News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी क्षेत्रको समस्या झनै जटिल बन्दै गएको छ र एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था यसको उदाहरण बनेको छ।
- एभरट्रस्ट सहकारीमा करिब ६ सय ५० जना बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी दिएका छन् र करिब २१ करोड ९२ लाख रुपैयाँ माग दाबी भएको छ।
- संस्थाका सञ्चालकले आफ्नो सम्पत्ति बिक्री गरेर फरार भएका छन् र प्राधिकरणले संस्थाको आवश्यक विवरण आंशिकमात्रै पाएको छ।
२९ चैत, काठमाडौं । सहकारी क्षेत्रको समस्या झनै जटिल बन्दै गएको छ । समस्यामा पर्ने संस्थामा एकपछि अर्को थपिने क्रम बढेपछि सहकारी क्षेत्र नै जटिल अवस्थामा पुगेको हो ।
गरीब, असहाय, अपाङ्ग समेत नभनी ठगी गर्ने सहकारी सञ्चालक फरार हुँदा बचतकर्ताको रकम फिर्तामात्र होइन, संस्थाकै विवरण पनि यकिन हुन सकेको छैन ।
यसकै एउटा उदाहरण बनेको छ एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था । अर्थतन्त्रको चौथो खम्बाका रूपमा रहेको सहकारी क्षेत्रको समस्या क्रमिक समग्र अर्थतन्त्रमा समेत देखिन थालेको हुनाले यसको उपयुक्त सम्बोधनतर्फ सरकार लाग्नुपर्ने पूर्वसचिव गोपीनाथ मैनालीले बताउने गरेका छन् ।
सहकारी बचतकर्ताको बाध्यता भने सरकार परिवर्तन भएसँगै बचतकर्ता नयाँ प्रधानमन्त्री तथा मन्त्रीलाई भेट्ने र बचत फिर्ता गराइदिन अनुरोध गराउँदैमा वर्षौं बितिसकेको छ ।
सरकारले सहकारी बचतकर्तालाई यस्तो वा उस्तो गर्छु भने पनि अहिलेसम्म नतिजा आउन नसक्दा पैसा फिर्ता पाउने आशा नै गुमेको एक बचतकर्ताले बताए । साथै, सहकारी समस्या घट्दै जानुपर्ने झनै बढ्दै आएको बताउँदै ती बचतकर्ताले भने, ‘समस्यामा पर्ने संस्थाहरू दिन प्रतिदिन थपिएका छन्, राज्यले बचतकर्ताको माग सम्बोधन गर्छ भन्नेमै संघलाई लाग्न थालेको छ ।’
सरकारले पहिलो चरणमा २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि राफसाफ गर्न सकेको छैन । सहकारी संस्थाहरू बिग्रने वा समस्यामा पर्ने क्रम पनि त्यत्तिकै बढी राखेको छ । केही समयअघि मात्रै राष्ट्रिय सहकारी प्राधिकरणले १६ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेकोमा प्रक्रिया नपुगेपछि फिर्ता भएको थियो ।
बचतकर्ताको बचत फिर्ता नदिने, सञ्चालक फरार हुने, सम्पत्ति र दायित्वको ठोस विवरण नराख्ने समस्याले जटिल बनाएको सहकारी प्राधिकरणका अधिकारीको भनाइ छ ।
त्यस्तै पर्याप्त विवरण नराख्ने तथा सहकारी क्षेत्रका ऐननियम तथा निर्देशन पालना नगर्दा काठमाडौं महानगरपालिका–७ काठमाडौंको एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था समस्यामा परेको छ ।
संस्थाको सेयर पूँजी कति भन्ने जानकारी नभएको प्राधिकरणका एक अधिकारीले बताए । ‘उक्त सहकारीमा करिब ५ जना दृष्टिविहीनको करिब ७० लाख रुपैयाँ पनि फसेको देखियो, उहाँहरूले बाटोमा गीत गाउने र सहयोग माग्ने गरेर जम्मा गरेको रकम रहेछ ।’

सोही सहकारीका एक बचतकर्ता सन्तोष पन्त आफ्नी छोरीलाई विदेश पठाउन बैंकबाट लिएको कर्जालाई छोटो अवधिका लागि सहकारीमा बचत राख्दा फसेको बताएउँछन् ।
‘छोरीको भिसा प्रक्रियाका लागि समय लाग्ने भएपछि बैंकबाट स्वीकृत भएको कर्जा निकालेर साथीभाइको संस्था भन्दै पैसा ल्याएर राखेको, फँसे,’ पन्तले भने, ‘करिब ४० लाख एभरट्रस्टमा फँसेको छ ।’
सहकारीमा पैसा फँसेपछि उठाउन हिँडेका पन्तलाई अहिले परिस्थितिले सहकारी पीडितको अभिभावकको जिम्मेवारी पनि दिएको छ ।
सहकारीले बचतकर्तातको बचत फिर्ता दिन नसकेपछि प्रहरी नियन्त्रणमा रहेका सञ्चालक पनि कारोबार मिलाउँछु भनेर धरौटीमा रिहा भएको उनले बताए । तर, उनीहरू पनि आफ्नो सम्पत्ति सबै बिक्री गरेर फरार भएको पन्तको भनाइ छ ।
पन्तका अनुसार करिब ५३ करोडको सेयर पूँजी भएको भनिएको उक्त संस्थाका सञ्चालकहरूले १० करोडभन्दा धेरै विनाप्रमाण लगानी गरेको देखिएको छ ।
२०७८ सालमा समस्यामा आएको संस्थाको अध्यक्ष दीपक थापा मगर हुन् । उपाध्यक्षमा उनकै श्रीमती बबिता डंगोल, सचिवमा अध्यक्षका साढुभाइ कान्छाराम डंगोल छन् ।
त्यसैगरी कोषाध्यक्षमा विष्णुप्रसाद फुयाँल र सदस्यमा कुमार राना, रामलाल महर्जन र अमरभाइ बज्राचार्य छन् । सञ्चालकमध्ये केही पक्राउ परे पनि हाल कोषाध्यक्ष मात्र थुनामा छन् भने कारोबार मिलाउने भन्दै केही धरौटीमा बाहिर निस्किएका छन् ।
तर, उनीहरू आफ्नो सम्पत्ति बिक्री गरेर फरार भएको पीडित सहकारी अभियन्ताहरू बताउँछन् । संस्थाका अध्यक्ष भने हालसम्म पनि फरार नै रहेको उनीहरूको भनाइ छ ।
‘२०७८ सालको सुरुवातमा संस्थामा समस्या आयो,’ पीडित बचतकर्ताले भने, ‘त्यसपछि उनीहरूले संस्थामा नियमित काम कारबाही जारी राखे, त्यो समयमा उनीहरूले कर्जा असुली सक्दो धेरै बढाएर बचतकर्तालाई फिर्ता नदिई आफैंले राखेर अध्यक्ष सहित सञ्चालकहरू फरार भएका हुन् ।’
पछि केही सञ्चालकलाई बचतकर्ताको उजुुरीसँगै चेक बाउन्सको बैंकिङ कसुर मार्फत पक्राउ गरियो । प्रहरीले पनि आफ्नो प्रक्रिया अनुसार काम गरेर केहीलाई अदालतमा पेस गर्यो । अदालतले संस्थाको समस्या मिलाउने सर्तमा धरौटीमा रिहा गरेको भए पनि सञ्चालहरूले त्यसो नगरी उल्टै आफ्नो सम्पत्ति बिक्री गरेर फरार भएको पन्तको भनाइ छ ।
बचकर्ताका अनुसार एभरट्रस्ट सहकारीमा करिब ४० करोड रुपैयाँ बराबर अपचलन भएको देखिन्छ । कान्छाभाइ डंगोल र दीपक थापा मगर भएर २०६६ सालमा स्थापना गरेको उक्त सहकारी पारिवारिक नातागोताभित्रका मान्छेहरूको हालिमुहालीका कारण समस्या आएको प्राधिकरणका एक अधिकारीले बताए ।
सहकारी प्राधिकरणका अनुसार उक्त संस्थामा ६ सय ५० जना बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी दिएका छन् ।
‘संस्थाका बचतकर्ता सबैले उजुरी दिएको अवस्था नहुन सक्छ,’ प्राधिकरणका अधिकारीले भने, ‘हालका लागि २१ करोड ९२ लाख ३३ हजार रुपैयाँको माग दाबी परेको छ ।’
संस्थामा बचत कति हो, कति कर्जा लगानी थियो भन्ने सन्दर्भमा जानकारी आंशिकमात्र उपलब्ध भएको प्राधिकारणका ती अधिकारीको भनाइ छ । बचतकर्ताले फिर्ता मागे तर तीमध्ये कति ऋणी पनि छन् भन्ने यकिन गर्न नसकिएको उनको भनाइ छ ।
ऋणी पनि बचतकर्ता पनि भएको अवस्था फरक पर्छ । त्यसका लागि निर्क्योल गर्न संस्थाका सम्बन्धित अधिकारीहरू फरार छन्, संस्थाको आवश्यक विवरण पनि पर्याप्त नराखिएको अवस्था भएकाले प्राधिकरणबाट अध्ययन तथा अनुसन्धान गर्ने काम भइरहेको ती अधिकारीले बताए ।
प्रतिक्रिया 4