News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्टसँगको साझेदारीबारे सरकारसँग तत्काल स्पष्टता माग गरेका छन्।
- गृहमन्त्री गुरुङले स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भएको विषयमा सरकार र सत्तारुढ पार्टी नेतृत्वसँग स्पष्ट पार्नुपर्ने उनले बताए।
- उनले अनधिकृत रुपमा सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको आरोप लगाउँदै सरकारको आलोचना गरे।
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् ।
भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भइरहेका बेला उनले सोबारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग माग गरेका हुन् ।
सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने जिकिर गरे ।
‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ,’ उनले भने ।
स्टन्टको भरमा देश नचल्ने भन्दै उनले सरकारको आलोचना समेत गरे । अध्यक्ष लिङ्देनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
‘मैले अस्ति भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाइसेन्स नवीकरण गर्न गएको थिए । लाइसेन्स पाइनँ तर बाँढिराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।’
प्रतिक्रिया 4