१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दबाबमा रहेको नेपाली क्रिकेट टोली यसपटक युएई र ओमानसँग घरेलु सिरिज खेल्दैछ । सिरिजको पहिलो खेलमा आज नेपालले युएईविरुद्ध संघर्षपूर्ण ३७ रनको जित निकालेर सुखद् सुरुवात गरेको छ ।
लिगअन्तर्गत यो खेलअघिसम्म २० खेल खेलेको नेपाली क्रिकेट टोलीले पाँच वटा मात्रै जितसहित १२ अंकमा थियो । जुन ८ टिम सामेल रहेको लिगमा पुछारबाट दोस्रो हो ।
यसैले नेपालका लागि यसपटकको घरेलु सिरिज निकै महत्वपूर्ण छ । यो सिरिजका सबै चारवटै खेल जित्नु नेपालका लागि अत्यन्त जरुरी जस्तै बनेको छ ।
तर, आजको खेलको सुरुवात भने नेपालका लागि सुखद् थिएन । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले एकदमै निराशाजनक प्रदर्शन गर्यो । नेपाली टोली ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २०० रनमा रोकिन पुगेको थियो । जुन एकदिवसीय खेलमा निकै सानो लक्ष्य मानिन्छ ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन जोडेर नेपाललाई २०० रनसम्म पुर्याएका थिए । उनीबाहेक ओपनर कुशल भुर्तेलले २४, करन केसीले २२ रन बनाउनसिवाय अन्य ब्याटरको योगदान निराशाजनक रह्यो ।

ब्याटरले गरेको त्यो गल्ती बलरहरूले भने दोहोर्याएनन् । बलरकै सहासिक प्रदर्शनमा नेपालले आजको खेल जितेको हो ।
बलरमा नेपालका करण केसीले सुरुदेखि नै पाहुना टोलीका ब्याटरलाई दबाबमा राखे । उनले खेलमा ४ विकेट निकाले । उनीबाहेक सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।

युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९, कप्तान मोहम्मद वासिमले ३४, अक्षदीप नाथले ३० रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामू टिकेर खेल्न सकेनन् ।
नेपालले लिग टु मा लगातार ४ हारपछि पहिलो जित निकालेको हो । पहिलो खेलमा जरुरी जित निकालेको घरेलु टोली अब विश्वासका साथ ओमानको सामना गर्नेछ ।
खेलका केही झलक

प्रतिक्रिया 4