News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दिब्यदेवलाई फिल्म 'बा : एक योद्धा'को शीर्ष भूमिकामा देखिने भएको छ।
- निर्देशक हरि लम्सालले यो फिल्मको कथा, पटकथा तयार पारेका छन् र यो उनको पहिलो निर्देशन प्रोजेक्ट हो।
- फिल्मले एक पिताको त्याग र संघर्षको मार्मिक कथा समेट्ने प्रयास गरेको छ।
काठमाडौं । दर्शकले अभिनेता दिब्यदेवलाई ‘बा : एक योद्धा’को शीर्ष भूमिकामा देख्न पाउने भएका छन् । छायांकन सकिँदै लाग्दा निर्माताले शीर्ष पुरुष पात्रको कास्टिङबारे जानकारी दिएका हुन् ।
लिड-मेल कलाकारलाई गुपचुपमा राख्दै निर्माता धमाधम छायांकन गरिरहेका थिए । महिला पात्रतर्फ यसअघि झरना थापा र सुहाना थापालाई चिनाइएको थियो ।
वास्तविक जीवनका यी दुई आमाछोरीलाई पर्दामा पनि आमाछोरीको रोलमा देख्न पाइनेछ । यसअघि छायांकन सेटबाट झरना र सुहानाको तस्वीर सार्वजनिक भैसकेको छ । दिब्यदेवको भूमिकाबारे खुलाइएको छैन । यद्यपि, उनी शीर्ष भूमिकामा हुनसक्ने अनुमान छ ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत कम्पोज गरिसकेका हरि लम्साल यो फिल्मका निर्देशक हुन् । यो उनको पहिलो निर्देशकीय प्रोजेक्ट हो । संगीत र गायनमा स्थापित लम्सालले यो फिल्मको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् । लामो समयको सांगीतिक यात्रापछि उनी सामाजिक कथा बोकेर फिल्म निर्देशनमा होमिएका हुन् ।
यो फिल्मले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ । यसले एक पिताको कथा भन्छ, जसले सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चित्रण गर्छ ।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भइरहेको यो फिल्मका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका वसन्तले यसअघि विपिन कार्कीको मुख्य भूमिका रहेको कथानक फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।
प्रतिक्रिया 4