News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याएको आरोपमा प्रकाश ढुङ्गाना र स्वदेश पोखरेललाई पक्राउ गरेको छ।
- प्रहरीको साइबर ब्युरोले दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।
- यसअघि विक्रम पाण्डे र टङ्ककुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको र हालसम्म नौ जना शङ्कास्पदलाई अनुसन्धान भइरहेको छ।
१३ वैशाख, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजु र पोखरेल महानगरपालिका– ३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।
सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि सङ्गठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टङ्ककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो । हालसम्म उक्त मुद्दामा नौ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया 4