नै आउँदैनथ्यो’

‘त्यसैले आशाले जस्तो गीत पाइन्, त्यस्तै गाइन् । उनको हिन्दीमा मराठी लवज सुनिन्थ्यो । र, उनले लताले जस्तो आफ्नो उर्दू सुधार्न पनि खासै ध्यान दिइनन् । अर्कोतिर, उनको पारिवारिक र वैवाहिक जीवन पनि निकै गाह्रो र तनावपूर्ण थियो। ’

आशा जम्मा १६ वर्षकी हुँदा उनको जीवनमा एउटा ठूलो घटना घट्यो ।

उनले ३१ वर्षका गणपतराव भोसलेसँग भागेर विवाह गरिन् । परिवारको इच्छाविपरीत गरेको यो विवाहले लता र आशाको सम्बन्धमा वर्षौंसम्म दरार ल्यायो ।

लतालाई यो विवाह आफ्नी बहिनीका लागि ठीक छैन जस्तो लाग्थ्यो ।

आशाले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘लता दिदी यो विवाहको पूरै विरुद्धमा थिइन् । हाम्रो सम्बन्ध यति बिग्रिएको थियो कि वर्षौंसम्म हाम्रो बोलचाल नै भएन ।’

गणपतरावसँगको विवाह उनका लागि निकै दु:खदायी साबित भयो ।

ती दिनहरू सम्झिँदै आशाले लेखेकी थिइन्, ‘त्यो एउटा पुरानो सोच भएको परिवार थियो, जहाँ गायिका बुहारी उनीहरूलाई मन पर्दैनथ्यो । मेरा श्रीमानको बानी पनि असाध्यै खराब थियो । उनलाई अरूलाई दुःख दिन मज्जा लाग्थ्यो । तर बाहिरका मानिसलाई यो कुरा थाहा नै हुँदैनथ्यो’
यस्तो तनावपूर्ण जीवनका कारण आशाको सांगितिक यात्रा पनि खासै अघि बढ्न सकेको थिएन । तर यही समयमा लता भने सफलताको शिखरमा पुगिसकेकी थिइन् ।

ओपी नय्यर र एसडी बर्मनको साथ

आशालाई परिणीता (१९५३) र बुट पलिस (१९५४) जस्ता चलचित्रका गीतहरूले केही सफलता दिलायो ।

त्यसैबीच उनले संगीतकार ओपी नय्यरलाई भेट्न पुगिन् । त्यस भेटले आशालाई निकै फाइादा पुर्‍यायो । ओपी नय्यरलाई लाग्थ्यो कि उनी लताबिना पनि सुपरहिट गीतहरू बनाउन सक्छन् ।

लता पनि उनीसँग काम गर्दैनथिन् । सुरुमा नय्यरले गीता दत्तलाई गीत गाउन दिन्थे, तर सीआईडी चलचित्रपछि उनले आशालाई मौका दिन थाले ।

नय्यरले आशाको आवाजको जादु चिने । त्यसको नतिजा सन् १९५७ मा आएको चलचित्र ‘नयाँ दौर’ मा देखियो । त्यस फिल्ममा संलग्न ‘उडे जब-जब जुल्फें तेरी’ र ‘मांग के साथ तुम्हारा’ जस्ता गीतले आशालाई पहिलोपटक मूल नायिकाको आवाज बनाइदियो र उनले ठूला चलचित्रहरूमा मौका पाउन थालिन् ।

त्यही वर्ष संगीतकार एसडी बर्मन र लता मंगेशकरबीच केही मनमुटाव भयो । त्यसले पनि आशाका लागि सफलताको नयाँ ढोका खोलिदियो ।

त्यसपछिका ५ वर्षसम्म एसडी बर्मनले लतासँग काम गरेनन् । आशा उनको मुख्य गायिका बनिन्।

यो कुरालाई लिएर लता आफ्नी बहिनीसँग निकै रिसाएकी छिन् भन्ने चर्चा त्यसबेला बजारमा खूब चलेको थियो । ती ५ वर्षमा आशाले आफूलाई अब्बल गायिकाको रूपमा प्रमाणित गर्न सकिन् ।

एक अर्थले ती वर्षहरूपछि एसडी बर्मन, किशोर कुमार, आशा भोसले र गीतकार मजरुह सुल्तानपुरीको टोलीले मिठा र रमाइला गीतहरूको नयाँ चलन नै सुरु गर्यो । जस्तो, हाल कैसा है जनाब का.., आँखो में क्या जी.., छोड दो आँचल.. र दीवाना मस्ताना हुआ दिल.. जस्ता त्यसबेला चर्चित गीतहरू आज पनि उत्तिकै मन पराइन्छ ।आह

तर एसडी बर्मनले आशालाई रमाइला गीतहरू मात्र गाउन दिएनन् । उनले आशाको आवाजमा गम्भीर गीतहरू पनि प्रयोग गरे । त्यसले आशाले आफू जस्तोसुकै गीत गाउन पनि सिपालु छु भन्ने प्रमाणित गरिन् ।

नय्यरसँगको सामीप्य र नयाँ पहिचान

ओपी नय्यर र एसडी बर्मनसँग काम गरेको त्यो समय आशाका लागि आफ्नो पहिचान बनाउने सुनौलो अवसर थियो । तर यस सफलताको पछाडि उनको व्यक्तिगत जीवन भने निकै दुःखदायी थियो ।

सन् १९६० मा तीनवटा बच्चा भइसकेपछि आशाको विवाह टुट्यो । यस्तो गाह्रो समयमा संगीतकार ओपी नय्यरसँग उनी नजिकिन थालिन् । तर यता फिल्मी दुनियाँमा भने ठूलै हलचल ल्यायो ।

लता र नय्यरबीच राम्रो सम्बन्ध थिएन । त्यसैले आशा नय्यरसँग नजिकिएपछि दुई दिदीबहिनीको सम्बन्ध झनै बिग्रियो ।

तर साङ्गीतिक हिसाबले यो समय आशाको लागि निकै राम्रो रह्यो । यो जोडीले आइए मेहरबान, आओ हुजूर तुमको, कजरा मोहब्बत वाला र ये है रेशमी जुल्फों का अंधेरा जस्ता कहिल्यै नबिर्सिने गीतहरू दिए ।

आशालाई दिदीको छायाबाट निकालेर एउटा निडर र फरक शैलीकी गायिका बनाउने श्रेय ओपी नय्यरलाई नै जान्छ ।

आशाले ओपी नय्यरसँग मिलेर ६० वटा चलचित्रमा ३२४ वटा गीत गाइन् । यसको अर्थ हरेक चलचित्रमा औसत पाँचवटा भन्दा बढी गीत थिए ।

यति धेरै हिट गीतहरू दिए पनि संगीतको दुनियाँमा लताकै दबदबा थियो । आशाले आफ्नो ठाउँ त बनाएकी थिइन् । तर, हिन्दी गीतसंगीतमा लता मंगेशकरकै एकछत्र राज थियो ।

राजु भारतनले लेखेका छन् कि १९५० र ६० को दशकमा लताले एउटा गीत गाएको ५०० रुपैयाँ लिन्थिन् भने आशाले १०० देखि १५० रुपैयाँमै चित्त बुझाउनु पर्थ्यो ।

कुन गीत गाउने र कस्तो गीत गाउने भनेर छान्ने छुट लतालाई थियो । तर आशालाई त्यस्तो छुट थिएन । यस्तो भेदभावले उनलाई निकै दुःख लाग्थ्यो । दिदीले वास्ता नगर्दा र साथ नदिँदा उनीहरूबीचको दूरी अझ बढेको थियो ।

आशाले यसलाई एउटा चुनौतीको रूपमा लिइन् । र, आफ्नै बलमा आफूलाई अब्बल साबित गरेरै छाड्ने अठोट गरिन् ।

दिदीबहिनीबीचको यो मनमुटाव र डाहको कथा चलचित्रमा पनि देखाइयो । भनिन्छ, निर्देशिका सई पराजपेले आफ्नो चलचित्र ‘साज’मा यिनै दुई दिदीबहिनीको कथालाई उतारेकी थिइन् ।

आरडी बर्मन (पञ्चम) र आशा

एसडी बर्मनसँग काम गर्दागर्दै आशाको भेट उनका छोरा आरडी बर्मन अर्थात् पञ्चमसँग भयो ।

पञ्चम उमेरमा आशाभन्दा साना थिए । र, आफ्नो छुट्टै पहिचान बनाउन खोज्दै थिए । आउने दिनहरूमा यी दुई मिलेर संगीतमा नयाँ इतिहास रच्नेछन् भन्ने कसैले सोचेको थिएन ।

सन् १९६६ मा ‘तीसरी मंजिल’ चलचित्रबाट उनीहरूले सँगै काम गर्न थाले । यहीँबाट उनीहरूको सांगितिक र प्रेमिल सम्बन्ध सुरु भयो ।

एकातिर ‘ओ मेरे सोना रे’ जस्तो मीठो गीत थियो भने अर्कोतिर ‘ओ हसिना जुल्फों वाली’ जस्तो छिटो लयको गीत । यो गीतमा आशाले जसरी सास रोकेर जादुई स्वरमा गाइन्, त्यसले सबैलाई छक्क पारेको थियो ।

आरडी बर्मन नयाँनयाँ किसिमका विदेशी संगीतहरू (जस्तै ज्याज, क्याबरे, रक-एन्ड-रोल) हिन्दी चलचित्रमा प्रयोग गर्न चाहन्थे । यस्ता गाह्रा धुनहरू गाउनका लागि उनलाई एउटा यस्तो आवाज चाहिएको थियो जुन जस्तोसुकै लयमा पनि ढाल्न सकियोस् ।

आशा भोसलेको आवाज ठ्याक्कै त्यस्तै थियो ।

पञ्चमले आफ्नो संगीतमा पश्चिमी शैली मिसाए भने आशाको आवाजले त्यसमा अझ बढी निडरता र स्वतन्त्रताको रङ भर्‍यो ।

‘पिया तू अब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई ‘क्याबरे क्वीन’ बनायो । ‘इजाजत’ फिल्मका ‘मेरा कुछ सामान’ र ‘खाली हाथ शाम आई है’ जस्ता गीतले उनीहरू गम्भीर र शान्त गीतहरू बनाउन पनि त्यत्तिकै सिपालु छन् भन्ने देखायो ।

विशेषगरी ‘मेरा कुछ सामान’ गीतमा कुनै निश्चित लय थिएन, त्यो कविता जस्तो थियो । तर आशाले त्यसलाई यति मज्जाले गाइन् कि त्यो आज पनि संगीत सिक्नेहरूका लागि एउटा पाठ जस्तै बनेको छ ।

पञ्चमसँग काम गर्दा आशाले आफूलाई सबै कोणमा ढालिन्- चाहे त्यो फास्ट गीत होस्, शान्त गजल होस् वा शास्त्रीय संगीत होस् ।

गीतअनुसार आफ्नो आवाज बदल्न सक्ने उनको खुबीको कसैसँग तुलना नै हुन सक्दैनथ्यो ।

गायनको नयाँ उचाइ… जब आशा बनिन् ‘उमराव जान’

समयले उनका लागि अर्को एउटा ठूलो चुनौती ल्यायो । यही चुनौती पार गरेपछि उनी सामान्य गायिकाबाट एउटी महान् गायिका बनिन् ।

त्यसबेलासम्म हिन्दी चलचित्रमा गजल भनेको लता मंगेशकर मात्र हुन् भन्ने मानिन्थ्यो । मुजफ्फर अलीको चलचित्र ‘उमराव जान’मा नयाँ किसिमको संगीत दिनुपर्ने चुनौती संगीतकार खय्यामलाई थियो ।

खय्यामले एउटा आँटिलो निर्णय लिए । उनले आशा भोसलेलाई छाने । तर उनले एउटा सर्त राखे, ‘हामीलाई गीतमा पुरानै ‘आशा’ चाहिँदैन’ त्यसको अर्थ थियो, आशाले आफ्ना पुराना चुलबुले गीत गाउने शैली छोडेर निकै शान्त र गम्भीर भएर गजल गाउनुपर्ने थियो ।

खय्याम चाहन्थे कि आशाले आफ्नो आवाजलाई अलि तल्लो सुरमा गाउन् । यति तलको सुरमा गाउनु आशाका लागि एकदमै नयाँ र गाह्रो काम थियो।

आठ दिनको कडा अभ्यासपछि जब रेकर्डिङ सुरु भयो, तब आशाको हिम्मत नै टुट्न थालेको थियो । उनलाई म गाउनै सक्दिनँ जस्तो लागेको थियो।

तर जब गीत रेकर्ड भइसक्यो र आशाले आफैंले सुनिन्, उनी आफैं छक्क परिन् ।

‘दिल चीज क्या है’, ‘इन आँखो की मस्ती के’ र ‘ये क्या जगह है दोस्तों’ जस्ता गजलले दुनियाँलाई आशाको आवाजको त्यो मिठो र गम्भीर पाटो देखायो, जुन यसअघि कसैले सुनेकै थिएन ।

यी गीतहरू कति सफल भए भन्ने कुरा इतिहासले नै बताउँछ । ‘उमराव जान’का लागि खय्याम र आशा भोसले दुवैले राष्ट्रिय पुरस्कार पाए ।

त्यसपछि समय बित्दै गयो । संगीतको शैली पनि फेरिँदै गयो । तर आशाको आवाजको चमक कहिल्यै कम भएन ।

पछिल्ला वर्षहरूमा उनले एआर रहमानसँग ‘रंगीला’, ‘लगान’ र ‘ताल’ जस्ता चलचित्रमा गाएर आवाजलाई उमेरले छेक्न सक्दैन भन्ने कुरो पनि प्रमाणित गरिन् । उनको पालाका धेरै गायकहरू नयाँ संगीत र रिमिक्स गीतहरू देखेर रिसाउँथे । तर, आशाले भने नयाँ समयको संगीतलाई खुसीसाथ स्वीकार गरिन् ।

उनले आफैंले आफ्ना पुराना गीतहरूको रिमिक्स एल्बम निकालिन् । र, नयाँ पुस्तालाई आफ्नो संगीत सुनाइन् ।

यसरी कुनै समय आफ्नै दिदीको नामबाट छायामा परेकी आशा भोसले जबरजस्त बाहिर निस्किइन् । र, दुनियाँलाई देखाइदिइन् कि उनी जस्तो पनि गीत गाउन सक्ने एउटी पूर्ण कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?