+
+
Shares

सिरहामा उच्च गर्मी, प्रशासनले भन्यो– अनावश्यक घरबाहिर ननिस्किनू

गर्मीले जनजीवन प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र अनावश्यक घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:३९

११ वैशाख, सिरहा । जिल्लामा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी तथा तातो हावाको लहर (लू) चल्ने क्रम जारी छ । गर्मीले जनजीवन प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र अनावश्यक घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज सूचना जारी गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेका हुन् । अत्यावश्यक कामका लागि बाहिर जानुपरेमा छाता ओढ्न, टोपी लगाउन वा कपडाले टाउको ढाक्न आग्रह गरिएको छ ।

प्रशासनले शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा सफा पानी तथा झोलिलो पदार्थ (जुस, लस्सी, सर्वत आदि) सेवन गर्न पनि भनेको छ । हल्का, पातलो तथा सुती कपडा लगाउन र लामो समयसम्म घाममा बस्ने वा काम गर्ने गतिविधि घटाउन पनि सुझाव दिइएको छ ।

साथै, सकेसम्म चिसो तथा हावायुक्त स्थानमा बस्न र घरपरिवारभित्रका बालबालिका, वृद्ध तथा बिरामी व्यक्तिहरूको विशेष हेरचाह गर्न प्रशासनले आग्रह गरेको छ ।

तातो हावाका कारण टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने, कमजोरी महसुस हुने वा बेहोस हुने जस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?