News Summary
Generated by OK AI. Editorially reviewed.- कुमार गजुरेलको डेब्यू निर्देशनमा कथानक फिल्म ‘सारथी’ निर्माण हुने भएको छ र यसको शुभसाइत पूजा भद्रकाली मन्दिरमा गरिएको छ।
- फिल्मको छायांकन म्याग्दीको गुर्जा खानी गाउँमा लगभग ४० दिनसम्म चल्नेछ र कलाकार उत्तम प्रधान वैशाख १५ गते छायांकनमा सहभागी हुनेछन्।
- दृश्य सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् र फिल्ममा निरुता सिंह र उत्तम प्रधानको जोडी करिब दुई दशकपछि पुनः देखिनेछ।
काठमाडौं । कुमार गजुरेलको डेब्यू निर्देशनमा कथानक फिल्म ‘सारथी’ निर्माण हुने भएको छ । सोमबार यो फिल्मको भद्रकाली मन्दिरमा शुभसाइत पूजा गरियो ।
लगत्तै छायांकनको लागि फिल्मको टोली म्याग्दीको गुर्जा खानी गाउँतर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमालको काखमा अवस्थित उक्त गाउँ आसपासमा झन्डै ४० दिनसम्म छायांकन चल्नेछ ।
यो फिल्मबाट दृश्य सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन् । ३ दशकसम्म दृश्य सम्पादनमा सक्रिय उनी दर्शकलाई उत्कृष्ट कथा पस्किने उद्देश्यले निर्माणमा होमिएको बताउँछन् ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ ।
जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ । अभिनेत्री सिंह शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् । प्रधान भने वैशाख १५ गते भारतबाट नेपाल आएर छायांकनमा जोडिने तयारीमा छन् ।
शुभमुहूर्त कार्यक्रममा फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी, मञ्जुनाथ श्रेष्ठ, छन्त्याल संघका सल्लाहकार दीपबहादुर छन्त्याल अतिथिको रूपमा सहभागी थिए ।
फिल्ममा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा पनि निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी छन् ।
प्रतिक्रिया 4