News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा नेपाल प्रहरीले तीन जना प्रहरीको मृत्यु र सयौं घाइते भएको जनाएको छ।
- जेनजी आन्दोलनपछि प्रहरी कार्यालयहरू ध्वस्त भए पनि प्रहरीले छिटो पुनर्निर्माण गरी काम–कारबाहीमा सक्रियता देखाएको छ।
- जेनजी आन्दोलनमा संलग्न करिब १ हजार जनालाई पक्राउ गरी कारबाही गरिएको र फरार कैदीबन्दीमध्ये ९ हजारलाई पुनः नियन्त्रणमा लिइएको छ।
२९ चैत, काठमाडौं । ‘१० वर्षे सशस्त्र द्वन्द्वमा नभोगेको क्षति प्रहरीले दुई दिनको जेनजी आन्दोलनमा भोग्नु पर्यो ।’
अधिकांशजसो बहालवाला प्रहरी अधिकृतदेखि पूर्वप्रहरीहरू समेतले जेनजी आन्दोलनमा भएको क्षतिबारे बोल्दा यो वाक्य छुटाउँदैनन्– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति बेहोर्ने संस्था हो नेपाल प्रहरी ।
आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाउनु पर्यो भने सयौंको संख्यामा घाइते भए । प्रहरीका कार्यालयहरू खरानी भए । बर्दी च्यातिए, लुटिए, हतियार खोसिए, बर्दी फुकालेर आत्मसमर्पण गर्न बाध्य बनाइयो, खोलैखोला ढुंगाले हानेर अमानवीय व्यवहार गर्दै प्रहरीलाई लटेखियो ।
१२ सय बढी प्रहरीका हतियार, १ लाख राउन्ड गोली आन्दोलनको बेला हराए, लुटिए । प्रहरी कार्यालय पनि त्यति नै मात्रामा ध्वस्त बनाइयो । कतिसम्म भने, प्रहरीलाई कार्यालय छाडेर ज्यान जोगाएर भाग्नेसम्मको निर्देशन दिइएको थियो ।
वर्ष २०८२ सम्म आइपुग्दा भूकम्पले ध्वस्त भएका प्रहरी कार्यालय पुनर्निर्माण भएर काम–कारबाहीको गति बढिरहँदा भदौको जेनजी आन्दोलनले प्रहरी संस्थामा नराम्रो क्षति पुग्यो ।
सडकको फ्रन्टलाइनर प्रहरी आन्दोलनकारीको निशानामा परे । जसले गर्दा ठूलो क्षति बेहोर्नु पर्यो । यो हिसाबले हेर्दा वर्ष २०८२ प्रहरीका लागि निकै खराब रह्यो ।
यसले एकातिर प्रहरीको भिड नियन्त्रण क्षमतामाथि प्रश्न चिह्न खडा गर्यो । सामान्य भिड पनि ५–१० मिनेट थाम्न नसकेको, भिड नियन्त्रणको पर्याप्त तालिम नभएको, पूर्वसूचनामा चुकेको जस्ता प्रश्न २३ भदौको घटनाले प्रहरीलाई गरिरहेको छ ।

भिडले निषेधित क्षेत्र तोडेपछिको बल प्रयोगका सम्बन्धमा पनि बल प्रयोगको सिद्धान्तमा प्रहरी फेल भएको जानकारहरूले ब्याख्या गर्दै आएका छन् । प्रहरीकै गोली लागेर काठमाडौंमा २३ भदौमा १९ जना र बाहिर जिल्लामा २ जना गरी २१ जना आन्दोलनकारीले ज्यान गुमाएका थिए ।
घाइते तथा मृतक धेरैजसोको छाती तथा कम्मरमाथिको भागमा गोली लागेकाले घुँडाभन्दा मुनि गोली हान्नुपर्ने सिद्धान्तमा प्रहरी चुकेको प्रष्ट पारेको छ । यसले आगामी दिनमा पनि हाम्रो पुलिसिङ भिड नियन्त्रणका लागि कति योग्य छ, कति दक्ष छ भन्ने प्रश्न अझै पनि गरिरहेकै छ ।
भिड नियन्त्रणबारे जानकार सशस्त्र प्रहरी बलका पूर्वएआईजी रविराज थापा पनि बल प्रयोगको सिद्धान्तमा प्रहरी चुकेको बताउँछन् ।
‘सूचना संकलनमै कमजोरी देखिन्छ । अर्कोतर्फ, बल प्रयोगको सिद्धान्त पनि ठिक देखिएन । सुरुबाट नै पूरै शक्ति प्रयोग गर्ने जुन मेन्टालिटी छ, त्यसमा जानु हुँदैनथ्यो । प्रहरीको सिद्धान्तले भन्छ– मिनिमम हार्म, मिनिमम क्याजुअल्टी, मिनिमम युज अफ फोर्स,’ उनी भन्छन् ।
तर, सँगसँगै ध्वस्त भएको खरानीबाट उठेर यति छिट्टै प्रहरीले आक्रामक रूपमा यसरी काम–कारबाहीलाई तिव्रता दियो कि यसले प्रहरीको मनोबल र क्षमतामा कुनै कमी आएको छैन भन्ने सन्देश दियो । आन्दोलनपछि कुन मनोबलले प्रहरीले काम गर्ला भन्ने प्रश्नलाई प्रहरीले कामबाट खण्डित गरिदिएको छ ।
यही भावलाई प्रष्ट्याउने गरी प्रहरी महानिरीक्षक (आईजीपी) दानहादुर कार्कीले गीत नै लेखे ।
आमा मत फर्केर आएँ,
खरानीबाट उठेर आएँ ।
आईजीपी कार्कीले भने जस्तै जेनजी आन्दोलनमा तहसनहस भएको प्रहरी अहिले खरानीबाट उठेर फेरि मैदानमा फर्किएको छ । खरानी टकटक्याएर आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध भएर लागेको छ ।
जेनजी आन्दोलन लगत्तै चप्पलै लगाएर, बिना बर्दी प्रहरी सडकमा ड्युटीमा खटिएका थिए । बस्ने ब्यारेक, कार्यालय थिएनन् । तर प्रहरीले आफ्नै सक्रियतामा रातारात त्यस्ता संरचना धमाधम निर्माण, पुनर्निर्माण गर्यो । समुदायस्तरबाट प्रहरीलाई ठूलो सहयोग मिल्यो ।

समुदाय तथा नागरिकको सहयोग पाएपछि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरीलाई ध्वस्त पार्न खोज्ने आपराधिक मनोवृत्तिका मान्छे मात्रै भएको आमनागरिक र समुदायको समर्थन, सहयोग प्रहरीलाई रहेको औंल्याएका थिए । यो घटनाले प्रहरी बिनाको समाज कल्पना गर्न नसकिने सन्देश दिएको थियो ।
जेनजी आन्दोलन लगत्तै दशैंताका आएको बाढी–पहिरोमा प्रहरीको सक्रियता पनि निकै प्रशंसनीय रह्यो । प्रहरीको सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगियो । त्यतिबेला २४सै घण्टा जागा भएर प्रहरीले उद्धारको कामसमेत गरेको थियो ।
यही जेनजी आन्दोलनको प्रसंग र प्रहरीको मनोबललाई लिएर २१ फागुनमा निर्वाचन नै हुन नसक्नेसम्मको प्रचार प्रसार भएको थियो ।
तर, २१ फागुनको निर्वाचनमा प्रहरीको भूमिका निकै प्रशंसनीय रह्यो । बिना मानवीय क्षति शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो । यी सबै घटनाले प्रहरीको मनोबल गिरेको छैन, बरु विगतको घाउबाट पाठ सिक्दै थप दरिलो भएर प्रहरी संगठन प्रस्तुत भएको रूपमा बुझ्नु पर्ने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।
‘जेनजी आन्दोलनपछि प्रश्नहरू धरै थिए । दैनिक शान्ति सुरक्षाका विषय, निर्वाचन, फरार कैदीबन्दी, लुटिएका हातहतियारको विषय थिए । तर यी सबै प्रश्नहरूको जवाफ प्रहरीले आफ्नो कामबाट दिएको छ । जति छिटो समयमा प्रहरीलाई ध्वस्त पार्न खोजिएको थियो, त्यो भन्दा छिटो प्रहरी रिकभर भएको छ,’ मल्ल भन्छन् ।
जेनजी आन्दोलनमा सबैथोक गुमाएर प्रहरी अहिले छिट्टै लयमा फर्किएको छ । अपराध अनुसन्धानदेखि शान्ति सुरक्षाका विषयमा प्रहरी जेनजी आन्दोलनपछि अहिले पुरानै लयमा फर्किंदै छ । जेनजी आन्दोलनमा आगजनी, लुटपाट गर्ने व्यक्तिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन पनि प्रहरीले सक्दो प्रयास गरेको छ ।

२४ भदौको आगजनी र लुटपाटका घटनामा संलग्न करिब १ हजार जनालाई पक्राउ गरेर प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । जसमा आफ्नै प्रहरी कार्यालय जलाउने, प्रहरीको हत्या गर्ने, सर्वोच्च अदालत, सिंहदरबार जलाउने, व्यक्तिका घर आगजनी र लुटपाट गर्नेहरू कारबाहीको दायरामा आएका छन् । केही अझै खोजीको सूचीमा छन् ।
यता, २३ भदौको घटनामा छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा प्रहरीले खुट्टा कमाउला कि भन्ने आशंका पनि थियो । सरकारको प्रतिवेदन कार्यान्वय गर्ने निर्णयसँगै हाइप्रोफाइल तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री रमेश लेखकसम्म पक्राउ परे ।
प्रहरीले उच्च तह भनेर खुट्टा कमाएन बरु, परिपक्क हुँदै लिखित आदेश माग गरेर पक्राउ गर्यो । जेनजी आन्दोलनको घटना बाहेक अझै केही उच्च पदस्थ व्यक्ति प्रहरी हिरासतमा छन् । जसमा पूर्वऊर्जा मन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, अर्का व्यवसायी सुभल अग्रवाल प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ ।
यी घटनाहरू शान्ति सुरक्षामा मात्रै होइन, अपराध अनुसन्धानमा पनि प्रहरीको मनोबल खस्केको छैन भन्ने उदाहरण हुन् । चाहे त्यो भीआईपी होस् वा साधारण प्रहरीले अनुसन्धान गर्न सक्छ भन्ने प्रष्ट सन्देश दिएको छ ।
अन्य शान्ति सुरक्षाका अवस्थामा भने औसत रह्यो । जेनजी आन्दोलनमा बेला कारागारबाट फरार भएका करिब १४ हजार कैदबन्दीमध्ये करिब ९ हजार कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागार पठाएको छ ।
जेनजी आन्दोलनपछि अराजकता बढेको, आपराधिक मनोवृत्तिका मान्छेहरूको मनोबल बढेको, गुण्डागर्दी मौलाउन सक्ने जोखिम बढेको जस्ता घटना छिटपुट देखा पर्न थालेको भन्दै प्रहरीले अहिले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको छ । एकै रात काठमाडौंबाट गुण्डागर्दीमा संलग्न भएको आरोपमा करिब दुई दर्जन व्यक्ति पक्राउ परे ।
बिचौलियाले मालपोत, यातायात, वैदेशिक रोजगार विभाग, राहदानी विभाग जस्ता सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, छिटो सेवा प्रवाहको नाममा असुली गर्ने गरेको भन्दै बिचौलिया मुक्त बनाउन आईजीपी कार्कीले निर्देशन दिएका छन् । प्रहरीले अहिले यसविरुद्ध पनि अपरेसन गरिरहेको छ ।
समग्रमा, जेनजी आन्दोलनपछि प्रहरीले कुन मनोबलले काम गर्ला भन्ने चिन्ता र प्रश्नलाई कामबाट जवाफ दिँदै प्रहरीले फेरि पहिलेकै अवस्थामा फर्केको यी घटना तथा अपरेसनले जवाफ दिएको छ ।
प्रतिक्रिया 4