News Summary
Generated by OK AI. Editorially reviewed.- नारायण ढकालको उपन्यास \'जगज्जननी उसकी आमाको नाम होइन\'ले नेपाली पत्रकारिता र राजनीतिमा देखिएका विकृतिहरूलाई उजागर गरेको छ।
‘‘यो क्षण एउटा दोभानजस्तो थियो
दोभान– जहाँ एउटा नदी अर्कोमा मिसिन्छ
र अभागी चाहिँले आफ्नो परिचय गुमाउँछ ।’’
उल्लेखित पदावली दुनियाँमा प्रचलित कुनै उम्दा कविको पुस्तकबाट साभार गरिएको होइन । खासमा यो नेपाली साहित्यका सिद्धहस्त लेखक नारायण ढकालको पछिल्लो कृति ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासको एक काव्यात्मक अंश हो ।
‘जगज्जननी उसकी आमाको नाम होइन ।’ यो कसकी आमाको नाम हो त ? यो कस्तो शीर्षक हो ? यसको अर्थ के हो ? यो शीर्षक देख्नबित्तिक्कै मेरा मनमा एकसाथ यिनै प्रश्न उब्जिएका थिए ।
यो शीर्षक कुनै बिम्बात्मक कविताको शब्दहारजस्तो पनि लागेको थियो । नारायणको आख्यानको विशेषता राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्नु हो । जीवन्त पात्रमार्फत निम्न वर्गीय मानिसका भोगाइलाई उजागर गर्नु उनको अर्को विशेषता हो । नेपाली समाजको सूक्ष्म एवम् मिहिन चित्रण गर्न सिपालु नारायण ढकालका आख्यान नेपाली समाजका सुन्दर तस्बिर बनेर देखा पर्ने गरेका छन् ।
यसअघि प्रेतकल्प, वृषभ वध, पीत संवाद, दुर्भिक्ष, हजार माइलको बाटो, जस्ता गहन उपन्यास र दर्जनौं कथा नेपाली साहित्यलाई दिइसकेका नारायणको ‘जगज्जननी उसकी आमाको नाम होइन’ अर्को एउटा उत्कृष्ट उपन्यास बन्न पुगेको छ ।
वर्तमान् नेपाली समाज कुरुप बिम्बहरू बोकेर बाँचिरहेको छ । प्रणाली, पद्धति, प्रकृया सब कुरूप । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका कुरूप । राज्यको चौथो अङ्ग पत्रकारिता झनै धेरै कुरूप । यो कृति नेपाली पत्रकारिता क्षेत्रभित्र लुकेको कुरूप एवम् भद्धा अनुहारलाई अनावरण गर्न सफल देखिन्छ । पानी आफैँ फोहोर भयो भने पानीले पखालेका अन्य वस्तु कसरी सफा र शुद्ध होला ? साधुले डकैती गर्नु, गाईले मांशभक्षण गर्नु र पुष्षहारबाट दुर्गन्ध फैलिनु एकै हुन् ।
अरूका काला कर्तुतको भण्डाफोर गर्ने, समाजका विकृतिको विनाश गर्ने, राष्ट्रको पिलो निचोर्ने काम राज्यको चौथो अङ्गकै हो । जब पत्रकारिता आफैँ भ्रष्टीकरण हुन्छ तब अरू क्षेत्र के हुन्छ ? पत्रकारिता भित्रका फोहोर र दुर्गन्धले समाजलाई भित्रभित्र कसरी सडाउन सक्छ ? जगज्जननीले यसको जवाफ खोजेको छ ।
पश्चिममा जुलियस सिजरले पत्रकारिताको आधारशीला तयार गर्दै गर्दा पूर्वले त्यसभन्दा अघि नै ‘लाइभ सञ्चार’को सुरुवात गरिसकेको थियो । मिथक र अध्यात्मिक कृतिका अधारमा भन्ने हो भने पौराणिक पात्र र देवताले प्रयोग गर्ने आकाशवाणी अहिलेका प्रत्यक्ष प्रसारणभन्दा उम्दा देखिन्थे । भलै यिनका भौतिक र वैज्ञानिक प्रमाण भेट्न गाह्रो छ । पूर्वीय दर्शनका पहिला पत्रकार नारदजी हुन् । महाभारत युद्धको प्रत्यक्ष प्रशारण गर्ने अर्का पात्र सञ्जय हुन् । आफ्नो समयका समाचारलाई मसलेदार बनाउन पौराणिक पात्रहरूले देखाएको क्रियाशीलताले घटनालाई अतिरञ्जित बनाउने गरेका थिए ।
अहिले के हुँदै छ त ? अहिले पनि दुनियाँमा सत्य समाचार र जानकारी भन्दा भ्रामक र सनसनीपूर्ण मसला बढी विक्री हुन्छन् । अहिलेको अवस्थासम्म आइपुग्दा नेपाली समाचार संस्थाहरू धेरै नै स्वार्थप्रेरित भए । तिनले कसलाई उचाल्ने र चोख्याउने भनेर एक हातमा बुके र सुनपानी बोकेर बसे । अर्को हातमा चाहिँ मन नपरेकालाई खुइल्याउनका लागि भुक्लुक्क उम्लिएको तातोपानी । नेपाली राजनीति र पत्रकारिताभित्रका यस्ता अनेक विकृतिलाई उपन्यासले छताछुल्ल पारेको छ ।
उपन्यासको मूल पात्र सिद्धार्थ गौतम एक यस्तो पात्र हो जसले अर्कै पत्रकारलाई आफू हुँ भनी नीलगिरि नामक पत्रिकामा जागिर खाएको छ । अर्थात् लोकेन्द्र थापा जसले कठोर सङ्घर्ष र गहन अध्ययन गरी राजनीति, समाज र पत्रकारिताको सेवा गरेर एउटा उचाइ प्राप्त गरेको थियो । आफूले आदर्श ठानेको सिद्धान्त, आफूले मार्गदर्शक ठानेका नेता र आफूले सच्चा ठानेको परिवेश जब जघन्य अपराध, गुन्डागर्दी र राष्ट्रघातको मतियार हुन्छ तब लोकेन्द्र थापा प्रवृत्तिका मानिस पलायन र गुमनाम हुन्छन् ।
कि त मानसिक रूपमा विक्षिप्त र अवसादग्रस्त बन्छन् । लोकेन्द्र थापाको छायाचरित्रमा उभिएको सिद्धार्थ गौतम यस्तै एक पीडित र हतप्रभ पात्रका रूपमा देखापरेको छ ।
विभिन्न एकतीस अध्यायमा रचित यस उपन्यासको मूल विषयवस्तु नेपाली राजनीति र सञ्चारमाध्यमहरूको गन्धे हर्कतको वरिपरि घुम्छ । वि.सं २०१७ पुस १ गते महेन्द्रले बहुदलीय व्यवस्थाको निलम्बन गरी दलहरूमाथि प्रतिबन्ध लगाए ।
हुर्कँदै गरेको नेपाली पत्रकारिताको जग त्यस परिघटनाले भत्किएको थियो । समाचार र पत्रपत्रिकामाथि सेनाको प्रत्यक्ष नियन्त्रण हुन पुग्यो । दरबारलाई सहयोग र समर्थन नगर्ने पत्रपत्रिकाको सरकारी अनुदान रोक्का भयो । पत्रिकाका समाचार कक्ष र स्वतन्त्र पत्रकारिताको छाती सेनाका बुटले किचिमिची भयो ।
आफ्ना स्वर्गवासी बाको सिको गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले पनि विं सं २०६१ माघ १९ गते शाही घोषणामार्फत प्रम शेरवहादुर देउवालाई अपदस्त गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । तत्पश्चात् सेना विभिन्न सञ्चारगृहमा पुगी सञ्चारउपकरण लुटी समाचारहरूमाथि सेन्सरसिप लगाएको थियो । सम्पादकको भूमिकामा सेनाका अधिकृत उभिएका थिए ।
यी दुवै कालखण्डमा नागरिक सम्प्रभुतामाथिको प्रहारलाई धेरै सञ्चारगृहले प्रतिरोध गर्न सकेका थिएनन् । बरू लुब्ध बिरालाको शैलीमा म्याउँ गर्दै निरङ्कुश सत्ताको टाँङमुनि आफ्नो पुच्छर लुकाएका थिए । उपन्यासमा नारायण ढकालले नीलगिरि नामक पत्रिकामार्फत नेपाली पत्रकारिताको दूषित चरित्रलाई उदाङ्गो पारेका छन् ।
नारायण ढकालको व्यक्तित्वका प्रमुख तीन पाटा छन् । राजनीति, पत्रकारिता र साहित्य । आफ्नै दलको उन्मादमा खासगरी केपी ओलीको लहड र सनकमा (भित्री कुरा अरू पनि हुन सक्लान्) महाकाली सन्धिको घनघोर राष्ट्रघातपछि नारायण ढकाल जस्ता सच्चा राजनीतिज्ञ राजनीतिबाट टाढिएका हुन् ।
यसरी जानाजान जनघात र आफ्नो मुलुकमाथि जननीघात भएपछि उनको ध्यान राजनीतिको बाटोबाट पन्छिएर पत्रकारिता र साहित्य सिर्जनामा एकाग्र भएको पाइन्छ । विशेषगरी एमालेको राजनीतिमा सुरुदेखि नै करेक्सन गर्न खोज्ने हरेक व्यक्ति किनाराकृत हुँदै गएका दर्जनौँ उदाहरण छन् ।
पछि त यतिसम्म हुनथाल्यो कि कम्युनिस्टहरू मुलायम, भुवादार र तिलस्मी सपनाको खेतीमा व्यस्त भए । ओठमा क्रान्ति आँतमा भोगविलास । भनाइमा राष्ट्रप्रेम गराइमा राष्ट्रघात । सत्ताका लागि जे गर्न पनि पछि नपर्ने सिद्धान्त विकास भयो । भ्रष्टाचार र सत्ताको नसामा कम्युनिस्ट लगायतका प्रायः सबै दल चुलुम्म डुबे । कम्युनिस्ट शब्दको हुर्मत भयो । दुःखद् के भयो भने पत्रकारिताकाका दोकान पनि बिकाउ र निकम्मा भए । धेरैले प्रेस र पत्रकारको खोल ओढेर लुटधन्दा र यस्तै पार्टीको भजनकारितामा आफ्नो कलमको दुरुपयोग गरे ।
उपन्यासमा एउटा घटना यस्तो छ– नीलगिरि पत्रिकाको एक पत्रकार विजय ओझालाई सेनाले गिरफ्तार गर्छ तर पत्रिकाले केही दुःख मनाउ गर्दैन । आफ्नै कार्यालयको द्वारपाल कविराज मादेन र नजिकैको भट्टी पसले पासादाइ जस्ता निम्न वर्गीय जनतालाई सेनाले लगेर चरम यातना दिँदा पनि पत्रिकाले अनदेखा गर्छ । सत्ता र सेनाको चाकडीमा भने पत्रिकाले बेलाबेलामा विज्ञप्ति निकाल्छ ।
सम्पादक महेन्द्र श्रेष्ठ पत्रकारिताका नाममा हुने चाटुकारिताको बिम्ब बनेको छ । लोकेन्द्र थापा जो अर्काको छदम नाममा पेट पाल्ने प्रयोजन बोकी पत्रकारितामा छिरेको छ । समाजले उसलाई विद्वान् ठान्छ । आदर्श र नमुनायोग्य पात्र ठान्छ तर उसले आफ्नो कार्यालयमा ‘आदर्श अभागी’ को उपमा पनि पाएको छ । बाहिर प्रकाण्ड मार्क्सवादी देखिए पनि ऊ घरीघरी भाग्यवाद, ईश्वर र ज्योतिषी शास्त्रमा हराउँछ । उपन्यासमा उसले देखाउने आत्मस्वीकृति भने स्मरणयोग्य छ । उसले धेरै ठाउँमा इमान्दार देखिने प्रयास पनि गरेको छ ।
उपन्यासमा चाप्लुसी, प्रतिगामी र जडसूत्रवादी प्रवृत्ति बोकेका पात्रहरूको लस्कर छ । सम्पादक महेन्द्र श्रेष्ठ, उसकी श्रीमती लक्ष्मी श्रेष्ठ (जो कला निर्देशकको पगरी गुथेर बसेकी छे) । कुमार रिजाल, निशा पाठक, विद्या शर्मा, रबर्ट क्षेत्री प्रवृत्तिका पत्रकार अहिले पनि धेरै सञ्चारगृहतिर भेटिन्छन् । निशा पाठक नामक एक यस्ती पात्र हो, जसले पत्रिकाका सहकर्मीलाई आफ्नो ‘डिभोर्स पार्टी’ खुवाउँछे ।
बाउआमाका पाँच छोरीपछि जन्मिएको श्याम गोतामे आफूलाई इच्छा नहुँदानहुँदै पनि बाउको इच्छा पूरा गर्न पत्रकारिता गर्छ । विकास खनाल अनेक करुण कथा कथेर साथीहरूसित पैसा धुतेर रक्सी खान्छ । आफू अविवाहित छ तर थाहा नपाएका मानिसलाई अस्पतालमा छोरो सिकिस्त बिरामी छ भनेर रुन्चे अभिनय गरी पैसा झारेर रक्सी खान्छ ।
विद्या शर्मा एक त्यस्ती बोल्ड र साहसी पात्र देखिन्छे जसले अविवाहित आमा बन्ने हिम्मत गरेकी छ । बाउ ठेगान नभएको बच्चालाई जन्म दिएर यो समाजमा जिउने हिम्मत गर्नु आफैँमा एक खतरनाक भोगाइ हो । हेर्दा बोल्ड देखिने यो पात्र पनि हाम्रो पत्रकारिताको एक बिम्ब बन्न पुगेकी छे । कविर शम्शेर जवरा पत्रिकालाई नियन्त्रण गर्न खटिएको एक सैनिक अधिकारी हो । जसको घरमा श्रीमती हुँदाहुँदै धादिङमा प्रेमिका भेट्न जाने क्रममा माओवादीले हत्या गर्छ ।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पत्रकारितामाथि भएको बर्बरताको सग्लो चित्र यस उपन्यासमा देखा परेको छ । ‘युटोपिया’को परिकल्पना गर्दागर्दै ‘डिस्टोपिया’मा पुगेका पात्र छन् यहाँ । त्यतिखेर राजनीतिले हाम्रो सपना खण्डित पारेको थियो । कुत्सित आदर्शको छायामा दूषित भविष्य नै हाम्रो नियति बन्न पुगेको थियो । दुर्भाग्य के थियो भने एक ढिका भई प्रतिरोधमा उभिनु पर्ने पत्रकारिता जगत शक्तिकै प्रार्थना र प्रदक्षिणामा व्यस्त रहेको थियो ।
स्वतन्त्रता भनी भनी स्वतन्त्रताको हत्या गर्ने अनि प्रजातन्त्र भनी भनी प्रजातन्त्रकै गला निमोठ्ने व्यवस्थालाई आफ्नो कलममार्फत मलजल गर्ने अनेक पात्र उपन्यासमा खडा गरिएका छन् ।
लोकेन्द्र थापाको जीवनमा पासा पल्टिन लागेको हुन्छ । जे भए पनि लोकेन्द्र थापाको एउटा कद छ शहरमा । दरबारले मन्त्रीको अफर गरी पदासीन गराउन खोज्दा उसले म लोकेन्द्र थापा होइन, सिद्धार्थ गौतम हुँ भनी सत्य बोल्न खोज्छ । यही सत्य उसलाई आफैँले ओछ्याएको इन्द्रजाल जस्तो बन्न पुग्छ । उसलाई दिमाग सडकिएको ठानी पागलखानामा लगेर कोचिन्छ ।
पात्र संयोजन जस्तै जगज्जननीको कथावस्तु बढो रोचक छ । यसको भाषाशैली बढो सुन्दर छ । ठाउँठाउँमा कोमल काव्यात्मक अभिव्यक्ति छ । लोकेन्द्र थापा सिद्धार्थ गौतम हो कि सिद्धार्थ गौतम लोकेन्द्र थापा हो ? उपन्यासको अन्तिम खण्डले भन्छ लोकेन्द्र थापाकी आमाको नाम जगज्जननी होइन । त्यसो भए जगज्जननी कसकी आमाको नाम हो ?
जम्माजम्मी २८६ पृष्ठको यस उपन्यासमा वैश्विक दृष्टिकोणका केही उम्दा उदाहरण पनि छन् । विभिन्न भाषाका लेखक, चिन्तक र सर्जका कृति र तिनका सूक्तिमय दृष्टान्तले किताब थप रोचक बनेको छ ।
अन्त्यतिर एउटा मार्मिक सन्दर्भको स्मरण गरौँ । सङ्कटग्रस्त समय छ । अपुष्ट आरोपमा वा अन्य कुनै प्रयोजनका लागि सेनाले कसैलाई पक्रेको छ । आँखामा पट्टी बाँधेर लगेको छ । इरादा र स्थान अज्ञात छ । आफू मारिन सक्ने कल्पनाले काँपेको पात्रले अन्तिम समयमा स्मरण गर्ने व्यक्ति को हुन सक्छ ? बोल्ने शब्द के हुन सक्छ ? वा विचारका तन्तुहरूले लगातार घोचिरहेको उसको दिमागी हाल कति बेहाल हुन सक्छ ?
हो उसले त्यही बेला जगज्जननीलाई सम्झिन्छ, आफ्नी आमालाई सम्झिन्छ :
हे जगज्जननी ! तिमी नै भन अब मेरो भविष्य के हुन्छ ?
यो एक प्रार्थना हो तिम्रो चरणकमलमा
म सबै प्रकारका यातना खप्न तयार छु तर मारिन तयार छैन ।
म लोकेन्द्र थापाको परिचयमा मर्न चाहन्न
म आफू भएर बाँचन चाहन्छु
म एउटा सग्लो सिद्धार्थ गौतम भएर बाँच्न चाहन्छु ।
दरबार, प्रेस र राजनीतिको माखेसाङ्लोमा जेलिएको यो उपन्यास हामीले बाँचेको युगको एउटा सग्लो चित्र हो ।
प्रतिक्रिया 4