१४ वैशाख, काठमाडौं । भारतको राजस्थानको एक गाउँमा एक युवकको हत्यापछि उत्पन्न भएको तनावले अर्को गाउँका करिब ३० घरमा आगजनी भएको छ । राजस्थानको बाँसवाडा जिल्लाको टामलिया गाउँमा आइतबार एक युवकको हत्या भएको थियो ।
त्यसपछि मृतकका आक्रोशित आफन्तले अर्को गाउँमा पुगेर करिब ३० घरमा आगजनी गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । सो आगजनीमा कैयौं घरपालुवा पशुचौपायाको जलेर मृत्यु भएको बताइएको छ ।
घटनापछि प्रहरीले पहरा दिएको र ढिलोगरी राति प्रहरीका कलेक्टर, एसपीसमेत वरिष्ठ अधिकारी घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको समाचार छ ।
मोटागाउँ प्रहरी थानाका प्रभारी रमेश पाटिदारले मृतक युवाका परिवारका तर्फबाट दुई दर्जन व्यक्तिविरुद्ध हत्यासमेतको आरोपमा जाहेरी दर्ता गराएको बताएका छन् ।
जाहेरी दर्तापछि मृतकको शव लिएर परिवार पोस्टमार्टम गर्न अस्पताल पुगेको बताइएको छ ।
प्रहरीका अनुसार मृतक युवकको अर्को गाउँकी युवतीसँग प्रेम सम्बन्ध थियो । दुवै पक्षबीच त्यसैबारे विवाद चलिरहेको थियो । सोही क्रममा आइतबार ती युवकको हत्या भएको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा समाचार छन् ।
प्रतिक्रिया 4