+
+
WC Series
Nepal
50/0 (5.3)
VS
८७ बलमा ७९ रन आवश्यक
UAE
128/8 (20)
Shares

झुन्डिएको अवस्थामा प्रहरी थुनुवा कक्षबाट उद्धार गरिएका युवकको मृत्यु

कपिल कोइराला कपिल कोइराला
२०८३ वैशाख ८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका २२ वर्षीय श्रीकृष्ण बिकको उपचारका क्रममा मृत्यु भएको छ।
  • बिकलाई थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला पारेर अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
  • मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन माग गर्दै समिति गठन गरिएको छ र शव पोस्टमार्टमका लागि राखिएको छ।

८ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका एक युवकको मृत्यु भएको छ । थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिकको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

थुनुवा कक्षको भेन्टिलेसनमा आफैं लगाएको सर्टको पासो लगाएर झुन्डिएका बिकलाई तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याइएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । घटनाका बेला थुनुवा कक्षमा बिक एक्लै थिए ।

मृतक बिक काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत थिए । उनले खोटाङकी एक १६ वर्षीया युवतीसँग गत २८ चैतमा प्रेम विवाह गरेका थिए । विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा ललितपुरको सातदोबाटो प्रहरीमा उजुरी दिएका थिए । ललितपुरको सातदोबाटो प्रहरीले थप अनुसंधानका लागि ३ वैशाखमा उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट पठाएको थियो ।

आत्महत्या पछि मृतकका आफन्त तथा स्थानीयवासी इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएर घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।

उनीहरूको माग अनुसार नै घटनाबारे थप अनुसंधानका लागि मृतकका आफन्त सहितको सहभागितामा सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा प्रहरी प्रवक्ता, स्थानीय वडा अध्यक्ष लगायतको समिति बनेको जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

मृतकको शव हाल पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?