१२ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ ।
नेपालगन्ज लगायत बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरूको प्रचारप्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालगन्जको वाटरपार्कसम्मको क्षेत्रमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म फेस्टिभल सञ्चालन गरिएको हो ।
होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके लगायतले पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभलमा स्ट्रिट फुडदेखि पाँचतारे होटलका विभिन्न स्वादका परिकारहरूलाई एउटै स्थानमा उपलब्ध गराइएको छ ।
फेस्टिभलमा स्थानीय स्वादिष्ट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।
फेस्टिभलमा होटल व्यवसायीका साथै विभिन्न व्यापारिक प्रतिष्ठानहरूका ४० वटा स्टलहरू रहेका छन् ।
फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र चर्चित गायक रामकृष्ण ढकाल, हास्य कलाकार तथा नायक विजय बराल, नायिका वर्षा राउत, हास्य कलाकार मेक्सम गौडेलसहितका कलाकारहरूले लाइभ म्युजिकसहितको प्रस्तुति दिनेछन् । त्यसैगरी स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको डान्स हुनेछ ।
फेस्टिभलमा सहभागी आगन्तुकहरूले विभिन्न प्रकारका खानाका स्टलहरू, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अफरहरूको अनुभव लिन सक्नेछन् । यसले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’का रूपमा चिनाउने विश्वास गरिएको छ ।
प्रचण्ड गर्मीका कारण उकुसमुकुस भएका नेपालगन्जवासीहरू साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने खानाका परिकारदेखि लाइभ म्युजिकको आनन्दमा रमाइरहेको होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनालले बताए ।
प्रतिक्रिया 4