+
+
Shares

कुन समस्याले भयो दिग्गज गायिका आशा भोसलेको निधन ?

९० वर्षपछि रोग प्रतिरोधात्मक क्षमता, अंगहरूको पुनःस्थापना शक्ति र उपचारको प्रतिक्रिया निकै कम हुन्छ ।

मनिषा थापा मनिषा थापा
२०८२ चैत २९ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय पार्श्र्वगायिका आशा भोसले ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा मल्टिअर्गन फेलियरका कारण निधन भयो ।
  • उनको स्वास्थ्य अचानक बिग्रिएर छातीको संक्रमणबाट मुटु, फोक्सो र अन्य अंगमा जटिलता बढेको चिकित्सकहरूले बताएका छन्।

भारतीय संगीत जगत आज गहिरो शोकमा डुबेको छ । महान पार्श्र्वगायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भयो ।

उनको निधन केवल एक कलाकारको विदाइ होइन, भारतीय उपमहाद्वीपको सांगीतिक इतिहासको स्वर्णिम अध्याय बन्द भएको क्षण हो ।

अचानक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएकी भोसलेमा सुरुमा छातीको संक्रमण देखियो । पछि मुटु, फोक्सो र अन्य अंगमा जटिलता बढ्दै जाँदा अवस्था ‘मल्टिअर्गन फेलियर’मा पुगेर निधन भएको बताइएको छ ।

कसरी अचानक बिग्रियो स्वास्थ्य ?

पारिवारिक श्रोत अनुसार आशा भोसलेलाई शनिबार साँझ अचानक असहज महसुस भएको थियो ।

उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत सुरुमा अत्यधिक शरीर एकदमै गलिसकेको अवस्था र फोक्सोमा संक्रमणका कारण अस्पताल भर्ना गरिएको जानकारी दिएकी थिइन् ।

केही प्रारम्भिक रिपोर्टमा कार्डियाक अरेस्टको उल्लेख भए पनि पछि चिकित्सकहरूले संक्रमण र श्वासप्रश्वाससम्बन्धी जटिलता मुख्य कारण भएको स्पष्ट पारे ।

उमेर ९० वर्ष नाघेपछि सामान्य देखिने छातीको संक्रमण पनि निकै जोखिमपूर्ण बन्न सक्छ ।

संक्रमणले फोक्सोमा अक्सिजनको आदान–प्रदान घटाउँछ, जसले मुटुमा दबाब बढाउँछ । मुटु कमजोर भएपछि मिर्गौला, कलेजो र मस्तिष्कमा रक्तसञ्चार कम हुन थाल्छ । यही क्रम बढ्दै जाँदा एकपछि अर्को अंगले काम गर्न छोड्ने अवस्था आउँछ ।

आशा भोसलेको केसमा पनि यस्तै श्रृंखलाबद्ध जटिलता देखिएको कारण बचाउन नसकिएको उनका उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले जानकारी दिएका छन् ।

‘मल्टिअर्गन फेलियर’ भनेको के हो ? कसरी यो स्थितिसम्म बिरामी पुग्छ ?

जनरल प्राक्टिसनर डा. अनाम प्याकुरेलका अनुसार ‘मल्टिअर्गन फेलियर’ चिकित्सा विज्ञानमा अत्यन्त गम्भीर अवस्था हो, जहाँ शरीरका दुई वा दुईभन्दा बढी महत्वपूर्ण अंगले एकैपटक वा क्रमशः काम गर्न छोड्छन् ।

सामान्यतया यसमा मुटु, फोक्सो, मिर्गौला, कलेजो वा मस्तिष्क प्रभावित हुन्छन् ।गम्भीर छातीमा संक्रमण वा निमोनिया हुँदा फोक्सोमा संक्रमण हुँदा शरीरभर अक्सिजनको मात्रा घट्छ । वृद्ध व्यक्तिमा यो अवस्था छिटो बिग्रिन सक्ने उनी बताउँछन् ।

‘संक्रमण बढ्दै जाँदा मुटुले पर्याप्त रक्त पम्प गर्न नसक्दा अन्य अंगमा रक्त र अक्सिजन पुग्दैन । संक्रमण रगतमार्फत शरीरभर फैलियो भने अंगहरू एकपछि अर्को फेल हुन थाल्छन्, ’उनी भन्छन् ।

यस्तो समस्या वृद्ध उमेरमा किन धेरै घातक हुन्छ ?

छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनीका अनुसार यो समस्या वृद्ध अवस्थामा बढी घातक हुन्छ । ‘वृद्ध उमेरमा शरीरका अंगहरू पहिले जस्तो बलियो हुँदैनन् । फोक्सोको क्षमता कम हुन्छ, मुटुको पम्पिङ शक्ति घट्छ, मिर्गौलाको फिल्टर गर्ने क्षमता कमजोर हुन्छ । सामान्य संक्रमणले पनि ठूलो जटिलता निम्त्याउन सक्छ, ’डा. पंगेनी भन्छन् ।

९० वर्षपछि रोग प्रतिरोधात्मक क्षमता, अंगहरूको पुनःस्थापना शक्ति र उपचारको प्रतिक्रिया निकै कम हुन्छ । उनका अनुसार यो समस्याका लक्षणमा पहिला सास फेर्न गाह्रो हुन्छ । शरीरमा अक्सिजन कम पुग्छ । मुटुमा दबाब बढ्छ । रक्तचाप असन्तुलित हुन्छ । मिर्गौलामा असर पर्छ । शरीरमा विषाक्त पदार्थ बढ्छ ।

यसरी एकपछि अर्को अंग प्रभावित हुँदै जाने श्रृंखलाबद्ध जटिलता सिर्जना गर्छ, जहाँ एउटा अंग बिग्रिँदा अर्को अंग पनि प्रभावित हुन्छ । यही कारणले वृद्ध व्यक्तिमा ‘मल्टिअर्गन फेलियर’को जोखिम धेरै हुने उनी बताउँछन् ।

‘पहिलेदेखि कुनै रोग थिएन’

हालसम्म परिवार, ब्रीच क्यान्डी अस्पताल र भारतीय सञ्चारमाध्यमबाट आएको जानकारीअनुसार आशा भोसलेलाई पहिलेदेखि कुनै खास दीर्घकालीन रोग भएको पुष्टि गरिएको छैन ।

उनी उमेरअनुसार सक्रिय थिइन्, स्टेज कार्यक्रम र सार्वजनिक उपस्थितिमा पनि देखिइरहेकी थिइन् । तर ९२ वर्षको उमेरमा शरीरभित्रका अंगहरूको कार्य स्वाभाविक रूपमा घटिसकेको हुन्छ ।

यही कारण सामान्य व्यक्तिमा सामान्य देखिने चेस्ट इन्फेक्सन पनि वृद्ध उमेरमा निकै गम्भीर बन्न सक्छ । चिकित्सकीय रूपमा यस्तो अवस्थालाई ‘एज रिलेटड फ्रयालिटी’ भनिन्छ ।

यसको अर्थ शरीरमा कुनै एउटै ठूलो रोग नभए पनि समग्र रूपमा उमेर बढ्दै गए पछि फोक्सोको क्षमता कम हुने, मुटुको सहनशक्ति घट्ने, मिर्गौलाको शक्ति कमजोर हुने, रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति सुस्त हुने, स्वास्थ्य समस्या देखिए निको हुने गति ढिलो हुने जस्ता परिवर्तन भइसकेका हुन्छन् ।

अन्तिम दर्शन र श्रद्धाञ्जली

परिवारले सोमबार बिहान ११ बजेदेखि दिउँसोसम्म लोअर परेलस्थित उनको निवासमा अन्तिम दर्शनको व्यवस्था गरिएको जनाएको छ । अन्त्येष्टि शिवाजी पार्कमा साँझ ४ बजे गरिने बताइएको छ । महाराष्ट्र सरकार, संगीतकर्मी, कलाकार र लाखौं प्रशंसकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

आशा भोसलेको संगीत यात्रा : स्वरले बाँधेको पाँच दशक

८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशा भोसलेले बाल्यकालमै संगीत यात्रा सुरु गरेकी थिइन् । उनले हिन्दी, मराठी, बंगाली, गुजराती, पंजाबी, तमिल, मलयालमदेखि अन्तर्राष्ट्रिय भाषासम्म १२ हजारभन्दा बढी गीत गाएकी थिइन् ।

धेरै स्रोतले उनलाई संसारकै सबैभन्दा धेरै रेकर्डिङ गर्ने गायिका को रूपमा उल्लेख गरेका छन् । उनको विशेषता केवल गीतको संख्या होइन, शैलीको विविधता थियो । उनले फिल्मी गीत, गजल, भजन, पप, शास्त्रीय संगीत, क्याबरे नम्बर, रोमान्टिक युगल गीतमा समान प्रभाव छोडिन् ।
आर.डी. बर्मनसँगको उनको सहकार्य भारतीय फिल्म संगीतकै स्वर्ण युग मानिन्छ ।

सदाबहार गीत जसले पुस्तौँलाई बाँध्यो

आशा भोसलेका गीत केवल मनोरञ्जन होइन, समयको भावना बोकेका सांस्कृतिक दस्तावेज हुन् । उनका केही अमर गीत : ‘पिया तू अब तो आजा’, ‘दम मारो दम’, ‘झुमका गिरा रे’, ‘ओ मेरे सोना रे’, ‘चुरा लिया है तुमने’ ‘ये मेरा दिल’ ‘दिल चीज क्या है’, ‘इन आँखों की मस्ती’ जस्ता गीतहरू अझै रेडियो, रियालिटी शो, स्टेज कन्सर्ट र सामाजिक सञ्जालमा उत्तिकै लोकप्रिय छन् ।

म्मान, कीर्तिमान र अविस्मरणीय विरासत

आशा भोसलेलाई पद्म विभूषण, दादासाहेब फाल्के पुरस्कार, ग्र्यामी नॉमिनेशन, र विश्व कीर्तिमानसम्मका सम्मान प्राप्त भएका थिए । उनी गिनिज बुकमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाका रूपमा पनि चर्चित रहिन् ।

एउटा स्वर कहिल्यै मर्दैन

आशा भोसलेको भौतिक यात्रा टुंगिएको छ, तर उनको स्वर समयभन्दा धेरै लामो बाँच्नेछ । संगीत इतिहासमा यस्तो कलाकार विरलै जन्मिन्छ, जसको आवाजले तीन–चार पुस्तालाई समान रूपमा छुन्छ ।

उनको निधनले संगीत जगतलाई अपूरणीय क्षति पुगेको छ, तर उनले छोडेको सांगीतिक सम्पदा सधैं जीवित रहनेछ ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?