+
+
Shares

माइतीघरबाट महतो दम्पतीको आर्तनाद

निशान मैनालीको परिवारमाथि मिटरब्याजको आरोप

भाइरल कन्टेन्ट क्रियटर निशान मैनालीको परिवारमाथि छिमेकीलाई दिएको डेढ लाख ऋणमा १० कठ्ठा जमिन, लाखौं रकम असुली र मानसिक सास्ती दिएको आरोप लागेको छ । ऋणी दम्पती अहिले माइतीघर मण्डलामा धर्ना दिइरहेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख ९ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीका भागनारायण महतो र उनकी पत्नी उमाकुमारीलाई निशान मैनालीको परिवारले ऋणको बहानामा जग्गा दृष्टिबन्धक गरी कब्जा गरेको छ।
  • महतो परिवारले २०७४ देखि २०७९ सम्म निशान परिवारलाई ६५ लाख रुपैयाँभन्दा बढी तिरे पनि न्याय नपाएको भन्दै माइतीघर मण्डलामा धर्ना बसेका छन्।
  • निशान मैनालीले आरोप निराधार भन्दै अदालतबाट मुद्दा जितिसकेको र जग्गा आफ्नो परिवारको भएको बताएका छन्।

९ वैशाख, काठमाडौं । सर्लाहीकाे बरहथवाका भागनारायण महतो बहराइनमा पार्किङमा गाडी पुछ्थे । बिहान उठ्ने, ब्रस र डब्बा लिने, चर्को घाममै खटिएर गाडी पुछ्ने उनको दैनिकी थियो ।

ड्रागन सिटी भन्ने एउटा ठूलो मल थियो, जहाँ साउदी अरेबिया, कतार, ओमान, दुबईलगायत पाँच देशका ग्राहक किनमेल गर्न आउँथे । त्यही मलको पार्किङमा आउने गाडी पुछ्ने काम नै महतोको थियो ।

तलब ७८ बहराइनको बिडी (करिब ३१ हजार नेपाली रुपैयाँ) मात्र थियो । ग्राहक खुसी भए टिप्स थपिदिन्थे । ईद र रमजानको महिनामा त १५० बिडीसम्म टिप्स आउँथ्यो । तलब र टिप्स जोड्दा महिनाको केही पैसा बच्थ्यो, जुन सप्तरीमा रहेकी श्रीमती उमाकुमारी देवी महतोलाई पठाउँथे ।

महतो परिवारको साढे चार वर्ष यसरी नै बित्यो । घरमा के चलिरहेको छ ? बहराइनमा रहेका महतोलाई अत्तोपत्तो थिएन ।

२०७२ सालको कुरा हो– उमालाई केही पैसाको खाँचो पर्‍यो । त्यसैले छिमेकी निशान मैनाली (कन्टेन्ट क्रियटर)की आमाले डेढ लाख रुपैयाँ ब्याजमा दिइन् । उमाले छिमेकीको सहजै विश्वास गरिन् ।

त्यही ऋण महतो परिवारका लागि आर्थिक जालो बन्यो । छिमेकीको त्यो ऋणजालमा चुर्लुम्म डुब्न महतो परिवारलाई धेरै समय लागेन । उमाले जब साउँ ब्याजको हिसाब सुनिन्, त्यसपछि मात्रै आफू फसिसकेको थाहा पाइन् ।

त्यो ऋण लिनुअघि निशानसहित उनको परिवार र उमाबीच विश्वासको वातावरण थियो । ऋण लिएपछि उमाले पटक–पटक १५/१५ हजारका दरले पैसा फर्काइरहिन् । तर, निरक्षर उमालाई आफूले हस्ताक्षर गरेको कागजमा के लेखेको छ भन्ने भेउसम्म पाएकी थिइनन् । विश्वासिलो छिमेकीसँग लिएको ऋणका लागि अरू साक्षी खोज्न उनले जरुरी ठानिनन् । निशानले जहाँ भने त्यहाँ सहीछाप लगाइन् । तर, डेढ लाख रुपैयाँ लिएको चार दिन नपुग्दै १० लाखको तमसुक बनेको उनलाई धेरैपछि थाहा भयो ।

स्मरण रहोस्, निशान मैनाली तीनै व्यक्ति हुन्, जो जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा चर्चामा आए । पछि कन्टेन्ट क्रियटरको छवि पनि बनाए । हुँदा हुँदा पछिल्लो चुनावमा चर्चित उम्मेदवारका लागि भोट माग्न सामाजिक सञ्जालमा क्याम्पेन नै चलाए ।

जग्गा दृष्टिबन्धकको बहानामा नामसारी  

२०७४ मा आइपुग्दा उमाले दाइको नामबाट १० कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गरिन् । त्यो जग्गा भाग नारायणको वर्षौंको मेहनतले किनिएको थियो । त्यो उमाका दाइले नै किनेर आफ्नो नाममा राखेका थिए । पछि बहिनीको नाममा नामसारी गरिदिए ।

त्यो कुरा ऋण दिएको निशानको परिवारले थाहा पायो । त्यसपछि ऋणबापत त्यो जग्गा ‘दृष्टिबन्धक’ राखिदिन माग गर्‍यो । उमाले ऋण लिएकाले दृष्टिबन्धक राख्न अन्यथा सोचिनन् ।

निशानले नै उमालाई आफ्नै साइकलमा राखेर वडा कार्यालय लगे । चार किल्ला सिफारिस गराए । आफ्नै साइकलमा राखेर मालपोत कार्यालय लगे । दृष्टिबन्धक भनेर निशानले त्यो जग्गा उमाको नामबाट आफ्नी आमाको नाममा पास गराए । उमाको नाममा आएको जग्गाको चारै दिनमा निशानकी आमाको नाममा लालपुर्जा बनिसकेको थियो । निरक्षर उमाले त्यो कुरा पनि त्यो बेला पत्तै पाइनन् ।

निशान र उनको परिवारले भने उमालाई जग्गा दृष्टिबन्धन मात्रै रहेको भन्दै पैसा मागिरहे ।  जग्गा फिर्ता चाहिए थप पैसा दिन भनिरहे । ‘सबै ऋण–ब्याज सक्नुपर्छ, तब मात्रै जग्गा फिर्ता पाइन्छ भन्ने आयो । किस्ता–किस्तामा पैसा दिँदै गयौं,’ उमाले भनिन् ।

महतो परिवार निशान परिवारको मिटर ब्याजको चक्रमा नराम्ररी फसिसकेको थियो । तमसुकमा राखेको १० लाख ऋण तिर्न सकिने अवस्था थिएन । बहराइनबाट भागनारायणले जे जति पठाउँथे, उमा सबै लगेर निशानकै घरमा बुझाउँथिन् । नपुगेपछि अन्य गाउलेसँग ऋण मागेर पनि दिन थालिन् ।

त्यसरी ऋण मागेर दिँदादिँदा गाउँलेसँग पनि थप २५ लाख ऋण लागेको उमाले बताइन् । ‘त्यतिले नपुगेपछि भएका अरू जग्गा बेचेर पनि दिएँ । पैसा तिरेर कतै सकिएन,’ भागनारायणले अनलाइनखबरसँग भने, ‘उता आफ्नो जग्गा पनि फुत्किसकेको थियो । यो सिलसिला २०७४ देखि २०७९ सालसम्म चल्यो ।’ सबै जोड्दा निशानको परिवारलाई दिँदादिँदा ६५ लाख रुपैयाँभन्दा बढी सकिएको र १० कठ्ठा जमिन पनि गएको उनले बताए ।

‘बैंकमा ऋण लिन खोज्दा जग्गा अर्कैका नाममा’

२०७९ मा छोरीको बिहे गर्ने समय आएपछि मात्रै दृष्टिबन्धक राखेको भनिएको जग्गा निशानले आफ्नी आमाको नाममा दर्ता गरिसकेको खुलेको भाग नारायणको दाबी छ । ‘जग्गा धितो राखेर बैंकबाट ऋण निकाल्ने खोज्यौं । बल्ल थाहा पायौं–जग्गा त अर्काको नाममा गइसकेछ,’ उनले भने । त्यो बेला पनि भागनारायण बहराइनमै थिए । ‘घरबाट फोन आयो । श्रीमतीले रुँदै घटना सुनाएपछि म छाँगाबाट खसेजस्तो भएँ । यता उनी डिप्रेसनमा गइसकेकी रहेछन्,’ उनले अगाडि भने ।

त्यसपछि बल्ल उनीहरूले निशानको परिवारविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिए । उनीहरूले उजुरी हालेको थाहा पाएपछि निशानको परिवारले उल्टो मुद्दा हालेको भागनारायणले बताए । निशानको परिवारले आफ्नो स्वामित्वमा रहेको जग्गामा महतो परिवारले जबरजस्ती भोगचलन गरिरहेको भन्दै मुद्दा हालेको उनको भनाइ छ ।

‘उनीहरूले झुक्काएर आफ्नो नाममा जग्गा पास गराएपनि भोगचलन हाम्रै थियो । हामीलाई हाम्रै जग्गामा दृष्टिबन्धक गरेको मात्रै थाहा थियो । उनीहरूले छाड्न पनि भनेका थिएनन्,’ भागनारायणले भने ।

महतो परिवारको उजुरीले काम गरेन । सिडिओ कार्यालयले निशानकी आमालाई सफाइ पत्र दिएको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको निर्णय

गाउँलेले भने आफ्नो परिवारलाई नै साथ दिएको भागनारायण बताउँछन् । ‘दुई वर्षसम्म सबैले साथ दिएर खेत जोतिदिए, रोपाइँ गरिदिए, धान काटेर घरमा राखिदिए,’ भाग नारायणले अनुभव सुनाए, ‘प्रहरी आलीमा उभिन्थ्यो, तर खेत जोत्न हामीलाई रोक्न सकेन । गाउँको मान्छेलाई यति ठूलो अन्याय भयो भनेर सबैले साथ दिएका थिए ।’ अहिले भोगचलन गर्न पनि दुवै पक्षलाई अदालतले रोक्का गरिदिएको भागनारायणले बताए ।

फेरि काठमाडौं

यसरी पत्तै नपाइ पीडित बनेको महतो परिवार न्यायका लागि अहिले काठमाडौं पुगेको छ । बुधबार महतो दम्पती माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

उनीहरू न्यायका लागि काठमाडौं पुगेको यो पहिलो पटक भने होइन, यसअघि मिटरब्याज पीडित काठमाडौंकेन्द्रित आन्दोलनमा आउँदा उनीहरूसँगै सप्तरीबाट पैदल हिँडेरै भागनारायण र उमा काठमाडौं पुगेका थिए ।

‘त्यो बेला प्रधानमन्त्री(तत्कालीन) प्रचण्डलाई बालुवाटारमा भेटेका थियौं । खाजा खुवाएर न्याय दिन्छु भन्नुभएको थियो । तर दिनुभएन,’ भागनारायणले भने ।

अर्कोपटक फेरि काठमाडौं आएर भृकुटीमण्डपमा धर्नामा बसे । रवि लामिछाने गृहमन्त्री भएका बेला सम्झौता गराएर घर पठाइयो । तर, महतो परिवारले फेरि न्याय पाएन ।

‘एकपटक सिडिओ कार्यालयमा धर्नाको क्रममा मारपिट भयो, टाउको फुट्यो,’ भागनारायणले भने, ‘पटक–पटक भरोसा ग‍र्यौं, पटक–पटक धोका खायौं ।’ यसपटक भने न्याय नपाएसम्म घर नफर्किने उमाले बताइन् । ‘यसपटक छाड्दै–छाड्दैनौं । न्याय नलिई जाँदैनौँ’, उनले भनिन् ।

यसपटक उनीहरू काठमाडौं पुगेको पनि १९ दिन भइसकेको छ । केहीदिन सिंहदरबार धाए । कानुनमन्त्री सोविता गौतमलाई भेट गरे, गृहमन्त्री सुधन गुरुङलाई त चारदिन लगाएरै भेटे ।

भेटमा गृहमन्त्री गुरुङले इन्टरपोलमार्फत भएपनि कारबाही गराउँछु भनेर आश्वासन दिएको भागनारायणले बताए । निशान अहिले विदेशमा छन् । सचिवालय सदस्य जेम्स कार्कीले त भिडियो कल नै गरेर निशान मैनाली देखाएको उनी बताउँछन् । ‘मलाई देखाउँदै यो को हो, चिन्नुहुन्छ ? भनेर सोध्नुभयो । त्यति  भनेपछि निशानले कलेजमा छु, पछि कुरा गर्छु भनेर भिडियो कल काटिदियो,’ उनले भने ।

महतो परिवारको गुनासो एउटै छ– अदालत आफ्नो विरुद्ध मुद्दा छ । वकिल लगाएर लड्न पैसा छैन । निशानको परिवार बलियो र शक्तिशाली छ ।

सिंहदबारपछि माइतीघर

सिंहदरबारले आश्वस्त पार्न नसकेपछि महतो परिवार माइतीघर पुगेको हो । मंगलबार माइतीघर पुग्दा अनुमति नलिएको भन्दै प्रहरीले फर्काइदियो । बुधबार पनि अरू कसैले प्रशासनबाट अनुमति लिइदिने आश्वासन पाएपछि माइतीघर पुगेर, ब्यानर टाँगेर धर्नामा बसेको भागनारायणले बताए ।

माइतीघरमा धर्ना बसेका महतो दम्पती

‘बहराइन, साउदी र मलेसिया बसेर कमाएको सबै सम्पत्ति गएको छ । अहिले हामीलाई परिवार धान्नै गाह्रो छ,’ भागनारायणले भने, ‘कानुनी रूपमा उनीहरू बलियो होलान् । तर, २०७४ देखि २०७९ सालसम्मको सबै घटनाक्रम छानबिन गरे सत्य तथ्य पत्ता लाग्छ । सरकारले हाम्रो र निशानको परिवारको सम्पत्ति छानबिन गरेर न्याय देओस् ।’ निशान परिवारको सम्पत्ति छानबिन गरे घटना पूरै प्रस्ट हुने भागनारायणको विश्वास छ ।

निशान भन्छन्- आरोप निराधार, अदालतबाट जितिसक्यौं

उता निशान मैनालीले भने महतो परिवारको आरोप निराधार भनेका छन् । ‘मेरो नाममा कुनै जग्गा पनि छैन । ५०–६० लाख कसैको खाएको पनि छैन । यत्रो खाएको भए अहिले मलाई लगेर पुलिसले कोचिसकेको हुन्थ्यो होला,’ एक भिडियोमा उनले भनेका छन् ।

कन्टेन्ट क्रियटर निशान मैनाली

महतो परिवार गाउँले रहेको बताउँदै उनले कहाँबाट कसले उठाएर ल्याएर आफू विरुद्ध प्रयोग गरेको उनको अर्को आरोप छ । ‘अब म यी बुढाबुढीविरुद्ध मुद्दा हाल्दैछु । कानुनी रूपमा बकाइदा यो जग्गा हाम्रो हो । बाबा विदेशमा रहँदा दुखले किनेको जग्गा हो’, उनले भनेका छन् ।

उनले त्यो जग्गाको मुद्दा आफ्नो परिवारले जितिसकेको पनि बताएका छन् । ‘अदालतबाट मुद्दा पनि जितिसकेको अवस्था छ । कति खेद्छौ ? मेरो अपमान कति गर्छौँ ? गराओ । तर, जसले मसँग प्रमाण माग्नुहुन्छ, सबै प्रमाण पेस गर्न म तयार छु,’ उनले भनेका छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?