२५ वैशाख, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइनजस्तो पदार्थ र नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार धनगढीमाई नगरपालिका-१ बाट प्रदेश २-०२-००१ प ३२१२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका–१३ का ३५ वर्षीय देवकान्त चौधरी र एक जना अर्को व्यक्ति छन् ।
प्रहरीका अनुसार जाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीबाट ३.६३ ग्राम खैरो हिरोइनजस्तो पदार्थ फेला परेको थियो । प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चोकबाट पनि लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–९ मुसहरनिया बस्ने २२ वर्षीय लोकसिंह राजपुतलाई पक्राउ गरेको छ । उनको साथबाट नाइट्राजेपाम ट्याब्लेट १० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।
प्रतिक्रिया 4