+
+
Shares

पहिला घाटाको कारोबार, पछि कागजको बिटो थमाएर ठगी

ठगी गर्नुअघि नै भन्थे– यो नक्कली नोट नै हो

ठगी गर्ने गिरोहले पनि आफूले थाहा नपाए जसरी आफूसँग भएको सक्कली नोट नक्कली भएको जस्तो बहाना पारेको हुन्छ । तर त्यो नोट सक्कली हो भन्ने उनीहरूलाई थाहा हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
  • पक्राउ परेकाहरूले सक्कली नोट दिएर दोब्बर नक्कली नोट दिने तरिका अपनाएको खुलेको छ।
  • ठगीमा प्रयोग गरिएको ईभी गाडी र पल्सर मोटरसाइकल बरामद गरिएको छ।

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको कसुरमा ६ जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

ती व्यक्तिमाथि अनुसन्धान गर्दा अनुसन्धान अधिकृतहरू नै चकित परेका छन् । ठगीको आरोपमा पक्राउ परेका व्यक्तिमा अनुसन्धान गर्दा खुलेको छ– जो ठगी गर्नुअघि नै ठगी गर्न लागेको भनिरहेका हुन्छन् ।

‘सक्कली नोटसँग नक्कली नोट साटिन्छ ।’ अर्थात् सक्कली नोट दिएर त्यसको दोब्बर नक्कली नोट लैजानू ।

यसरी सुरुमै भनेर सक्कली नोट दिएर नक्कली नोट लैजानुस् भन्दा कसैले नोट साट्ला र ? कोही ठगिएला र ?

सुरुमा पत्यार नलाग्न सक्छ । तर अनुसन्धान गर्दै जाँदा खुलेको छ, ठगीको पहिल्यै जानकारी दिएर खुल्लम खुल्ला ठगी हुँदैछ ।

यसरी ठगीको आरोपमा अहिले ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भइ काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने २६ वर्षीय योगबहादुर तामाङ, सोही ठाउँ घर भइ बारा बस्ने ३८ वर्षीय मिलन कुमार तामाङ, सोही ठाउँ घर भइ दक्षिणकाली बस्ने ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवनको रत्ननगर गाउँपालिका–५ घर भएका ३४ वर्षीय प्रवीन महतो, रौतहटको गजुरा नगरपालिका–१ घर भएका २८ वर्षीय मुना धामी र चितवनको कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरी छन् ।

उनीहरूलाई टौदह नजिकबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

उनीहरूबाट २ वटा झोलामा ४० बण्डल नक्कली पैसा (कागजको बिटो) पछाडिको नम्बर प्लेट निकालेको र अगाडीको भागमा शैक्षिक भ्रमणको ब्यानर राखेर नम्बर प्लेट छोपेको ईभी गाडी (मिनी हाइस), ना ४७ प ५४११ नम्बरको पल्सर मोटरसाइकल बरामद भएको छ । बरामद ईभी गाडीको नम्बर बा. प्र. ०१–०३२ च ७३१२ रहेको खुलेको छ ।

कसरी हुन्थ्यो ठगी ?

यो समूहले सक्कली नोट दिए त्यसको बदलामा दोब्बर नक्कली नोट दिने बताउँथे । त्यसका लागि भेटेरै वा ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको प्रहरीले बताएको छ ।

सक्कली नोटसँग नक्कली नोट साट्न कोही तयार हुने कुरै भएन । त्यसपछि उनीहरूले भन्ने गरेका थिए, ‘नक्कली भने पनि यो सक्कली नै हो भन्दा पनि हुन्छ । केही फरक छैन । कसैले थाहा पाउन पनि सक्दैन । कारोबार गर्न कुनै समस्या हुँदैन ।’

त्यतिले पनि नपत्याएपछि उनीहरूले नक्कली भनिएको हजारको नोट आफ्ना ग्राहकलाई देखाउँथे । ती नोट पुरै सक्कली हुन्छन् । आफूसँग भएको हजारको नोट र नक्कली नोटमा भएको नम्बर बाहेक केही फरक हुँदैन ।

अब एक हजारको सक्कली नोट दिए दुई हजार नक्कली नोट दिने हाल पक्राउ परेका आरोपितले बताउँथे । नोट हेरिसकेपछि ग्राहकलाई लाग्छ– यो त सक्कली नै हो । एक हजारको नोट दिँदा दुई हजार सक्कली आउँछ भने किन नदिने भनेर उनीहरूले सुरुमा एक हजारको नोट साट्छन् ।

ठगी गर्ने गिरोहले पनि आफूले थाहा नपाए जसरी आफूसँग भएको सक्कली नोट नक्कली भएको जस्तो बहाना पारेको हुन्छ । तर त्यो नोट सक्कली हो भन्ने उनीहरूलाई थाहा हुन्छ । अनि घाटा खाएरै एक हजारको सक्कली नोट लिएर नक्कली भन्दै दुई हजार सक्कली नोट ठगी गर्ने गिरोहले आफ्ना ग्राहकलाई दिन्छन् ।

उक्त नोट सक्कली भएकाले ग्राहकले पनि कारोबार गर्छन् कुनै समस्या हुँदैन । एक हजारले केही नगरी दुई हजार कमाएपछि ग्राहक पनि मख्ख परेको हुन्छ । उनीहरू विश्वासमा पर्छन् । त्यसपछि ५ हजार सक्कली नोटसँग १० हजार नक्कली नोट साटिन्छ । नक्कली भनिएको उक्त नोट पहिलाको जस्तै सक्कली नै हुन्छ ।

यति बेलासम्म ठगी गर्ने गिरोहले ११ हजार घाटा ब्यहोरेको हुन्छ । आफ्ना ग्राहकलाई विश्वासमा पार्न सुरुमा घाटा खाएर सक्कली नोट ठगी गर्ने गिरोहले दिइरहेको हुन्छ । अनि ठूलो रकम साट्नेबारे डिल हुन्छ । अनलाइनमा कुराकानी हुन्छ । विश्वासमा पार्न हजार बण्डलका पैसाको बिटो समेत भिडियोमा देखाइएको हुन्छ ।

तर बाहिर पट्टी सक्कली नोट राखेर भित्र भने कागजको बिटो हुन्छ । अनि सुरुवाती क्रममा विश्वास जितेर कारोबार गरिएका मान्छे मोटो रकम लिएर त्यसको दोब्बर रकम लिन आएको बेला भने त्यही काजगको बण्डलको बिटो दिएर ठगी गर्ने प्रवृत्ति देखिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्का बताउँछन् ।

‘सुरुमा विश्वासमा पार्न थाहा नपाएजसो गरेर नक्कली भन्दै दोब्बर सक्कली नोट दिने । विश्वास जित्ने अनि ग्राहकले एकै पटक ठूलो रकम साट्न आएको बेला कागजको बिटो थमाएर ठगी गर्ने प्रवृत्ति देखिन्छ,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।

यसअघि भने सस्तो दरमा डलर साट्ने भन्दै कागजको बिटो दिएर ठगी गर्ने गरेको पाइए पनि यो ट्रेण्ड भने नयाँ देखिएको प्रहरीले बताएको छ । सक्कली नोटसँग नक्कली नोट साट्ने भनेरै कारोबार गरेकाले कतिपय पीडितहरू प्रहरीमा समेत आउन नसकेको प्रहरीले बताएको छ ।

अहिले यही शैलीमा ठगिएका दुई पीडित भने अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । अन्य कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?