News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'राम नाम सत्य'ले नयाँवर्ष २०८३ को पहिलो दिन देशभरि १ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको वितरक गोविन्द शाहीले बताए।
- मंगलबार १५ देखि २० थप शोज राखिएको र सबै उमेर समूहका दर्शकले फिल्मको एक्सन, रोमान्स र ड्रामालाई रुचाएको वितरक शाहीले खुलाए।
- निर्देशक माइकल चन्दको निर्देशनमा बनेको यो फिल्ममा विराज भट्ट, दिब्या रायमाझी, सुपुष्पा भट्ट लगायत कलाकारले अभिनय गरेका छन्।
काठमाडौँ । विराज भट्ट, सुशील श्रेष्ठ स्टारर एक्सन-ड्रामा ‘राम नाम सत्य’ ले नयाँवर्ष २०८३ को पहिलो दिन मंगलबार घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ ।
वितरक गोविन्द शाहीका अनुसार, मंगलबारको सार्वजनिक बिदाको दिनमा यो फिल्मले देशब्यापी १ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गर्न सक्छ । बिहानैदेखि मल्टिप्लेक्ससहित देशभरका हल हाउसफुल देखिएको वितरक शाहीले बताए ।
उनका अनुसार मंगलबार १५ देखि २० शोज थप भएको छ । यो फिल्मका निर्माताले सामाजिक संजालबाट मंगलबार दिउँसो २ करोड ग्रसभन्दा धेरै कमाइ भैसकेको जनाएका थिए । यद्यपि, यसको औपचारिक विवरण आउन बाँकी छ ।
पहिलो र दोस्रो दिन राम्रो कमाइ गरेको फिल्म आइतबार र सोमबार केही सुस्ताएपनि मंगलबार पुनः आक्रामक देखिएको जनाइएको छ । ‘बलियो वर्ड अफ माउथको मद्दतमा यो फिल्मले अझै लामो समय पिकअप लिन सक्छ’ वितरक शाही भन्छन्, ‘सबै उमेर समूहका दर्शकले फिल्म हेरेर रुचाएका छन् ।’
दर्शकले यो फिल्मको एक्सन, रोमान्स, ड्रामाजस्ता पक्षलाई रुचाएको उनले बताए । मंगलबार नयाँवर्षको दिनको बेलुका र रात्रीकालिन शोज पनि खचाखच हुने देखिएको वितरक शाहीको भनाइ छ ।

फिल्म प्रवर्धनका लागि विराज, दिब्या रायमाझी, सुपुष्पा भट्टसहितका कलाकार बिहानैदेखि दर्शक भेट्न हल भिजिटमा ब्यस्त छन् । माइकल चन्द निर्देशित यो मल्टिस्टारर फिल्ममा विराज, सुपुष्पा र दिब्यासहित खुसी कार्की, आयुषसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
उपेन्द्र शाही र श्वेता बिमलीको निर्माणमा तयार भएको यो फिल्मलाई हेरेर निक्लिएका दर्शकले सुखद प्रतिक्रिया दिएपछि विराज उत्साहित देखिए । उनले भने, ‘मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो । तर, दर्शकले फिल्मलाई मन पराउनुभएको छ । यसले, हामीलाई उत्साहित बनाएको छ ।’
यो फिल्मलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4