News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तोष शाहले नवनिर्वाचित सांसदहरूलाई जनताको विश्वास र ठूलो जिम्मेवारी भएको भन्दै इमानदारी र निष्ठाका साथ काम गर्न विनम्र अनुरोध गरेका छन्।
नवनिर्वाचित सांसद ज्यूहरूका लागि खुला पत्र माननीय सांसदज्यूहरू, हार्दिक नमस्कार ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि मुलुकमा ठूलो परिवर्तन आयो । वर्तमान सरकार त्यही आन्दोलनको प्रतिफल हो ।
नेपाली जनताले आशा, विश्वास र भरोसाका साथ तपाईँहरूलाई जिताएर संसदमा पठाएका छन् । सांसद भनेको केवल पद र शक्ति होइन, यो एक ठूलो जिम्मेवारी र सम्मान हो ।
तपाईँहरूप्रति जनताको विश्वास हो । हाम्रो देशले जनआन्दोलन, माओवादी आन्दोलन, मधेश आन्दोलनदेखि हालको युवा आन्दोलनसम्म धेरै ऐतिहासिक चरणहरू पार गरेको छ । यी सबै त्याग र बलिदानलाई सधैं सम्झनु आवश्यक छ।
तपाईँहरू समक्ष म केही अपेक्षाहरू विनम्रतापूर्वक राख्न चाहन्छु:
सांसदको कर्तव्य भनेको देश र जनताको ऐना बन्नु हो । जनताका समस्या, पिर, मर्कालाई सरकारसमक्ष निर्धक्क बताउनु हो ।
संसदमा जनताको आवाज बनेर सरकारलाई झक्झक्याउनु हो । यसका साथै, समस्याको समाधान गर्न आवश्यक जनमुखी नीतिनियम निर्माण गर्नु पनि हो । त्यसैले तपाईँहरूले आफ्नो भूमिकालाई हल्का रुपमा नलिदिनु हुन म विनम्र अनुरोध गर्दछु ।
सस्तो लोकप्रियताका लागि मिडिया प्रदर्शन वा व्यक्तिगत प्रचारमा लालाहित नहुनुहोला । नेतृत्व भनेको शक्ति देखाउने होइन, सेवा र विनम्रता प्रदर्शन गर्ने हो । शक्तिको आडमा जनतासँग दूरी नबढाउनुहोस् । सधैं सरल, विनम्र र भुइँमान्छे भएर बस्नुहोला । मलाई जनताले काम गर्नका लागि जिताएर पठाएका हुन्, मैले जनताको काम गर्नुपर्छ, देशको हित हुने काम गर्नुपर्छ भन्ने कुरा सदैव स्मरण गर्नुहुन म विनम्र अनुरोध गर्दछु ।
पद र शक्ति भगवानको प्रसाद जस्तै मानेर इमानदारी र निष्ठाका जिम्मेवारी पूरा गर्नुहुन पनि अनुरोध गर्दछु । अहिले संसदमा धेरै युवा पुस्ताको बाहुल्यता छ । यो भन्दैमा यस अघिका नेतृत्वको संसदमा कुनै महत्व नै छैन भन्ने नसोच्नुहुन पनि आग्रह गर्दछु ।
देश निर्माणको बाटोमा हिडिँरहँदा आफूभन्दा अग्रजको पनि मार्गदर्शन आवश्यक पर्दछ भन्ने कुरालाई पनि ध्यानमा राख्नुहनु अनुरोध छ । यसका साथै नेपाली राजनीतिमा लामो समयदेखि नेतृत्व गर्दै आउनुभएका अग्रहज राजनीतिज्ञहरूले पनि अब युवा पुस्ताको हातमा जिम्मेवारी सुम्पिनुपर्ने बेला आइसकेको छ भन्ने कुरा बुझिदिनुहुन आग्रह गर्दछु । तपाईंहरूले देशको सेवा गर्ने मौका पाइसक्नुभयो ।
अब युवा पुस्तालाई देश विकासको मौका दिनुहोस् । आवश्यक परेको खण्डमा मार्गदर्शन गर्नुहोस् र सकारात्मक योगदान दिनुहोस् । जनताले नेपाल विदेशी मुलुक जस्तो खोजेका होइनन् । नेपालीले नेपाल, नेपालजस्तै खोजेका हुन् । सबै नेपालीको चाहना लगभग उस्तै छ जस्तो लाग्छ।
धाराबाट शुद्ध खानेपानी झरोस्, मेहनत गरेअनुसारको प्रतिफल पाइयोस्, रोजगारी र व्यवसाय गर्ने सहज वातावरण होस् । आफ्नै देशमा उत्पादन भएको अन्न, तरकारी, फलफूल खान पाइयोस् । स्वच्छ हावामा सास फेर्न पाइयोस् । किसानले उत्पादनको उपयुक्त मूल्य पाउन् । कर्णाली, सुदूरपश्चिमजस्ता विकट ठाउँमा पनि विजुली र बाटो पुगोस् ।
कोही पनि सुत्केरी महिलाले बाटोमै मृत्युवरण गर्न नपरोस् । सजिलोसँग उपचार गर्ने वातावरण मिलोस् । पढ्न र उपचार गर्नकै लागि घर जग्गा बेच्न नपरोस् । नेपालमा अवसर छैन भनेर कोही नेपाली खाडी मलुकमा जानु नपरोस् ।
कोही पनि बच्चा आर्थिक अभावकै कारण पढाइबाट बञ्चित हुन नपरोस् । बाटोमा हिँड्दा सुरक्षित महसुस होस् । सरकारी काम गराउन जाँदा धेरै आनाकानी नहोस् । सजिलै सरकारी सेवा सुविधा पाइयोस् । क्षमता भएको मान्छेले अवसर पाओस् । नातावाद र कृपावादको पछि लाग्नु नपसोस् ।
भ्रष्टाचारको अन्त्य भई सुशासन कायम होस् । नेपाली जनता यति भए धेरै खुसी हुन्छन् । त्यसैले जनताको खुसीलाई प्राथमिकता दिनुहुन विनम्र अनुरोध गर्दछु ।
आशा र सम्मानका साथ, सन्तोष शाह तपाईंहरूको माया पाएको एक साधारण भात पकाउने मान्छे ‘हाम्रो विकसित नेपाल कस्तो होस् ?’
प्रतिक्रिया 4