News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशको निर्माण व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको अस्थिरताले निर्माण सामग्री अभाव र मूल्यवृद्धि हुँदा पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको बताएको छ।
- महासंघका अध्यक्ष जनसेवक भण्डारीले मध्यपूर्वको युद्धले इन्धनको मूल्य ६० प्रतिशत र अन्य सामग्रीको मूल्य ४० प्रतिशतले बढेको खुलाएका छन्।
- महासंघले मूल्य समायोजन, आयोजनाको म्याद थप र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
१३ वैशाख, विराटनगर । अन्तर्राष्ट्रिय बजारको अस्थिरताले कोशी प्रदेशको पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएको छ । निर्माण सामग्रीको अभाव र अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा परेको हो ।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिले विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले जनाएको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महासंघले तत्काल सरकारी हस्तक्षेप नभए निर्माण क्षेत्र ठप्प हुने चेतावनी दिएको छ । व्यवसायीहरूले विद्यमान संकट समाधानका लागि मूल्य समायोजन र आयोजनाहरूको म्याद कम्तीमा एक वर्ष थप गर्न सरकारसँग माग गरेका छन् ।
महासंघका कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीका अनुसार मध्यपूर्वमा जारी युद्ध र तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसको प्रत्यक्ष असर नेपालको निर्माण उद्योगमा परेको छ ।
‘पछिल्लो दुई महिनामा इन्धनको मूल्य करिब ६० प्रतिशतसम्म बढेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘बिटुमिन, सिमेन्ट र डन्डी जस्ता अनिवार्य सामग्रीको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ ।’
मूल्यवृद्धिसँगै बजारमा सामग्रीको अभाव समेत देखिन थालेको उनले बताए । निर्माणका लागि सबैभन्दा उपयुक्त मानिने फागुनदेखि जेठसम्मको समयमै काम रोकिने अवस्था रहेको महासंघको गुनासो छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले राष्ट्र बैंकको मूल्य सूचकांक र वास्तविक बजार मूल्यबीच तालमेल नमिलेको बताए । मूल्यवृद्धिको मार साना ठेक्कादेखि राष्ट्रिय गौरवका आयोजनासम्म परेको निर्माण व्यावसायीको गुनासो छ ।
महासंघले बजारको वास्तविक मूल्यका आधारमा सबै ठेक्काहरूमा तत्काल मूल्य समायोजन गरिनुपर्ने, अवरुद्ध भएका आयोजनाहरूको म्याद कम्तीमा एक वर्ष थप गरिनुपर्ने, निर्माण सामग्रीको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्नुपर्नेलगायत माग राखेका छन् ।
प्रतिक्रिया 4