+
+
Shares
पूरक प्रतिवाद :

प्राध्यापक मिश्र : जेनजीलाई जरा हामीले दिन सकेनौं

पुरानो पुस्ताको दायित्व जेनजीको विद्रोहलाई ‘जराविहीनता’को प्रमाण भनेर व्याख्या गर्नु होइन। आफ्नो पालामा काटिएको जरालाई नीति, संस्था र इमानदारीले फेरि बनाउन सहयोग गर्नु हो।

भानु पराजुली भानु पराजुली
२०८३ वैशाख १० गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राध्यापक चैतन्य मिश्रको त्रिभागीय आलेखले जेनजी विद्रोहलाई सामाजिक–ऐतिहासिक सन्दर्भमा विश्लेषण गर्दै नेपाली समाजशास्त्रीय लेखनमा नयाँ आयाम थपेको छ।
  • मिश्रले तथ्याङ्कको आधारमा गाउँको रूपान्तरण र पुराना दलको संरचनागत विफलता निर्भीकतासाथ उघारेका छन् र गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक लोकतन्त्र जोगाउन आह्वान गरेका छन्।
  • उनले जेनजीलाई 'जराविहीन' नभई व्यवस्थागत समस्याले जरा काटेको र नयाँ पुस्ताले सामाजिक परिवर्तनका लागि एजेन्टिफिकेसन गरिरहेको स्पष्ट पारेका छन्।

यसै अनलाइनखबरमा तीन भागमा प्रकाशित प्राध्यापक चैतन्य मिश्रको आलेख शृंखला नेपाली समाजशास्त्रीय लेखनमा एउटा दुर्लभ उपलब्धि हो। यस्तो लेखन जसले जेनजीको उदयलाई वैश्विक र नेपाली सन्दर्भमा एकसाथ राखेर विश्लेषण गर्छ, तथ्याङ्कको आधारमा गाउँको रूपान्तरण देखाउँछ, र पुराना दलको संरचनागत विफलतालाई निर्भीकतासाथ उघार्छ भने यस्तो विश्लेषणसहितको नागरिक संवाद नेपाली पत्रकारिता र प्राज्ञिक जगतमा सहजै पाइँदैन।

सर्वप्रथम, प्राध्यापक मिश्रको त्रिभागीय विश्लेषणप्रति कृतज्ञता। यो लेख त्यसैको सेरोफेरोमा रहेर जेनजी विद्रोह र नेपाली समाजलाई बुझ्ने एक इमानदार पहल तथा पूरक संवाद हो।

मिश्र नेपालमा समाजशास्त्रको औपचारिक अध्यापन शुरु गर्ने पहिलो पुस्ताका प्राज्ञ हुन्। उहाँद्वारा लिखित ‘पूँजीवाद र नेपाल’, ‘बदलिंदो नेपाली समाज’, ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तकले नेपाली बौद्धिक परम्परामा आफ्नो स्थान बनाइसकेका छन्। पञ्चायतविरुद्ध लडेका, जनआन्दोलनमा सहभागी भएका त्यस्ता व्यक्तिको लेख शृंखलाले आम नेपाली पाठकलाई विशेष गरी युवा पुस्तालाई आफ्नो समयको सामाजिक–ऐतिहासिक सन्दर्भ बुझ्ने अवसर दिएको छ। यसका लागि उहाँ हार्दिक धन्यवाद र सम्मानका पात्र हुनुहुन्छ।

यो आलेख त्यही संवादको निरन्तरता हो विरोधको होइन, बरु पूरकताको लागि एक आग्रह हो।

१. मिश्रका लेख नियाल्दा

क) पुस्ता जैविक होइन, सामाजिक–ऐतिहासिक हो

मिश्रको सबैभन्दा महत्वपूर्ण योगदान यही हो: जेनजी जस्ता पुस्ताहरू आमाको गर्भले होइन, इतिहासको द्रुत प्रवाहले जन्माउँछ। ‘साइँला’ र ‘काइँला’ जस्ता शब्द हराउँदैछन् किनभने जन्मदर घटेको छ, यो एउटा सानो तर गहन उदाहरण हो। एउटै कोखका दाजुभाइ पनि फरक–फरक सामाजिक पुस्ताका हुनसक्छन् भन्ने विश्लेषणले नेपाली पाठकलाई आफ्नै घरभित्रको अनुभव बुझाउन सक्षम छ।

यो अवधारणाले एउटा गहिरो सत्य उजागर गर्छ। जेनजीको विद्रोह ‘स्वभावत: उद्दण्ड’ पुस्ताको उपज होइन, यो एउटा विशेष ऐतिहासिक क्षणले जन्माएको सामाजिक प्रतिक्रिया हो। यसलाई बुझ्न नसक्नु भनेको इतिहासलाई बुझ्न नसक्नु हो।

ख) तथ्याङ्कको शक्ति: गाउँको मृत्युको वस्तुगत चित्र

प्राध्यापक मिश्रको तेस्रो भागको सबैभन्दा महत्वपूर्ण योगदान भनेको गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक लोकतन्त्रलाई बालेन–रास्वपाले जोगाउनुपर्छ भन्ने आह्वान हो

दोस्रो भागमा प्रस्तुत तथ्याङ्क अमूल्य छन्। कृषिको जीडीपी योगदान ६७ प्रतिशतबाट २५ मा झर्नु, जन्मदर ६.२ बाट १.९ मा आउनु, पहाडका ३३ जिल्लाको जनसंख्या घट्नु, उच्च पहाडमा ४४ प्रतिशत जमिन बाँझो हुनु, तीन–चौथाइ घरधुरी रेमिट्यान्समा निर्भर हुनु र यी संख्याहरूले गाउँको रूपान्तरणलाई भावनात्मक होइन, वस्तुगत रूपमा देखाउँछन्। यस्तो तथ्याङ्क आधारित विश्लेषण नेपाली बौद्धिक लेखनमा दुर्लभ छ।

ग) पुराना दलको पतनको निर्मम विश्लेषण

तेस्रो भागमा मिश्रले पुराना दलको संरचनागत समस्यालाई निर्भीकतासाथ उघारेका छन्। ‘भ्रातृ संगठन’हरूले कसरी नागरिकत्वलाई क्षय गरे, बिचौलियाको संस्कृति कसरी बन्यो, दलीय कार्यकर्ताहरू कसरी ठेकेदार र न्यायपालिकाको नियुक्तिसम्म पुगे। यो विश्लेषण तीखो र साहसी छ। ‘रोबर्ट मिचेल्स’को ‘ओलिगार्की’ सिद्धान्तलाई नेपालको सन्दर्भमा लागू गर्नु एउटा सटिक प्राज्ञिक प्रयोग हो।

घ) तीन उपलब्धि जोगाउने आह्वान

तेस्रो भागको सबैभन्दा महत्वपूर्ण योगदान भनेको गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक लोकतन्त्रलाई बालेन–रास्वपाले जोगाउनुपर्छ भन्ने आह्वान हो। ‘राजा भनेको नेपो–बेबीको उत्कर्ष हो’। यो एउटा पंक्ति मात्रले पूरै दर्शन बोकेको छ। ‘हजुर’, ‘म्याडम’, ‘माननीय’ जस्ता सम्बोधन त्याग्नुपर्छ भन्नु भनेको गहिरो नागरिक चेतनाको प्रतिफल हो। र सबैभन्दा महत्वपूर्ण मिश्रले आफ्नै पुस्ताको पनि आत्म–परीक्षण गर्नुभएको छ, जुन परिपक्व विद्वत्ताको प्रमाण हो।

 २. विषादी र बाँझो माटो: पुरानो पुस्ताको उत्तरदायित्व

मिश्रले उठाएका प्रश्नहरूको केन्द्रमा एउटा अनुत्तरित प्रश्न छ। यो अवस्था किन सिर्जना भयो?

सत्तरी र अस्सीको दशकमा ‘हरित क्रान्ति’को नाममा नेपालका खेतमा रासायनिक मल र विषादी भित्रियो। छोटो समयमा उत्पादन बढ्यो, किसान खुसी भए, कृषि अधिकारीहरूले सफलताको कथा लेखे। तर दशकौंपछि माटोको आफ्नो जीवन सूक्ष्मजीव, केंचुवा, प्राकृतिक उर्वरता सकियो। आज ती खेतमा रासायनिक मल नहाली बाली लाग्दैन।

जेनजीको कथा यस्तै हो। हामीले पुरानो पुस्ताले एउटा ‘विकास’को मोडल ल्यायौं र त्यसलाई समाजको हरेक तहमा विषादी झैं छर्‍यौं। काठमाडौंमा जागिर खोज्नु बराबर सफलता, खाडी जानु बाध्यता तर स्वीकार्यता ठान्यौं। गाउँमा बस्नु पिछडिनु, एसएलसी डिस्टिङ्सन वा पछिल्लो एसईईमा ‘ए प्लस’ नल्याउनु असफलता जस्ता मूल्यबोध बच्चाहरूलाई सिकायौं विद्यालयमा, परिवारमा र समाजको हरेक तहमा यसकै प्रभाव फैलायौं।

त्यो विषादी थियो। छोटो अवधिमा ‘उत्पादन’ बढ्यो। शहरमा जनशक्ति पुग्यो, रेमिट्यान्स आयो, जीडीपी बढ्यो। तर दीर्घकालमा गाउँको सामाजिक माटो बाँझो भयो। अन्तरपुस्तागत सम्बन्ध टुट्यो। परम्परागत ज्ञान मर्‍यो। पहाडका ३३ जिल्लाको जनसंख्या घट्यो। उच्च पहाडको ४४ प्रतिशत जमिन बाँझो भयो। र अन्त्यमा हामीले जेनजीलाई तिम्रा पुस्ताका जरा छैन भन्यौं।

यी सबैका जरा छन्। बस्, त्यो जरा हाम्रो पुरानो परिभाषाभित्र अटाउँदैन। यो जरा माटोको होइन। विचार, उद्देश्य र सम्बन्धको नयाँ स्वरूपमा छ। तर त्यति नै वास्तविक पनि छ

तर जरा काट्ने हतियार हामीले नै दिएका थियौं भन्ने हामीले भुल्यौं। ‘जराविहीन जेनजी’ भन्नु र ‘जरा नदिइएको जेनजी’ भन्नु दुई वाक्य बीचको फरक ठूलो छ। एउटाले पुस्तामाथि दोष लगाउँछ, अर्कोले व्यवस्थामाथि कुशासनमा प्रश्न गर्छ। मिश्रको शृंखलाले पुराना दलको विफलता उघार्दा अप्रत्यक्ष रूपमा यही स्वीकार गर्छ। तर ‘जराविहीन’ को लेबल त्यहीं बाँकी रह्यो।

‘सामाजिक लोकतन्त्र’ संविधानमा लेखिएको छ, तर कार्यान्वयन भएन भन्ने मिश्रकै स्वीकृति छ। किन भएन? त्यो ‘किन’ नै सबैभन्दा महत्वपूर्ण प्रश्न हो, जुन शृंखलामा पर्याप्त उत्तर पाउँदैन।

 ३. सेप्टेम्बर ८–९ र दुई तिहाइ जनादेश: विरोधाभासी तस्वीर

मिश्र स्वयं लेख्नुहुन्छ: सेप्टेम्बर ८–९ को हत्या र त्यसपछिको हिंसा र ध्वंस आंशिक रूपमा ‘फल्स फ्ल्याग अपरेशन’ थियो, कुल पोस्टमध्ये कम्तीमा एक तिहाइ झुटो थियो, र सुरुवाती केही घण्टापछि नै पहललाई ‘हाइज्याक’ गरियो। यी स्वीकृतिहरू महत्वपूर्ण छन् र मिश्रको बौद्धिक इमानदारीको प्रमाण हुन् यी।

तर यहाँ एउटा विश्लेषणात्मक असन्तुलन देखिन्छ। यदि हिंसा हाइज्याक भएको थियो भन्ने हो भने त्यो कहिले भएको थियो ८ सेप्टेम्बरको हत्यापछि होइन र ? अझ एक तिहाइ पोस्ट झुटो थियो भने त्यो हिंसालाई आधार बनाएर जेनजीको पूरा पुस्तागत चरित्र ‘जराविहीन’ भनेर व्याख्या गर्नु कति न्यायोचित छ?

यसपछिको तथ्यलाई हेरौं। सेप्टेम्बर ८–९ को हत्या र हिंसापछि केवल ६ महिनामा फागुन २१ नेपाली जनताले मतदान गरे। परिणाम ? कांग्रेस, एमाले, माओवादी दशकौंसम्म सत्ता सञ्चालन गर्ने स्थापित दलहरू बढारिए। रास्वपाले दुई तिहाइ बहुमत ल्यायो।

यो जनादेशको निर्णय केवल जेनजीको मात्र थिएन। पचास, साठी, सत्तरी वर्षका नागरिकहरूले पनि मतदान गरे। हाम्रो र मिश्रकै पुस्ताका आम मतदाताहरूले पनि गरे। हामी १० जनामध्ये झण्डै ७ जनाजतिले रास्वपालाई मत हाल्यौं। किनभने हामी पनि थाकेका थियौं। भ्रष्टाचारबाट, लुटतन्त्रबाट, वंशवादबाट, ‘पालैपालो सत्ताको लुकामारी’बाट, वाचा र विश्वासघातबाट। दुई तिहाइ जनादेश पुरानो जराको अस्वीकृति मात्र होइन।

निचोड स्पष्ट छ हिंसा र अफवाहको स्रोत प्रविधि मात्र होइन, यो राजनीतिक असन्तोष र व्यवस्थागत विफलताको उपज हो।

यो नयाँ जराको खोजी हो। र यो खोजीमा हाम्रो पुस्ता पनि थियो। यसलाई ‘जराविहीन पुस्ताको भावनात्मक रोजाइ’ भनेर खारेज गर्नु बौद्धिक अहंकार हुनेछ।

४. एजेन्टिफिकेसन: आफ्नै निष्कर्षलाई चुनौती

मिश्रले ‘एजेन्टिफिकेसन’को शक्तिशाली अवधारणा ल्याउनुभएको छ। यो भनेको आफ्नो जीवन र सामाजिक सम्बन्ध परिवर्तन गर्न व्यक्तिको तर्फबाट लिइने उद्देश्यमूलक र आत्म–चिन्तनशील पहलकदमी हो। उहाँका अनुसार तीव्र सामाजिक परिवर्तनले एजेन्टिफिकेसनलाई जन्म दिन्छ, र जेनजीको एजेन्टिफिकेसन अहिले निकै तीव्र छ।

यो अवधारणाले एउटा तार्किक प्रश्न जन्माउँछ। यदि जेनजी ‘एजेन्टिफाइड’ छ– सचेत इच्छाशक्ति भएको, परिस्थिति परिवर्तन गर्न सक्षम– भने उनीहरू केवल परिस्थितिको शिकार मात्र कसरी हुन सक्छन्? ‘जराविहीन सेमी–प्रोलेटारियट’ र ‘एजेन्टिफाइड निर्माता’ यी दुई तस्बिर एकसाथ अटाउन गाह्रो हुँदैन।

फागुन २१ को निर्वाचनमा एउटा दलले दुई तिहाइ बहुमत ल्याउनु के यो ‘असुसंगत’ र ‘अनिरन्तर’ ऊर्जाको परिणाम हो? वा यो एउटा सुसंगत राजनीतिक इच्छाशक्तिको स्पष्ट अभिव्यक्ति हो? पुराना नेता तथा संविधान विज्ञहरू सिद्धान्तकै रूपमा भन्ने गर्दथे हाम्रो देशको संविधान र कानूनले कुनै दलको बहुमत आउन सक्दैन। तर नेपालमा जेनजी विद्रोहपछिको शान्त, पारदर्शी निर्वाचनले दुई तिहाइ जनादेश दिनु यो इतिहासको एउटा असाधारण घटना होइन र ?

५. ‘जरा’को परिभाषा नै साँघुरो छ

मिश्रको शृंखलामा ‘जरा’को एउटा परोक्ष परिभाषा बन्छ। गाउँसँगको सम्बन्ध, स्थायी सामुदायिक सञ्जाल, परम्परागत उत्पादन प्रणालीका सम्बन्धमा यो परिभाषाले जरालाई भूतकालमा सीमित गर्छ। मानौं गाउँमा खेती गर्नु नै जरा हो, र अन्य सबै अवस्था जराविहीनता हो।

तर काठमाडौंका एक युवा जसले डिजिटल पत्रकारिता गर्छ, स्थानीय सरकारको भ्रष्टाचारमाथि प्रश्न गर्छ, आफ्नो टोलको समस्या नगरपालिकामा उठाउँछ, छिमेकीको बिरामीलाई अस्पताल पुर्‍याउँछ, के उसको जरा छैन? पोखराका युवाले फोहोर व्यवस्थापनको स्टार्टअप खोले, धनकुटाका युवाले ड्रिप इरिगेसन सिकेर तीन गुणा उत्पादन बढाए, दार्चुलाकी महिलाले सहकारी मार्फत स्थानीय उत्पाद बेचिन्। काठमाडौंका युवाले ‘नागरिक एप’ बनाए।

यी सबैका जरा छन्।  बस्, त्यो जरा हाम्रो पुरानो परिभाषाभित्र अटाउँदैन। यो जरा माटोको होइन। विचार, उद्देश्य र सम्बन्धको नयाँ स्वरूपमा छ। तर त्यति नै वास्तविक पनि छ।

६. पपुलिजम: कलंक होइन, नयाँ वास्तविकता

मिश्रले भविष्यको राजनीतिलाई ‘पपुलिस्ट’ भन्नुभएको छ। वैचारिक रूपमा लचिला, छोटो समयको खाकामा चल्ने। विवरण सही हुन सक्छ। तर लेखमा ‘पपुलिजम’ शब्द एउटा नकारात्मक अर्थसाथ आउँछ। मानौं यो एउटा राजनीतिक पतन हो।

मिश्रको एउटा निष्कर्षले मन अलि खिन्न बनाउँछ। ‘कुनै शहरी विपत्ति जस्तै महामारी वा ठूलो बेरोजगारीले सिर्जना गर्ने परिस्थितिमा मात्रै युवाहरू पुन: गाउँ फर्कनेछन्।’

इतिहास हेरौं। नेपालको २०४६ सालको जनआन्दोलन पनि सुरुवातमा ‘पपुलिस्ट’ थियो। वैचारिक रूपमा विविध, कुनै एउटा दलको नेतृत्वमा नभएको, अल्पकालीन माग बोकेको, तर यसले लोकतन्त्र ल्यायो। २०६२–६३ को आन्दोलन पनि यस्तै थियो। तर यसले गणतन्त्र ल्यायो। ती उपलब्धिहरू आज मिश्र स्वयंले जोगाउन आग्रह गर्नुहुन्छ।

प्रत्येक युगका महान् परिवर्तन शुरुमा ‘पपुलिस्ट’ देखिन्छन्। पुरानो व्यवस्थाका रक्षकहरूले सधैं भन्छन् यिनमा वैचारिक दृढता छैन, दीर्घकालीन योजना छैन। कहिलेकाहीं उनीहरू सही हुन्छन्। किनभने परिवर्तन विफल हुन्छ। तर कहिलेकाहीं परिवर्तन सफल हुन्छ, र इतिहास त्यसलाई ‘क्रान्ति’ भन्छ।

रास्वपाको दुई तिहाइ जनादेश के हुन्छ। क्रान्ति वा निराशा यो अहिले भन्न हतार हुन्छ। तर यसलाई ‘जराविहीन पुस्ताको भावनात्मक रोजाइ’ भन्नु न्यायोचित हुँदैन।

७. सामाजिक सञ्जाल: हतियार होइन, जिम्मेवारी चाहिन्छ

मिश्रले सामाजिक सञ्जालको अँध्यारो पाटो राम्रोसँग देखाउनुभएको छ। डिस्कोर्डमा ‘मोलोटोभ ककटेल’को ३५६ उल्लेख, एक तिहाइ झुटो पोस्ट, इको–चेम्बरको संस्कृति। यी चिन्ताजनक तथ्य हुन्। तर मिश्र स्वयं स्मरण गराउनुहुन्छ फ्रान्सेली क्रान्तिमा सेल फोन थिएन, तर अफवाह र हिंसा उत्तिकै छिटो फैलिएको थियो। नेपालको २०४६ मा सामाजिक सञ्जाल थिएन, तर आन्दोलन सफल भयो। निचोड स्पष्ट छ हिंसा र अफवाहको स्रोत प्रविधि मात्र होइन, यो राजनीतिक असन्तोष र व्यवस्थागत विफलताको उपज हो।

‘डिजिटल नागरिकता’ पाठ्यक्रम जसले बेनामीपनाको नैतिक प्रश्न उठाओस्, सूचना परीक्षण सिकाओस्, इको–चेम्बरबाट बाहिर निस्किन प्रेरित गरोस् यो विद्यालय र परिवारको दायित्व हो। यो दायित्व पुरानो पुस्ताको हो। जेनजीले सामाजिक सञ्जाल ‘गलत प्रयोग’ गर्‍यो भन्नु अघि त्यो प्रयोगको शिक्षा र वातावरण कसले बनायो वा बनाएन, त्यो प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

८. रित्तो गाउँ: विपत्ति होइन, खाली क्यानभास

मिश्रको एउटा निष्कर्षले मन अलि खिन्न बनाउँछ। ‘कुनै शहरी विपत्ति जस्तै महामारी वा ठूलो बेरोजगारीले सिर्जना गर्ने परिस्थितिमा मात्रै युवाहरू पुन: गाउँ फर्कनेछन्।’ यो विश्लेषणात्मक रूपमा इमानदार हुन सक्छ, तर नीतिगत दृष्टिले यो एउटा हार मान्नु हो। विपत्तिको पर्खाइमा बस्नु र बीचमा प्रयास नगर्नु यो पुरानो पुस्ताको जिम्मेवारी होइन।

रित्तो गाउँ विपत्ति होइन। यो एउटा खाली क्यानभास हो। दक्षिण कोरियाले ‘युवा किसान’ कार्यक्रम शुरु गर्‍यो। पाँच वर्ष करछुट, जमिन पट्टामा सहुलियत, बजार पहुँच। जापानको ‘साटोयामा’ अभियानले शहरी युवालाई गाउँसँग जोड्छ। बंगलादेशले रिटर्न माइग्रेन्ट नीति लागू गर्‍यो। ती देशहरूमा विपत्ति आएको थिएन।  नीति र इच्छाशक्ति आएको थियो भन्न कन्जुस्याइँ गर्न पर्दैन।

रेमिट्यान्सलाई ‘पासो’ मात्र होइन, ‘लिफ्टिङ प्याड’ बनाउन सकिन्छ। खाडीबाट फर्केका युवा खाली हात आउँदैनन्। सीप, नेटवर्क र अनुभव ल्याउँछन्। ‘माइग्रेन्ट इन्टरपन्वर’ ऋणको व्यवस्था, जैविक खेतीमा संलग्न युवालाई पाँच वर्ष करछुट, गाउँमा ब्रोडब्यान्ड र डिजिटल सेवाकेन्द्र। यी कार्यसूचीहरू कल्पनामा मात्र छैनन्, उदाहरणका लागि रास्वपाको बालेन सरकारले ल्याएका १०० कार्यसूचीहरूमा नै भेटिन्छन्।

बाँझो जमिनलाई जैविक खेतीमा ल्याउन तीन–पाँच वर्ष लाग्छ। माटो सुध्रिन्छ, उर्वरता फर्किन्छ। यो प्रक्रिया विपत्ति नपर्खी शुरु गर्न सकिन्छ। तर त्यसका लागि राज्यको इच्छाशक्ति चाहिन्छ। र त्यो इच्छाशक्ति माग गर्ने आवाज जेनजीको विद्रोहले नै दिएको हैन र ?

९. चौथो उपलब्धि: विकेन्द्रीकरण र स्थानीय स्वायत्तता

मिश्रले गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक लोकतन्त्रलाई जोगाउनुपर्छ भन्नुभयो। यो बिल्कुल सही छ। तर एउटा चौथो उपलब्धि छुटेको छ।  विकेन्द्रीकरण र स्थानीय स्वायत्तता तथा आर्थिक भार र लाभका हिसाबले मितब्ययी शासन प्रशासन।

गाउँलाई जीवन्त बनाउने एकमात्र बाटो केन्द्रीय सरकारबाट सेवा पर्खनु होइन। स्थानीय तहलाई साँच्चै स्वायत्त बनाउनु हो। बजेट, नियुक्ति, नीति सबैमा छन्, संघीयता संविधानमा छ तर अब कार्यान्वयनमा पनि होस् भन्ने हो।

मिश्रले कृषि र स्थानीय समुदायको पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो। तर त्यसका लागि स्थानीय सरकारसँग सुस्पष्ट अधिकार र दायित्व दिइएको छ ? केन्द्रको ‘अनुमति’मा चल्ने ढाँचाले गाउँहरू पुनर्जीवित हुँदैनन्।

 १०. पुस्तागत संवाद: एकपक्षीय निर्णय होइन

मिश्रको शृंखला एउटा महत्वपूर्ण कथाको सुरुआत हो, अन्त्य होइन। उहाँले उठाएका प्रश्नहरू सही छन्, विश्लेषण मूल्यवान् र साहस प्रशंसनीय छ। तर केही कुराहरू थप्न जरूरी छ।

जनादेशले स्पष्ट भनेको छ हामी थाकेका छौं– पुरानो कुशासित व्यवस्था, भ्रष्टाचार, वंशवाद, वाचा र विश्वासघातबाट। हामीलाई नयाँ प्रयोग गर्ने अवसर दिनुहोस्। हामीलाई ‘जराविहीन’ नभन्नुहोस्। हामी नयाँ ठाउँमा जरा गाड्दैछौं।

पुरानो पुस्ताको दायित्व जेनजीको विद्रोहलाई ‘जराविहीनता’को प्रमाण भनेर व्याख्या गर्नु होइन। आफ्नो पालामा काटिएको जरालाई नीति, संस्था र इमानदारीले फेरि बनाउन सहयोग गर्नु हो। रित्तो खेत फेरि हरियो बन्न सक्छ। बाँझो माटो फेरि उर्वर हुन सक्छ। तर त्यसका लागि विषादी छाड्नुपर्छ र जैविक बीउ छर्नुपर्छ।

त्यो बीउ अवसर, सम्मान र इमानदार पुस्तागत संवाद हो। जेनजी र पुरानो पुस्ता बीचको सम्बन्ध विरोधको होइन। यो सिकाइको, साझा उत्तरदायित्वको हो। मिश्रको शृंखलाले यो संवादको ढोका खोलेको छ। यो लेख त्यही ढोकाबाट भित्र पसेको एउटा इमानदार साथी हो। आलोचक होइन, पूरकता खोज्ने सहयात्री हो।

जेनजीलाई जरा चाहिएको छ। त्यो जरा रोप्ने र मलजल गर्ने काम हाम्रो, अनि पुरानो पुस्ताको पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?