News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न कडाइ गरेकोमा नेपाल चिनी उद्योग संघले आभार व्यक्त गरेको छ।
- नेपाल चिनी उद्योग संघले सरकारी कदमले स्वदेशी उद्योग र उखु किसानलाई ठूलो राहत मिलेको उल्लेख गरेको छ।
- संघले सिमानामा निगरानी निरन्तरता दिए मात्र स्वदेशी कृषि उपज र उद्योगको पुनरुत्थान सम्भव हुने बताएको छ।
८ वैशाख, काठमाडौं । नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न सरकारले देखाएको कडाइप्रति स्वदेशी चिनी उद्योगीहरूले आभार व्यक्त गरेका छन्।
नेपाल चिनी उद्योग संघले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी कदमले धराशायी हुन लागेको स्वदेशी उद्योग र उखु किसानलाई ठूलो राहत मिलेको बताएको छ ।
संघका अनुसार लामो समयदेखि खुला सिमानाबाट भन्सार छलेर भित्रिने सस्तो चिनीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको थिएन । जसले गर्दा उद्योगहरूमा आर्थिक तरलताको गम्भीर संकट उत्पन्न भएको थियो ।
‘उत्पादन भएको चिनी बिक्री नहुँदा उद्योगहरू रुग्ण बन्दै गएका थिए र उखु किसानलाई समयमै भुक्तानी दिन नसक्ने अवस्था थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘सरकारी कडाइले यो चक्र तोड्न मद्दत पुगेको छ ।’
सरकारले सिमा नाकामा निगरानी बढाएपछि स्वदेशी चिनीको बिक्री वितरण सहज हुने संघको विश्वास छ । ‘यसले उद्योगहरूलाई आर्थिक रूपमा सबल बनाउनेछ, जसबाट हामीले उखु किसानको भुक्तानी समयमै गर्न सक्छौं,’ संघले भनेको छ, ‘किसानले पैसा पाएपछि बैंकको साँवा ब्याज तिर्न पनि सहज हुनेछ ।’
यो कदमले उद्योग, रोजगारी र सरकारी राजस्व सबै पक्षलाई फाइदा पुग्ने उद्योगीहरूको भनाइ छ । संघका अनुसार हाल स्वदेशमा १३ वटा चिनी उद्योग सञ्चालनमा छन्, जसमा करिब ६० हजार किसान परिवार आश्रित छन् । उखु रोप्ने, काट्ने, ढुवानी गर्ने जस्ता काममा दैनिक ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सरकारको हालको कदमको प्रशंसा गर्दै संघले यो नीतिलाई दीर्घकालीन र निरन्तरता दिन आग्रह गरेको छ। ‘सिमानामा हुने कडाइ क्षणिक हुनुहुँदै, यसलाई निरन्तरता दिए मात्र स्वदेशी कृषि उपज र उद्योगको पुनरुत्थान सम्भव छ,’ विज्ञप्तिमा छ । संघले ‘पहिले स्वदेशी उत्पादन’ अभियानलाई सार्थक बनाउन सबै उपभोक्ता र सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया 4