+
+
Shares

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न- अध्यादेश ल्याएर संसदीय गरिमाको किन अवमूल्यन ?

प्रमुख प्रतिपक्ष र अन्य दलसँग सामान्य परामर्शसमेत नगरी हतारमा यस्तो निर्णय लिनु ‘बलमिच्याइँको राजनीति’ भएको उनले टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते २०:३७

१५ वैशाख, काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद अधिवेशन स्थगित गराएर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन् । उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले नै अलोकतान्त्रिक अभ्यास अपनाएको आरोप लगाएका हुन् ।

मंगलबार जारी विज्ञप्तिमा आङ्देम्बेले लोकतन्त्र केवल प्रक्रिया मात्र नभई प्रवृत्तिसमेत भएको उल्लेख गर्दै संसद चलिरहेको अवस्थामा अध्यादेश ल्याउनु अस्वीकार्य भएको बताएका छन् । सरकारले दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको विषयलाई उनले दु:खद र गम्भीर भनेका छन् ।

उनका अनुसार अध्यादेश भनेको संसद नचलेको अवस्थामा मुलुकलाई तत्काल आवश्यक परेको खण्डमा मात्रै प्रयोग गरिने संवैधानिक उपाय हो । तर अहिले त्यस्तो कुनै आपत्ंकालीन अवस्था नरहेको र संसद् अधिवेशनमै आवश्यक विधेयक पारित गर्न सकिने अवस्था हुँदाहुँदै अध्यादेश ल्याउन खोज्नु अनुचित भएको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष र अन्य दलसँग सामान्य परामर्शसमेत नगरी हतारमा यस्तो निर्णय लिनु ‘बलमिच्याइँको राजनीति’ भएको उनले टिप्पणी गरेका छन् ।

आङ्देम्बेले प्रधानमन्त्रीलाई लक्षित गर्दै आफ्नै पार्टीको बहुमतप्रति अविश्वास किन देखिएको भन्दै प्रश्न गरेका छन् । उनले संसदको गरिमा र मर्मको अवमूल्यन गरिएको आरोप लगाउँदै यसप्रति आफ्नो दलको स्पष्ट विमति रहेको बताएका छन् ।

विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी विधेयक र सहकारी ऐन संशोधन जस्ता महत्वपूर्ण विषयहरू संसदमै छलफल र सहमतिबाट टुंग्याउनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गरेर अध्यादेश जारी गर्नु ‘सर्वथा अनुचित’ भएको कांग्रेसको निष्कर्ष छ ।

यद्यपि, कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न आफू सधैं तयार रहेको स्पष्ट पारेको छ । तर लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद र संविधानको मर्म विपरीतका कदमहरूलाई कुनै हालतमा स्वीकार नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?