४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हिजोबाट सुनुवाइ सुरु भएको थियो ।
हालसम्मको सुनुवाइमा रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन् । विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा आफै बहस गर्न भनेर इजलासमा पुगेका थिए । तर, समय अभावका कारण उनले बहस गर्न भने पाएनन् ।
अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । अब जवाफी बहसपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।
यही कारण सम्भवत: यो रिटमा आजै फैसला आउनसक्ने देखिएको छ ।
गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । त्यसपछि आयोगको सो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।
यही मुद्दामा अहिले सुनुवाइ भइरहेको हो ।
प्रतिक्रिया 4