+
+
Shares

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

रासस रासस
२०८३ वैशाख १० गते ९:०८

१० वैशाख, इलाम ।  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।

साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, ‘गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।’ उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् ।

स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किके । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।

‘झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो’, उनी भन्छन्, ‘०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।’

अहिले पनि उनको पसल(जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्छन्, ‘महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।’

उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । ‘जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ’, उनले भने ।

छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए ।

समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, ‘प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।’

विसं २०४२ तिर उनी झापाको काँकडभिट्टामा रिक्सा चलाउँथे । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनट्ठ बताउँछन् । अहिले पनि उनी पसलमै व्यस्त हुन्छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । ‘काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्’, उनी भन्छन् ।

ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपर्थ्यो । ‘बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन्’, गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, ‘अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?