+
+
Shares

संगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो

उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।

कञ्चन कञ्चन
२०८३ वैशाख ४ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकै प्रसिद्ध गिटारिस्ट एरिक क्ल्याप्टनले सन् १९६८ मा 'म्युजिक फ्रम बिग पिंक' एल्बम सुनेर आफ्नो ब्यान्ड क्रिम छोडेका थिए।
  • सन् १९६५ मा बब डिलानले इलेक्ट्रिक गितार बजाउँदै 'लेभन एण्ड द हक्स' ब्यान्डलाई विश्वव्यापी मान्यता दिलाए।
  • सन् १९७६ को 'द लास्ट वाल्ट्ज' अन्तिम कन्सर्टमा द ब्यान्डले १६ वर्षको संगीत यात्राको समापन गरे।

संगीतको दुनियाँमा कहिलेकाहीं यस्ता घटनाहरू घट्छन जसले आगामी दिशा नै  बदलिदिन्छ। त्यस्तो एल्बम, त्यस्तो आवाज, त्यस्तो ध्वनि जसले मानिसलाई आफ्नो दौडधूपबाट एकछिन मुक्ति दिन्छ ।  स्थिरता र आत्मविश्लेषणका लागि समय छुट्याइदिन्छ । 

विश्वकै सबैभन्दा प्रतिष्ठित रक गिटारिस्ट, गिटार गडको उपनामले परिचित एरिक क्ल्याप्टनले सन् १९६८ मा एउटा एल्बम सुने  ।  त्यो एल्बम सुनेपछि उनको आङ सिरिङ्ग भयो । 

उनी चर्चाको शिखरमा रहेको आफ्नै ब्यान्ड ‘क्रिम’ बाट अलग्गिए । र भने, ‘यो संगीतले मेरो जीवन बदलिदियो ।  म उनीहरूको ब्यान्डमा सामेल हुन चाहन्थेँ, तर साहस जुटेन ।’

उक्त  एल्बमको नाम  थियो–  ‘म्युजिक फ्रम बिग पिंक’ ।  उक्त  ब्यान्ड थियो– ‘द ब्यान्ड’।

यो कथा हो पाँच मानिसहरूको जसले संगीतलाई घर बनाए । जसले रक एण्ड रोललाई साइकेडेलिक अतिरेकको भुमरीबाट निकालेर जमिन र आकाशबीचको यथार्थमा ल्याए । उनीहरूको स्वरमा ग्रामीण धुलो थियो, इतिहासको पीडा थियो  र मानवताको न्यानो थियो ।

टोरन्टोको ठन्डा रात र एउटा सपनाको जन्म

कथाको फुर्को अलिक  टाढाबाट उठाउनु पर्छ– अमेरिकाको दक्षिणी राज्य अर्कान्ससबाट । सन् १९४० लेभन हेल्म त्यहाँ जन्मिएका थिए । उनको बाल्यकालका स्मृतिमा कपासका खेतहरू, ब्लुजको स्वर थियो,  र माटोसँगको त्यो गहिरो नाता थियो जुन पछि उनको ड्रमिङमा र गायनमा प्रतिबिम्बित हुन्थ्यो। 

टिनएजर उमेरमै उनले रोनी हकिन्स नामक अर्कानसासकै एक रकाबिल्ली गायकको ब्यान्ड ‘द हक्स’ मा ड्रम बजाउन थाले । हकिन्स क्यानाडा जान लागेका थिए । नयाँ दर्शक, नयाँ सम्भावनाहरूको खोजमा । हेल्म पनि क्यानाडा  लागे ।

सन् १९५८ को टोरन्टो शहर । त्यहाँ एकपछि अर्का युवा संगीतकारहरू थपिँदै गए । सोर्बो, अन्टारियोका रोबी रबर्टसन गितार बजाउँथे  । उनले रोय बुकाननबाट गिटारका सुन्दर शैलीहरू सिकेका थिए । सिमकोइका रिक डान्को बेस गिटार र भायोलिन दुवै बजाउँथे । 

स्ट्रेटफोर्डका रिचर्ड म्यानुएल पियानो बजाउँथे र उनको स्वरमा त्यस्तो कुनै तत्व थियो जसलाई शब्दमा अटाउन गाह्रो पर्छ । उनको कता-कता नाजुक र जीवनबाट बिखडिएको आवाजमा  मर्मभेदी गहिराइ भेटिन्थ्यो  ।

सडकको जीवनले मान्छेलाई खाइरहेको थियो । रिचर्ड म्यानुएल मद्यपानको गहिरो खाडलमा भासिदै गएका थिए । रिक डान्को र लेभन हेल्म हेरोइनको लतमा थिए ।

र थिए गार्थ हडसन । सबैभन्दा जेठा, परिपक्क र प्रशिक्षित । उनी कलेजमा संगीत पढेका संगीतका शिक्षक समेत थिए । उनलाई रक एण्ड रोल खासै चाखलाग्दो थिएन । ‘द हक्स’ का सदस्यहरूले उनलाई कसोकसो मनाए । तर हडसनले एउटा शर्त राखे । शर्त थियो– हरेक सदस्यले हप्तामा १० डलर तिर्नुपर्छ, र उनलाई नयाँ लोरे अर्गन किनिदिनुपर्छ । ती सदस्यहरूले सहर्ष मानेर उनलाई भित्र ल्याए । अनि पछि थाहा पाए–  गार्थ हडसन त अर्गन, साक्सोफोन, क्लारिनेट, अकर्डियन, पियानो सबै बजाउँथे । उनलाई ब्याण्डमा ल्याउनु १० डलरको सबैभन्दा राम्रो लगानी थियो ।

हकिन्सको ब्यान्डमा जीवन कठोर थियो । रातभरिका रिहर्सल, साना-साना क्लब र बारहरूमा प्रदर्शन, न्यून पारिश्रमिकले जीवन जटिल बनाएको थियो । हकिन्स कडा अनुशासक थिए । तर त्यही कठोरताले यी युवाहरूलाई सुदृढ बनायो । उनीहरूले रक एण्ड रोलको सबैभन्दा काँचो, जीवित स्वरूप सिके– दर्शकसँग प्रत्यक्ष सम्पर्क, संगीतको साथ जीवन जिउने कला ।

सन् १९६३ सम्म यी युवाहरू हकिन्सभन्दा धेरै अगाडि बढिसकेका थिए । उनीहरू हकिन्सको छत्रछाया छोडेर बाहिर निस्के । ‘लेभन एण्ड द हक्स’ मा रूपान्तरित भए । स्वतन्त्र भए । तर उनीहरू अझै आफ्नो असली पहिचान खोज्दै थिए ।

बब डिलान र ‘फायर अफ ब्याप्टिजम

सन् १९६५ मा संगीतको दुनियाँमा एउटा भूकम्प आउँदैथ्यो ।

अमेरिकाका चर्चित  फोक संगीतकार बब डिलान इलेक्ट्रिक गितार उठाउँदै थिए । तर, उनका लाखौं प्रशंसकहरूले उनको यो कदमलाई फोक आन्दोलनप्रतिको विश्वासघात थियो भन्ने ठाने । र यो विद्रोहका लागि डिलानलाई चाहिएको थियो एउटा ब्यान्ड– यस्तो ब्यान्ड जो ‘इलेक्ट्रिक’ हुन डराउँदैन।

उनका प्रबन्धकले न्यू जर्सीको सोमर्स पोइन्टको टोनी मार्ट्स नाइटक्लबमा ‘लेभन एण्ड द हक्स’ को प्रदर्शन देखे । संगीत सुने । र डिलानलाई भने  ‘यी नै उपयुक्त पात्र हुन् ।’

सन् १९६५ देखि १९६६ सम्म, द हक्स ( लेभन बिना ) डिलानसँग वर्ल्ड टूरमा निस्के। यद्यपि यो कुनै सहज यात्रा भने हुने थिएन।

मे १७, १९६६ । म्यानचेस्टरको फ्रि ट्रेड हल । प्रदर्शनको बीचमा भीडबाट एउटा आवाज आयो – ‘जुडास् !’ डिलान रोकिए । एक क्षण मौन भए । त्यसपछि उनले माइकमा भने, ‘म तिमीलाई विश्वास गर्दिन । तिमी झुटा हौ ।’ अनि ब्यान्डतिर फर्किएर भने, ‘यसलाई ठूलो आवाजमा बजाओ !’ र ‘लाइक अ रोलिङ स्टोन’ को इलेक्ट्रिक गितार संस्करण अझ उर्जाशील भयो ।

यो क्षणले द हक्सलाई परिभाषित गर्‍यो । उनीहरूले घृणा र माया दुवैको सामना गरे । तर उनीहरू डगमगाएनन् । यो थियो ‘फायर अफ ब्याप्टिजम‘,  जसले तिनलाई साँचो कलाकार बनायो ।

सन् १९६६ को समरमा डिलानको मोटरसाइकल दुर्घटना भयो । उनी वुडस्टक, न्यूयोर्कमा आराम गर्न गए । द हक्सका सदस्यहरू पनि त्यहीँ गए । वुडस्टकको छेउमा ‘बिग पिंक’ नामको गुलाबी रङको एउटा घर भाडामा लिइयो । त्यहाँ उनीहरूले अनौपचारिक रूपमा संगीत बजाउन थाले– रेकर्ड गर्दै, सिक्दै, खेल्दै । त्यो रेकर्डिङ पछि ‘द बेसमेन्ट टेप्स’ को नामले प्रसिद्ध भयो ।  रक संगीतको एउटा पवित्र अभिलेख सावित भयो ।

डिलानले यो समूहलाई प्रायः ‘द ब्यान्ड’ भनेर बोलाउँथे । र सन् १९६८ मा, जब उनीहरूले आफ्नो पहिलो एल्बम रिलिज गरे, उनीहरूले त्यही नाम राखे- ‘द ब्यान्ड’। 

बिग पिंकको जादू र एउटा युगको परिवर्तन

सन् १९६८ को समय । साइकेडेलिक रकको उत्कर्ष थियो । जिमी हेन्ड्रिक्सले गितार गडको रूपमा चम्किरहेका थिए । रोलिङ स्टोन्सले संगीतमा ‘ रक एण्ड रोल’ को भावना टिपेर गीत बनाइरहेका थिए । संगीतको स्वर्ण समय थिए ।

यही समयमा  ‘म्युजिक फ्रम बिग पिंक’ प्रकाशित भयो ।

यो एल्बममा कुनै तडकभडक थिएन । कुनै चमकधमक थिएन । गीतहरू शान्त थिए, आत्मीय थिए, यथार्थको धरातलमा उभिएका थिए । एउटा पुरानो घरको आँगनको न्यानोपन , मकैका खेतको सुवास  र मानिसहरूको सहचार्य, गीतमा समेटिएका थिए ।

‘द वेट’  यो एल्बमको सबैभन्दा प्रसिद्ध गीत ठहरियो । यस गीतलाई रोबी रबर्टसनले लेखेका थिए । गीतको कथामा  एक यात्री नाजरेथ शहरमा पुग्छन् र आफ्नो घोडाको खुट्टा ठीक गराउन खोज्छन् । तर त्यहाँ भेट्ने हरेक मानिसले उसलाई आफ्नो–आफ्नो बोझ थमाइदिन्छन् । ‘टेक अ लोड अफ फ्यान्नी, टेक अ लोड फर फ्री…’ ।  बोझ बाँड्नुको कथा गीतका शब्दहरू छिपेका छन् ।

यसमा बाइबलका सन्दर्भहरू पनि संलगन छन् । रबर्टसनले साइमन अफ साइरिनलाई साधारण जीवनसँग जोडेर एउटा कालजयी गीत दिए । उनले क्रसको बोझ बोक्न मदत गरेका थिए, 

लेभन हेल्म र रिक डान्कोले त्यो गीत यसरी गाए जसले सुन्नेको हृदय रसाउँछ।

पिंक फ्लोइडका रोजर वाटर्सले भने: ‘यो रक संगीतको इतिहासको दोस्रो सबैभन्दा प्रभावशाली रेकर्ड हो ।’ एरिक क्ल्याप्टन स्तब्ध भए । जर्ज ह्यारिसनले यसलाई ‘स्वदेशी आत्माको प्रतीक’ भने । संगीत पत्रकार अल एरोनोविट्जले ‘कन्ट्री सोल’ भन्ने नयाँ शब्द नै बनाए।

तर यो एल्बम केवल एउटा सुरुवात थियो ।

सन् १९६९ मा ‘द ब्यान्ड’ (जसलाई प्रायः ‘ब्राउन एल्बम’ भनिन्छ) आयो । यो उनीहरूको उत्कृष्ट कृति थियो । र, रक संगीतको इतिहासमा एउटा महत्वपूर्ण स्तम्भ ।

‘द नाइट देय ड्रुभ ओल्ड डिक्सी डाउन’– यो गीतले अमेरिकी गृहयुद्धको दक्षिणी पीडालाई बोक्छ । गीतको पात्र हो वर्जिल केन– एक दक्षिणी सैनिक जसले हारेको युद्धको कथा सुनाउँछ । रेलको पटरी, भोकमरी, प्रिय भाइको मृत्यु– यो सब ‘द नाइट देय ड्रुभ ओल्ड डिक्सी डाउन, एन्ड द बेल्स वर रंगिन’ भन्ने पङ्क्तिमा अटाउँछ ।

यो गीतले हारलाई सम्मानपूर्वक ग्रहण गर्छ । ‘हार’ लाई ‘अपमान’ बनाउँदैन । यो दर्शन थियो- इतिहासको हरेक पाटोमा मानवता हुन्छ, कसैको पनि पीडा हाँसोको पात्र हुँदैन ।

‘अप अन क्रिपल क्रीक’ मा फन्की रिदम र हँसिलो कथा थियो । ‘किङ हार्भेस्ट’ मा किसान जीवन र युनियनको महत्व थियो । ‘राग मामा राग’ मा ब्लुजको काँचो ऊर्जा थियो । यो एल्बम वुडस्टकको त्यही वर्ष आयो जुन वर्ष वुडस्टक संगीत समारोह भयो । अगस्ट १९६९ मा, ४ लाख भन्दा बढी मानिसहरूको अगाडि द ब्यान्डले आफ्नो संगीत गाए । र एउटा पुस्ताको मुटुमा बस्न पुगे ।

पाँच आत्मा, एउटा स्वर

द ब्यान्डको सबैभन्दा अनौठो कुरा के थियो ? यहाँ कुनै एकल ‘स्टार’ थिएन ।

रोबी रबर्टसनले अधिकांश गीत लेखे, तर मञ्चमा उनी बढी बोल्दैनथे । लेभन हेल्म, रिक डान्को र रिचर्ड म्यानुएल तीनै जना गाउँथे । कहिले हेल्म, कहिले डान्को, कहिले म्यानुएल  गीतको भावनाअनुसार सही आवाज सही ठाउँमा प्रदान गर्थे ।

रिचर्ड म्यानुएलको आवाजमा के थियो ? एक प्रकारको भंगुरता ।  जस्तो कुनै पुरानो कागजको पाना, जुन हल्का हावाले पनि उडाउन सक्छ । तर त्यही नाजुकतामा एउटा अपार गहिराइ थियो । उनले ‘इन अ स्टेशन’ जस्ता गीतहरूमा यस्तो भावना उत्पन्न गर्थे जुन सुनेपछि मान्छे अज्ञात कारणको प्रहरले भावद्रवित हुन्छ ।

लेभन हेल्मको आवाजमा दक्षिणी अमेरिकाको माटोको गर्मी थियो । उनको ड्रमिङ एकदम अनौठो थियो ।  ‘बिटको मुटुमा ठीक मार्ने’ शैली । जो सुन्दा सजिलो लाग्छ तर अनुकरण  गर्न गाह्रो हुन्छ।

रिक डान्कोको स्वरमा एक निर्दोष दुःख थियो । मानौ कोही सरल मानिसले कठिन संसारको सामना गर्दैछ । उनको बेस गितारले संगीतलाई यथार्थको जमिनमा  राख्थ्यो । कहिलेकाहीँ त्यो बेसको लाइन आफैंमा एउटा मधुर धुन बन्थ्यो ।

र गार्थ हडसन ? उनी थिए ‘गुप्त हतियार’ । उनको अर्गन र किबोर्डले संगीतमा एउटा रहस्यमयी आयाय थप्थ्यो । हडसन संगीतको ‘रंङ’ थिए – जो नदेखिँदा पनि सबैतिर छर्किएको हुन्छ, हरेक सुरमा घोलिएको हुन्छ । 

रबर्टसनको गितार  ? त्यो मर्यादित थियो । उनले कहिल्यै शो–अफ गरेनन् । हर नोट गाम्भीर्यका साथ बजाउँथे । ‘जिमी हेन्ड्रिक्सले धेरै नोट बजाउँछन्,’ कसैले भनेका छन्, ‘रोबी रबर्टसनले सही नोट बजाउँछन् ।’

सबैभन्दा रोचक  कुरा त सबैले एकभन्दा बढी वाद्ययन्त्र बजाउँथे । हेल्मले ड्रम र म्यान्डोलिन दुवै । डान्कोले बेस र भायोलिन दुवै । म्यानुएलले पियानो र ड्रम दुवै । यो बहुवाद्य क्षमताले उनीहरूको संगीतलाई जीवन्त र अप्रत्याशित बनाइराख्थ्यो।

महानताको शिखर र अन्धकारको आगमन

सन् १९७० र ७१ मा ‘स्टेज फ्राइट’ र ‘काहुट्स’ एल्बमहरू आए । ती पनि उत्कृष्ट थिए, तर ‘ब्राउन एल्बम’ को उचाइ छुन सकेनन् । सन् १९७२ को ‘रक अफ एजेस’ लाइभ एल्बमले उनीहरूको लाइभ प्रदर्शनको शक्ति देखायो । सन् १९७३ मा ६ लाखभन्दा बढी दर्शकको अगाडि ‘समर जाम’ कन्सर्ट भयो।

सन् १९७४ मा बब डिलानसँग पुनर्मिलनको विशाल टुर भयो । ‘बिफोर द फ्लड’ नामक लाइभ एल्बम निस्क्यो । सन् १९७४ मा बब डिलनसँगको ऐतिहासिक पुनर्मिलन र विशाल टुरपछि ‘बिफोर द फ्लड’ लाइभ एल्बम सार्वजनिक भयो । 

तर, सन् १९७५ मा आएको ‘नर्दर्न लाइट्स–सदर्न क्रस’ एल्बमले एउटा यस्तो गीत जन्मायो, जसले द ब्यान्डको इतिहासमै सबैभन्दा हृदयविदारक छाप छोड्यो- ‘इट मेक्स नो डिफरेन्स’।

यो गीत रोबी रोबर्टसनले विशेष गरी रिक ड्यान्कोको आवाजलाई ध्यानमा राखेर लेखेका थिए । रोबर्टसन भन्थे, ‘मैले यो रिकका लागि लेखेको थिएँ । जब हामीले यसलाई रेकर्ड गर्न थाल्यौँ, यो भावनाको यस्तो गहिराइमा पुग्यो जुन हामी आफैँले सोचेका थिएनौं ।’

यो गीत केवल एउटा प्रेम गीत मात्र थिएन, यो त मानवीय विलापको एउटा साङ्गीतिक रुप  थियो । गीतको सुरुवात रोबर्टसनको विलापी गितार इन्ट्रोबाट हुन्छ । त्यसलगत्तै रिक ड्यान्कोको आवाज सुनिन्छ- ‘एन्ड इट मेक्स नो डिफरेन्स वेयर आई टर्न…’। 

उनले ‘एन्ड’ शब्दबाट गीत सुरु गर्छन्, मानौँ पीडाको कथा त पहिलेदेखि नै चलिरहेको थियो । हामीले त बीचबाट मात्र सुन्न थालेका हौं ।

रिक ड्यान्कोको स्वरमा एउटा यस्तो कम्पन र भावुकता थियो, जसले सुन्नेको मुटुको पत्र-पत्र कोट्याउँथ्यो । भनिन्छ– ‘समयले सबै घाउ निको पार्छ’, तर रोबर्टसनले यो गीतमा त्यो विश्वासलाई चुनौती दिएका छन् । कतिपय अवस्थामा समयले केही पनि निको पार्दैन । समयको गतिसँगै घाउहरू अझ गहिरा मात्र हुँदै जान्छन् ।

गीतको बीचमा लेभन हेल्म र रिचर्ड म्यानुअलको स्वर मिसिँदा बन्ने ‘थ्री-पार्ट हार्मोनी’ ले एउटा अलौकिक शून्यता पैदा गर्छ । ‘एन्ड द सन डन्ट साइन एनीमोर, एन्ड द रेन्स फल डाउन अन माइ डोर’- यहाँ घाम नउदाउनु र ढोकामा पानी पर्नुले भित्री मनको अँध्यारो र आँसुलाई  संकेत गर्छ ।

गीतको एउटा मार्मिक पङ्क्ति छ- ‘रिड एम एन्ड वीप’ । पुराना प्रेमपत्रहरू पढ्दा हुने त्यो असह्य पीडालाई ड्यान्कोले आफ्नो भोगाइझैं व्यक्त गरेका छन् । गीतको अन्त्यतिर पुग्दा उनको आवाज लगभग भाँचिन्छ, जहाँ उनी भन्छन्- ‘द्याट आई नेभर फेल्ट सो अलोन बिफोर ।’  अर्थात् मैले पहिले कहिल्यै यति एक्लो महसुस गरेको थिइनँ’ । यो अन्तिम हरफमा तीनै जना साथीहरूको स्वर सुनिन्छ, जुन निकै विरोधाभासपूर्ण छ- साथीहरू साथमै छन्, तर गीत एक्लोपनको गाइँदै छ ।

गीतको अन्तिम प्रहरमा रोबर्टसनको गितार र गार्थ हडसनको सोप्रानो साक्सोफोनबीच एउटा संवाद चल्छ । त्यो संवाद शब्दमा होइन, धुनमा हुन्छ । साक्सोफोन र गितार एकअर्कासँग रोइरहेका हुन् कि जस्तो लाग्छ । 

सङ्गीत समीक्षक बार्नी होस्किन्सले ठिकै भनेका छन्- ‘ड्यान्कोले आफ्नो क्षतिलाई यसरी प्रस्तुत गर्छन् कि त्यसले आत्मपीडालाई पनि उछिनेर एउटा कलाको रूप लिन्छ ।’

यो गीतले सावित गरिदियो कि ‘द ब्यान्ड’ केवल बौद्धिक गीतहरू मात्र बनाउँदैनथ्यो, उनीहरू त हृदयको त्यो कुनामा पुग्न सक्थे जहाँ पुग्न अरूलाई साहस चाहिन्थ्यो । रोबर्टसनको लेखन र ड्यान्कोको प्राणमयी गायकीले ‘इट मेक्स नो डिफरेन्स’ लाई रक संगीतको इतिहासकै सबैभन्दा संवेदनशील रचनामध्ये एक बनाइदियो ।

तर यो बाह्य सफलताको पछाडि भित्री अन्धकार बाक्लिँदै थियो ।

सडकको जीवनले मान्छेलाई खाइरहेको थियो । रिचर्ड म्यानुएल मद्यपानको गहिरो खाडलमा भासिदै गएका थिए । रिक डान्को र लेभन हेल्म हेरोइनको लतमा थिए । मञ्चमा चम्किने अनुहारहरू पछाडि थकान, विषाद र लत लुकेको थियो ।

रोबी रबर्टसन आफूले भने स्वच्छ छवि कायम गरिराखे । तर उनले आफ्ना साथीहरूलाई बिस्तारै भत्किदै जाँदा हेरचाह गर्नु परिरहेको थियो । कार दुर्घटनाहरू, छुटेका रिहर्सलहरू, बिग्रँदो स्वास्थ्य जस्ता कुराले ब्याण्ड अवनतिको पथ पछ्याउदै थियो  

उनी भन्छन्, ‘सडकले हामीलाई स्वस्थ राख्दैन । हामी सिकिरहेका छैनौं । म साथीहरूलाई गुमाउन चाहन्नथेँ।’

द लास्ट वाल्ट्ज– एउटा युगको विदाइ

नोभेम्बर २५, १९७६ । थ्यांक्सगिभिङ दिन । सान फ्रान्सिस्कोको विन्टरल्याण्ड बलरूम ।

रोबी रबर्टसनले फैसला गरेका थिए ।  यो अन्तिम कन्सर्ट हुनेछ । १६ वर्षको सडक यात्रापछि अब बिसाउने बेला भयो । तर यो केवल कन्सर्ट हुने थिएन । एउटा भव्य समारोह हुने थियो ।

टिकट महँगो थियो, पच्चीस डलर । तर त्यसमा दर्शकलाई थ्यांक्सगिभिङ डिनर पनि समेटिएको थियो । बलरूमभित्र नृत्यको व्यवस्था थियो । कवितावाचन पनि हुने थियो ।

र त्यसपछि  संगीत पनि ।

प्रख्यात फिल्मनिर्देशक मार्टिन स्कोर्सेसी आए । आफ्नो क्यामेरा टोलीसहित । उनी यो रातलाई फिल्ममा कैद गर्ने थिए । पछि यो फिल्म  ‘द लास्ट वाल्ट्ज’  रक संगीतको इतिहासमा सर्वश्रेष्ठ कन्सर्ट फिल्म मानिन पुग्यो ।

त्यो रातका अतिथिहरूको सूची यस्तो थियो । 

रोनी हकिन्स, जसले यी सबैलाई पहिले जम्मा गरेका थिए । एमिलु ह्यारिस, कन्ट्री संगीतकी रानी । भ्यान मोरिसन, आयरल्यान्डको आत्मा । नील यंग, कन्ट्री–रकको संगीतकार । मडी वाटर्स, शिकागो ब्लुजका पिता । डा. जोन, न्यू अर्लियन्सको जादूगर । रो स्टेपलटन,  जोनी मिचेल, पल बटरफिल्ड ।

र एरिक क्ल्याप्टन । जसले एल्बम सुनेर क्रिम तोडेका थिए, जो द ब्यान्डमा सामेल हुन चाहेका तर हिम्मत जुटाउन नसकेका थिए । उनी त्यो रात मञ्चमा आए । ‘फर्दर अन अप द रोड’ मा उनले गितार बजाए ।

र सबैको अन्त्यमा- बब डिलान । ‘फरेवेल एन्जेलिना,’ ‘हाजी राय,’ ‘आई डन्ट बिलिभ यू,’ र अन्तमा जब सबै मञ्चमा थिए  ‘आई सल बि रिलिज्ड। त्यो अन्तिम गीत मुक्तिको प्रार्थना थियो ।

तर त्यो रात सबैका लागि समान थिएन।

लेभन हेल्म खुसी थिएनन् । उनको मनमा खड्किएको  थियो – यो रोबीको निर्णय थियो, बाँकीले मान्नु परेको थियो । पछि उनले आफ्नो आत्मकथामा लेखे: ‘यो ब्यान्डको अन्त्य थिएन, तर रोबीको इच्छाशक्ति थियो ।’ उनले फिल्मलाई ‘रोबीको भ्यानिटी प्रोजेक्ट’ पनि भने । किनकि फिल्ममा रोबीलाई बढी महत्व दिइएको र बाँकीलाई ‘साइडम्यान’ जस्तो देखाइएको उनलाई लाग्यो।

यो विवाद पछिसम्म चल्यो । ब्याण्डका दुई स्तम्भहरू रोबी र लेभन कहिल्यै प्रिय र पूर्ववत् सम्बन्धमा फर्किएनन् ।

तर फिल्म ? फिल्म अमर भयो । आजसम्म ‘द लास्ट वाल्ट्ज’ रक संगीतको इतिहासको सर्वश्रेष्ठ कन्सर्ट डकुमेन्टरी मानिन्छ ।

बिखराव, पुनर्मिलन र दुखान्त

अवकाशपछि पाँचै जना आफ्नो–आफ्नो बाटोमा हिँडे।

रोबी रबर्टसन लस एन्जेलसमा बसे । उनले मार्टिन स्कोर्सेसेका फिल्महरूमा संगीत दिन थाले- ‘किंग अफ कमेडी,’ ‘द कलर अफ मनी,’ ‘क्यासिनो,’ ‘गुडफेलास,’ ‘द आइरिस ।’ उनले चलचित्रमा पनि सानो भूमिका खेले । सन् २०११ मा सोलो एल्बम निकाले ।

गार्थ हडसनले विभिन्न कलाकारहरूसँग सहकार्य गरे । उनी प्रायः सार्वजनिक दृष्टिबाट अलग रहे, आफ्नो संगीतमा मग्न रहे ।

रिक डान्कोले सोलो एल्बमहरू निकाले । उनी पछि लेभन हेल्मसँग जोडिए ।

लेभन हेल्म आर्कान्सास फर्किए, त्यसपछि वुडस्टकमा बसे । उनले गाउँ छाडेनन्, संगीत छाडेनन्।

सन् १९८३ मा, रोबी रबर्टसन बाहेक बाँकी चारजनाले ‘द ब्यान्ड’ को नाममा पुनर्मिलन गरे। जिम वाइडर नयाँ गिटारिस्टका रूपमा आए । उनीहरूले टुर गर्न थाले, प्रशंसकहरू भेट्न थाले ।

तर सन् १९८६ को मार्च महिनामा, फ्लोरिडाको एउटा मोटलमा रिचर्ड म्यानुएलको आकस्मिक मृत्यु भयो । ४० वर्षको उमेरमा उनले आफ्नो जीवन आफैं समाप्त गरे । 

यो खबर सुनेर संगीतको दुनियाँ मौन भयो । सार्विक भावना समेट्ने आवाजका धनी रिचर्ड म्यानुएलाइ  मद्यपान र अवसादले भित्रभित्रै खाइसकेको थियो । लेभन हेल्मले पछि भने, ‘रिचर्डले दिएको आवाज यस संसारमा फेरि कहिल्यै आउँदैन ।’

ब्यान्ड तैपनि जारी रह्यो । रिक डान्कोले गाउन थाले, नयाँ सदस्यहरू थपिए । तर त्यो पहिलाको द ब्यान्ड थिएन ।

सन् १९९९ को डिसेम्बरमारिक डान्को सुतेकै अवस्थामा बिते । ५५  वर्षको उमेरमा हृदयघात भएर उनले संसार छाडे । यसपछि ‘द ब्यान्ड’ केवल सांकेतिक अस्तित्वमा मात्र रहन पुग्यो ।  त्यसपछि ‘द ब्यान्ड’ नाम बोक्ने कारण नै रहेन।

छुट्टा–छुट्टै बाटो, एकै विरासत

सन् १९९४ मा, रक एण्ड रोल हल अफ फेममा द ब्यान्डलाई सामेल गरियो । यो ऐतिहासिक मान्यता थियो । तर समारोहमा लेभन हेल्म र रोबी रबर्टसन एकै मञ्चमा उभिन सकेनन् । उनीहरूबीचको चोट अझै निको भएको थिएन ।

लेभन हेल्मले वुडस्टकमा आफ्नो घरको खलिहानमा ‘मिडनाइट र्याम्बल’ सुरु गरे । मित्रहरूलाई बोलाएर, साना कन्सर्टहरू गरेर, संगीतमा नयाँ जीवन खोज्दै । क्यान्सरसँग लड्दालड्दै पनि उनले संगीत छोडेनन् । सन् २०१२ मा  ७२ वर्षको उमेरमा  उनी बिते ।

रोबी रबर्टसनले सन् २०१६ मा ‘टेस्टिमोनी’ नामक आत्मकथा प्रकाशित गरे । जीवनभरको स्मृतिहरू, संगीतको यात्राहरू यसमा समेटिएका छन् । उनको स्वास्थ्य पनि क्रमश : बिग्रँदै गयो । सन् २०२३ को अगस्ट ९ मा अस्सी वर्षको उमेरमारोबी रबर्टसन पनि बिते ।

र अन्ततः, सन् २०२५ मा गार्थ हडसन ८७ वर्षको उमेरमा बिते । उनी  द ब्यान्डको अन्तिम सदस्य थिए ।

मरेका छैनन् उनीहरू

 प्रश्न उठ्न सक्छ – द ब्यान्डले के दिए संगीतलाई ?

उनीहरूले ‘अमेरिकाना’ नामक विधाको जन्म दिए । यो विधाले बिना कुनै एउटाको बर्चस्व कन्ट्री, फोक, ब्लुज र रकलाई एकसाथ समेट्छ । आजका कलाकारहरू विल्को, इस्लेट ब्रदर्स, माम्फोर्ड एन्ड सन्स, द लुमिनियर्स यही परम्पराका उत्तराधिकारी हुन् ।

उनीहरूले ‘लाइभ रेकर्डिङ’ को महत्व देखाए । स्टुडियोमा एक्लो बसेर ट्र्याक जोड्ने होइन । ब्यान्ड सँगै बजाउने र त्यो जीवन्त ऊर्जालाई कैद गर्ने ।

उनीहरूले प्रदर्शन गरिदिए कि ब्यान्डमा कुनै एकल ‘सुपरस्टार’ हुनु जरुरी छैन । पाँच बराबरका आवाज मिलेर जे बन्छ, त्यो कुनै एकल प्रतिभाले दिन सक्दैन ।

उनीहरूको ‘द लास्ट वाल्ट्ज’ फिल्म आजसम्म संगीत विद्यालयहरूमा पढाइन्छ ।

द ब्यान्डले अनेकन सम्मानहरू पाए । रक एण्ड रोल हल अफ फेम (१९९४), ग्रामी लाइफटाइम अचिभमेन्ट अवार्ड, अमेरिकी कांग्रेसको नेशनल रेकर्डिङ रजिस्ट्री । तर सबभन्दा ठूलो सम्मान भनेको उनीहरूको सदावहार सान्दर्भिकता हो । ५० वर्षपछि पनि ‘द वेट’ रेडियोमा बज्छ, मान्छेहरू रोकिन्छन्, सुन्छन्, र केही अव्यक्त महसुस गर्छन् ।

घर फर्किने धुन

संगीतमा केही ध्वनिहरू हुन्छन् जो कर्णपट मात्र होइन, हृदयमा बास गर्छन् ।

‘द ब्यान्ड’ को संगीत त्यस्तै थियो ।

लेभन हेल्मको ड्रम सुन्दा लाग्छ- दक्षिणी अमेरिकाको माटोले नै ताल दिइरहेको छ । रिचर्ड म्यानुएलको आवाज सुन्दा लाग्छ- कुनै पुरानो आत्माले आफ्नो दुःख गाइरहेको छ । रिक डान्कोको बेस सुन्दा लाग्छ- नदी आफ्नै लयमा बगिरहेको छ । गार्थ हडसनको अर्गन सुन्दा लाग्छ – चर्चको छानाबाट प्रकाश ओर्लदै छ । रोबी रबर्टसनको गिटार सुन्दा लाग्छ – एक–एक शब्द तौलेरकुनै बुद्धिमान मान्छे बोलिरहेको छ ।

उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए । तर उनीहरूले गाएका गीतहरू रोकिएनन् ।

‘द वेट’ अझै बज्छ। ‘द नाइट देय ड्रुभ ओल्ड डिक्सी डाउन’ अझै बज्छ । ‘आई सल बि रिलिज्ड’ अझै बज्छ ।

र जब यी गीतहरू बज्छन्, त्यो गुलाबी घर फेरि उठ्छ। कल्पना गरौं, वुडस्टकको जङ्गलमा हिउँ पर्दैछ, भित्र आगो बलिरहेको छ, र पाँच मानिसहरू गीत गाइरहेका छन्- केवल गाउनको लागि, केवल सँगै हुनको लागि, केवल यो क्षण सुन्दर छ भनेर मनाउनको लागि ।

आखिर, यही हो द ब्यान्ड । यही हो संगीत । यही हो घर । अनि उनीहरूका संगीत- घर फर्किने धुन ।  

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?