News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव नवराज ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण ११ वैशाखमा राजीनामा दिएका छन्।
- ओझालाई डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको थियो तर स्थानीय तहमा अनुभव नभएकोले र स्वास्थ्य कारणले काम गर्न नसक्ने बताए।
- ओझा २९ वर्षअघि नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए र हाल मुख्यमन्त्री कार्यालयका प्रवक्ता पनि थिए।
१६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझाले सेवाबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता समेत रहेका ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण राजीनामा दिएको बताएका छन् ।
११ वैशाखमा प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् । सरकारले ओझालाई डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरेर पठाएको थियो ।
तर, ओझाले स्थानीय तहमा काम गरेको अनुभव नभएको, प्रतिकूल स्वास्थ्य अवस्था, सेवाको उत्तरार्ध र धेरै तनाब लिएर काम गर्न नसक्ने भएकाले राजीनामा दिनुुपरेका निकटस्थहरुलाई बताएका छन् ।
उनी स्वयंमले समेत यो कुरा स्वीकार गरेका छन् । ‘मेरो सेवा अवधी एक वर्ष मात्र थियो । प्रमुख प्रशासकीय अधिकृतका रुपमा अमरगढी नगरपालिका पठायो तर मसँगै स्थानीय तहमा काम गरेको अनुभव छैन,’ उनले भने, ‘स्वास्थ्य अवस्थाका कारण धेरै तनाव लिएर काम गर्न सक्ने अवस्था नभएकाले अवकाश लिने निर्णय लिएको हुँ ।’
कैलालीको गोदावरी नगरपालिका–६ लालपुर घर भएका उपसचिव ओझा २९ वर्षअघि नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उपसचिव रहेका ओझा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवक्ताको भूमिका पनि निर्वाह गरिरहेका थिए ।
प्रतिक्रिया 4