+
+
Shares

गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेको आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त प्रारम्भ गर्न सरकारसँग माग गरेको छ।
  • कांग्रेसले आरोपहरूको ढाकछोप भए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताउँदै छानबिनमा ढिलासुस्ती वा प्रभाव नपुग्न आग्रह गरेको छ।
  • कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने र अनुसन्धानलाई प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ ।

‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।’

पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ ।

‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?