News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको उत्तरी चुरे क्षेत्रमा सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभावले स्थानीयवासीलाई दैनिक दुई घण्टा पानी खोज्न बाध्य बनाएको छ।
- स्थानीयवासीले वर्षायाममा ट्यांकरमार्फत पानी पाउने भए पनि त्यो नियमित नहुने र दीर्घकालीन योजना नबनाउँदा समस्या दोहोरिने गुनासो गरेका छन्।
- चुरे क्षेत्रको भौगोलिक बनावट, जलस्रोत अभाव र वन विनाशले पानीको समस्या दीर्घकालीन बनेको विज्ञहरूले बताएका छन्।
३० चैत, सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रको बस्तीमा खानेपानी अभाव देखिएको छ । वर्षेनी दोहोरिने यो समस्याले यस वर्ष पनि स्थानीयवासीलाई सास्ती दिइरहेको छ ।
चुरे क्षेत्रका धारा, इनार र कुवालगायतका परम्परागत पानीका स्रोत सुक्न थालेपछि बस्तीहरूमा पानीको संकट चुलिएको हो । बागमती नगरपालिका–१ दापडाँडाका स्थानीय मरिचमान घलेका अनुसार समस्या पुरानै भए पनि समाधानको पहल भने प्रभावकारी हुन सकेको छैन ।
‘म जन्मेको ४२ वर्ष भयो, तर अवस्था कहिल्यै फेरिएन,’ उनले भने, ‘चुनाव आउँदा नेताहरू आउँछन्, आश्वासन दिन्छन्, तर व्यवहारमा केही हुँदैन ।’
स्थानीयवासी दैनिक रूपमा खोला तथा बगरमा खनिएका कुवाबाट पानी ल्याउन बाध्य छन् । सुक्खा बढेसँगै ती स्रोत पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ । ‘पानी ल्याउनै डेढदेखि दुई घण्टा लाग्छ,’ घलेले सुनाए ।
उक्त क्षेत्रमा बसोबास गर्ने अधिकांश परिवारको दैनिकी पानीकै खोजीमा बित्ने गरेको छ । घरधन्दा, कृषि र बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
विशेषगरी महिला र बालबालिका बढी प्रभावित छन् । विद्यालय जाने उमेरका बालबालिकासमेत पानी बोक्न जानुपर्ने बाध्यताले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।
सुख्खा याममा नगरपालिकाले कहिलेकाहीँ ट्यांकरमार्फत पानी वितरण गर्ने गरे पनि त्यो नियमित नहुने स्थानीयको गुनासो छ । ‘महिनामा तीन–चार दिन मात्रै पानी आउँछ, त्यो पनि कहिले आउने हो थाहा हुँदैन,’ अर्का स्थानीय वीरबहादुर घलेले बताए । उनका अनुसार ट्यांकरको भरमा मात्रै दैनिक आवश्यकता पूरा हुन सम्भव छैन ।

वर्षायाममा भने आकाशे पानी संकलन गरेर पिउनुपर्ने बाध्यता छ । तर वर्षा सकिएपछि पुन: समस्या उस्तै हुने गरेको छ । स्थानीय टेकबहादुर गोलेका अनुसार वर्षायाममा झन् अर्को किसिमको समस्या थपिन्छ ।
‘वर्षामा बाटो बिग्रिन्छ, ट्यांकर आउनै सक्दैन । कात्तिकपछि हामी आफैं बाटो मर्मत गर्छौं,’ उनले भने, ‘त्यसपछि केही समय कहिलेकाहीँ ट्यांकर आउँछ, नत्र नुहाउने–धुने कामका लागि खोला नै जानुपर्छ ।’
चुरे क्षेत्रको भौगोलिक बनावट, जलस्रोतको अभाव र वन विनाशजस्ता कारणले पानीको समस्या दीर्घकालीन बन्दै गएको विज्ञहरू बताउँछन् । संरक्षण अभाव र योजनाविहीन विकासका कारण पानीका मुहान सुक्दै गएको उनीहरूको भनाइ छ ।
स्थानीय तहले दीर्घकालीन खानेपानी योजना बनाउन नसक्दा समस्या वर्षेनी दोहोरिने गरेको स्थानीयको आरोप छ । खानेपानी जस्तो आधारभूत आवश्यकताका लागि दैनिक दुई घण्टा समय खर्चिनु पर्दा जीवनयापन कष्टकर बन्दै गएको छ । ‘हामीले पानीका लागि यति दु:ख गर्नु परिरहेको छ, तर कसैले स्थायी समाधान खोज्दैन,’ एक स्थानीयले गुनासो गरे ।
स्थानीयवासीले तत्काल दीर्घकालीन योजना ल्याई सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । अन्यथा वर्षौंदेखि झेल्दै आएको सास्ती अझै लम्बिने उनीहरूको चिन्ता छ ।
प्रतिक्रिया 4