+
+
Shares
अपरेसन लोटस :

आपका पोस्टर ब्वाई राघव चड्ढा किन छिरे भाजपा ?

आम आदमी पार्टीको साधारण स्वयंसेवकलाई समेत किन्न नसक्ने भन्दै भाजपालाई हाँक दिने राघव चड्ढा ६ जना सांसदसहित त्यही पार्टीको शरणमा पुगेका छन् । उनको यो अप्रत्याशित यू-टर्नले एकातिर उनको राजनीतिक इमानदारीमाथि गम्भीर प्रश्न उठाएको छ भने अर्कोतिर आपको वैचारिक सङ्कट र भारतीय राजनीतिमा मौलाएको अवसरवादलाई उदाङ्गो पारेको छ ।

कञ्चन कञ्चन
२०८३ वैशाख १६ गते १७:१०

१५ वैशाख, काठमाडौं । ‘भाजपाले हाम्रो पार्टीको एक साधारण स्वयंसेवकलाई समेत किन्न सक्दैन, प्रदेश सभाका सदस्य र सांसदहरूको त कुरै छोडौँ,’ करिब साढे चार वर्षअघि आम आदमी पार्टी (आप) का तत्कालीन प्रवक्ता राघव चड्ढाले सञ्चारकर्मीहरूसामु यी शब्दहरू उच्चारण गर्दा उनको अनुहारमा आक्रोश र आत्मविश्वासको मिश्रण स्पष्ट देखिन्थ्यो ।

‘भाजपा भनेको धोखाधडीको पार्टी हो,’ उनले थपेका थिए ।

अप्रिल २४ मा तिनै राघव चड्ढा आफ्नो पार्टी आपका छ जना अन्य राज्यसभा सांसदहरूसहित भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन् । उनको यो राजनीतिक ‘यू-टर्न’ लाई आदर्शवादको सबैभन्दा विडम्बनापूर्ण अन्त्यका रूपमा धेरै टिप्पणीहरू गरिएका छन् ।

आम आदमी पार्टीले आफ्नो स्थापनाकालदेखि नै कैयौँ झट्काहरू बेहोर्दै आइरहेको देखिन्छ । योगेन्द्र यादव, प्रशान्त भूषण, कुमार विश्वासजस्ता व्यक्तित्वहरू क्रमशः पार्टीबाट बाहिरिँदै जाँदा अब आपले बहिर्गमनका धक्काहरू सहन गर्न सक्ने ‘जिगर’ बनाइसकेको नै हुनुपर्छ । तर, दुईतिहाइ सदस्यहरू गुमाउनु आपलाई घाइते बनाउन पर्याप्त देखिन्छ ।

राजनीतिमा नैतिकता र अवसरवादबीचको रेखा कति धमिलो हुन्छ भन्ने उदाहरण राघव चड्ढाको पछिल्लो कदमले पुष्टि गरेको छ । भाजपालाई ‘लोकतान्त्रिक मूल्यको हत्यारा’ र ‘हर्स ट्रेडिङ’ मा लिप्त शक्ति भन्ने चड्ढा आज आफैँ सोही दलको शरणमा पुगेका छन् ।

राघव चड्ढा : सेनाको सपनादेखि अन्ना आन्दोलनसम्म

भारतीय राजनीतिका प्रभावशाली युवा अनुहार राघव चड्ढाको उदय कुनै पारिवारिक विरासत वा परम्परागत राजनीतिक पृष्ठभूमिबाट भएको होइन । ११ नोभेम्बर १९८८ मा नयाँ दिल्लीको एक मध्यमवर्गीय परिवारमा जन्मिएका चड्ढाको प्रारम्भिक जीवन अन्य सामान्य सहरी विद्यार्थीहरूको जस्तै रहेको देखिन्छ ।

उनले दिल्लीको प्रतिष्ठित ‘मोडर्न स्कुल, बाराखम्बा रोड’ बाट आफ्नो विद्यालय शिक्षा पूरा गरेका थिए । चड्ढा स्वयं त्यस बेला आफ्नो राजनीतिक भविष्यबारे अनभिज्ञ रहे तापनि सोही विद्यालयको शैक्षिक वातावरणले उनको नेतृत्व क्षमताको बलियो जग बसालेको विश्लेषण गरिन्छ ।

विद्यालयको अध्ययन सकिएपछि चड्ढाले उच्च शिक्षाका लागि दिल्ली विश्वविद्यालय रोजेका थिए । त्यहाँबाट वाणिज्य सङ्कायमा स्नातक (बिकम) पूरा गरेका चड्ढाले आफ्नो शैक्षिक र व्यावसायिक आधारलाई नै राजनीतिक यात्राको प्रस्थानबिन्दु बनाए ।

राघव चड्ढाको करिअर सुरुमा एक सफल चार्टर्ड एकाउन्टेन्टका रूपमा अघि बढेको थियो । पारिवारिक र सामाजिक परिवेशका कारण उनले सिए पेसा रोजेका थिए । ‘भारतीय चार्टर्ड एकाउन्टेन्ट्स संस्थान’ बाट परीक्षा उत्तीर्ण गरेपछि उनले डेलोइट र ग्रान्ट थोर्नटनजस्ता प्रसिद्ध संस्थाहरूमा काम गरेर आफ्नो व्यावसायिक पहिचान बनाए ।

यद्यपि, उनको बाल्यकालको सपना भने भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने थियो । तर, नियतिले उनलाई सैन्य पोसाकभन्दा फरक राजनीतिको मैदानतर्फ डोर्यायो ।

सन् २०११ मा समाजसेवी अन्ना हजारेको नेतृत्वमा सुरु भएको ‘इन्डिया अगेन्स्ट करप्सन’ अभियानले भारतभर ठूलो हलचल पैदा गरेको थियो । त्यतिबेला २२ वर्षका युवा सिए राघव पनि भ्रष्टाचारविरुद्धको त्यो लहरबाट टाढा रहन सकेनन् । उनी ‘जन लोकपाल विधेयक’ को माग गर्दै सडकमा उत्रिएका हजारौँ नागरिकको भिडमा सामेल भए । यहीँबाट उनको राजनीतिक यात्राको निर्णायक मोड सुरु भयो ।

आन्दोलनकै क्रममा चड्ढाको भेट भ्रष्टाचारविरोधी कार्यकर्ता तथा दिल्लीका भावी मुख्यमन्त्री अरविन्द केजरीवालसँग भयो । चड्ढाको वित्तीय मामिलाप्रतिको गहिरो ज्ञान र तीक्ष्ण विश्लेषण क्षमताबाट केजरीवाल निकै प्रभावित भए ।

नतिजास्वरूप, केवल २४ वर्षको उमेरमा केजरीवालले उनलाई ‘दिल्ली लोकपाल विधेयक’ को मस्यौदा तयार गर्ने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिए । दक्ष लेखापरीक्षकका रूपमा चड्ढाले देखाएको प्रतिभा र समर्पणले नै उनलाई आम आदमी पार्टीको स्थापनाकालदेखि नै केजरीवालको विश्वासिलो पात्रका रूपमा स्थापित गरिदियो ।

स्वच्छ राजनीतिको सपना र जेनजी आइकन

सन् २०१२ मा अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनले राजनीतिक दलको रूप लिने निर्णय गरेसँगै राघव चड्ढा केवल २३ वर्षको उमेरमा आम आदमी पार्टीका संस्थापक सदस्य बनेका थिए । त्यस समयमा उनको पुस्ताका धेरै युवाहरूका लागि यो पार्टी व्यवस्था परिवर्तनको विकल्पका रूपमा उदाएको थियो ।

‘स्वराज’ र ‘भ्रष्टाचारमुक्त भारत’ को नाराले चड्ढाजस्ता शिक्षित र व्यावसायिक पृष्ठभूमि भएका युवाहरूलाई गहिरो गरी आकर्षित गर्यो, जसले परम्परागत राजनीतिको जातीय र क्षेत्रीय समीकरणभन्दा माथि उठेर विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा आधारित राजनीतिको सपना देखेका थिए ।

राघव चड्ढाको यो यात्रामा वैचारिक प्रतिबद्धता र आपले दिएको अवसरको ठूलो हात छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता र नेताभन्दा पनि जनता र मुद्दाहरूलाई केन्द्रमा राख्ने दलको नीतिले उनलाई राजनीतिमा टिक्ने आधार प्रदान गर्यो ।

पारिवारिक विरासत र धनबलबिना नै उनले पार्टीको सबैभन्दा युवा राष्ट्रिय प्रवक्ता र राष्ट्रिय कोषाध्यक्षजस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने मौका पाए । मुख्यमन्त्री अरविन्द केजरीवालको राजनीति पाठशालाबाट प्रशिक्षित चड्ढालाई सुरुदेखि नै केजरीवालका अत्यन्त विश्वासिलो र स्वच्छ छविका युवा सुशासनको प्रतीकका रूपमा हेरिएको थियो ।

विगत एक दशकमा चड्ढाले आफ्नो राजनीतिक छविलाई निकै सावधानीपूर्वक निर्माण गरेका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सजस्ता प्रतिष्ठित संस्थाबाट अध्ययन गरेका उनी तथ्य र तथ्याङ्कमा आधारित तर्क गर्न माहिर छन्, जसले गर्दा उनलाई युवा पुस्ताको पोस्टर ब्वाईका रूपमा चित्रण गरिन्छ ।

सन् २०२० मा दिल्लीको राजेन्द्र नगरबाट निर्वाचित भएपछि चड्ढाले दिल्ली जल बोर्डको उपाध्यक्षका रूपमा पानीको समस्या समाधानमा सक्रिय भूमिका खेलेर आफूलाई ‘जमिनसँग जोडिएको’ नेताका रूपमा समेत स्थापित गरे । उनले सडकमै उत्रिएर सर्वसाधारणका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने शैली अपनाउँदै आएका छन् ।

विशेषगरी सामाजिक सञ्जालको सशक्त प्रयोगले उनलाई जेनजी मतदाताहरूबीच अत्यन्त लोकप्रिय बनाएको छ । संसद्मा हवाई भाडा र डेलिभरी कर्मचारीहरूका समस्या उठाउनेदेखि लिएर आफैँ कर्मचारी बनेर उनीहरूको दुःख अनुभव गर्नेसम्मका क्रियाकलापले उनको छविलाई थप बलियो बनायो ।

कसरी भाजपामा विलय भए चड्ढा ?

केही भारतीय मिडियाका स्रोतअनुसार, राघव चड्ढाको बीजेपीसँग सेटिङको ‘अपरेसन लोटस’ को स्क्रिप्ट त १६ तारिखमै लेखिएको थियो । यो अपरेसन वास्तवमा केही दिनअघि लोकसभामा निर्वाचन क्षेत्र निर्धारण विधेयक पेस हुने दिनकै लागि तय गरिएको थियो, तर विधेयक असफल भएपछि केही दिन रोकिएको यो योजना अन्ततः १० दिनपछि सतहमा देखियो ।

यसको सुरुवात अप्रिलको पहिलो साताबाटै देखिएको थियो, जब आप नेतृत्वले चड्ढालाई राज्यसभामा पार्टीको उपनेता पदबाट बर्खास्त गर्दै उनीमाथि सदनमा बोल्न प्रतिबन्ध लगाउने कदम चाल्यो ।

यसको प्रतिक्रियामा चड्ढाले आफूलाई ‘चुप गराइएको तर पराजित नभएको’ भन्दै पहिलो सार्वजनिक सन्देश प्रवाह गरे । त्यसपछिका दिनहरूमा दुवै पक्षबीच आरोप–प्रत्यारोपको शृङ्खला चल्यो, जहाँ पार्टीले चड्ढामाथि भाजपाका विरुद्ध गरिएका पुराना पोस्टहरू हटाएर पार्टी फेर्ने तयारी गरेको आरोप लगायो भने चड्ढाले आफू ‘घाइते र खतरनाक’ भएको चेतावनी दिए ।

राघव चड्ढा र केजरीवालबीचको दूरी उनी जेल पर्दा र रिहा हुँदाको समयमा चड्ढाको अनुपस्थितिले नै प्रस्ट पारिसकेको थियो । उनीसँगै पञ्जाबका रणनीतिकार मानिने सन्दीप पाठकको बहिर्गमन आपका लागि सबैभन्दा ठूलो झट्का हो । पाठकलाई पञ्जाबको जिम्मेवारीबाट हटाएर छत्तीसगढ पठाइनुले उनी पहिले नै असन्तुष्ट थिए ।

सार्वजनिक वाक्युद्धका बीच चड्ढाले पर्दापछाडिबाट अर्को महत्त्वपूर्ण रणनीतिक कदम चालिसकेका थिए । उनले दलबदलविरोधी कानुनको कानुनी छिद्रलाई ध्यानमा राख्दै राज्यसभाका अन्य असन्तुष्ट सांसदहरूसँग सम्पर्क बढाए ।

कानुनतः सांसद पद जोगाउन कम्तीमा दुईतिहाइ सदस्यहरूको समर्थन आवश्यक पर्ने भएकाले उनले ‘आप’ का कुल १० मध्ये ७ जना सांसदलाई आफ्नो पक्षमा उभ्याउन सफल भए । यो रणनीतिले उनीहरूलाई व्यक्तिगत रूपमा अयोग्य हुनबाट जोगाउने सुरक्षा प्रदान गर्यो ।

अन्ततः अप्रिल २४ मा यो प्रक्रियाले औपचारिक रूप लियो । अरविन्द केजरीवाल दिल्लीको आफ्नो नयाँ सरकारी निवासमा परिवारसहित सर्दै गर्दा र सामाजिक सञ्जालमा जानकारी दिँदै गर्दा चड्ढासहित सन्दीप पाठक, स्वाति मालीवाल, हरभजन सिंहजस्ता सात जना प्रभावशाली सांसदहरूले सामूहिक रूपमा पार्टी त्याग गरी भाजपामा विलय हुने घोषणा गरे ।

सोही दिन उनीहरूले राज्यसभा अध्यक्षसमक्ष आवश्यक कागजात बुझाए र भाजपाको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पार्टीको सदस्यता लिए ।

पार्टी प्रवेशपछि अप्रिल २७ मा चड्ढाले एक विस्तृत भिडियो सन्देशमार्फत आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरे । उनले आपभित्रको विषाक्त कार्य वातावरणलाई मुख्य कारण बताउँदै सात जना सांसद एकैसाथ गलत हुन नसक्ने तर्क अघि सारे ।

यद्यपि, आपले यस कदमलाई अवैध र असंवैधानिक भन्दै कडा विरोध जनायो । तर, राज्यसभा अध्यक्ष सिपी राधाकृष्णनले सातै जना सांसदको भाजपामा विलयलाई आधिकारिक मान्यता दिएसँगै यो राजनीतिक प्रक्रियाले पूर्णता पाएको छ, जसले माथिल्लो सदनमा भाजपाको शक्तिलाई थप सुदृढ बनाएको छ ।

ललनटप मिडियाको भिडियो रिपोर्टिङअनुसार, सम्पूर्ण अपरेसनको संयोजन केन्द्रीय मन्त्री पियूष गोयल र भाजपाका राष्ट्रिय महामन्त्री तरुण चुघले गरेको बुझिएको छ । यसको मुख्य अनुगमन भने बङ्गालमा चुनावी अभियानमा रहेका केन्द्रीय गृहमन्त्री अमित शाहले गरिरहेका थिए ।

अब राज्यसभामा आपसँग केवल तीन सांसद (सञ्जय सिंह, एनडी गुप्ता र बलवीर सिंह सींचेवाल) मात्र बाँकी छन् ।

आप नेता सञ्जय सिंहले यसलाई केन्द्र सरकारको षड्यन्त्र भन्दै पञ्जाबमा भगवन्त मान सरकारलाई अस्थिर बनाउन ईडी र सीबीआईको डर देखाइएको आरोप लगाएका छन् ।

तर, यसले आगामी पञ्जाब विधानसभा चुनावमा भाजपालाई नयाँ शक्तिका रूपमा उभ्याउने सङ्केत गरेको छ । केजरीवालले अब ‘भिक्टिम कार्ड’ खेलेर जनताको सहानुभूति बटुल्ने प्रयास गर्छन् वा यो घाटा उनको राजनीतिक भविष्यका लागि महँगो साबित हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

आफ्नै शब्दपाशमा फसेका एक ‘आइकन’ को पतन

राजनीतिमा नैतिकता र अवसरवादबीचको रेखा कति धमिलो हुन्छ भन्ने उदाहरण राघव चड्ढाको पछिल्लो कदमले पुष्टि गरेको छ । भाजपालाई ‘लोकतान्त्रिक मूल्यको हत्यारा’ र ‘हर्स ट्रेडिङ’ मा लिप्त शक्ति भन्ने चड्ढा आज आफैँ सोही दलको शरणमा पुगेका छन् । हिजोका उनकै कडा भाषणहरू आज उनको राजनीतिक इमानदारीका लागि सबैभन्दा ठूलो शत्रु बनेका छन् ।

अहिले सामाजिक सञ्जालमा चड्ढाका पुराना भिडियोहरू व्यापक फैलिरहेका छन् । सन् २०२१ को पञ्जाब चुनावताका उनले भाजपाले ‘आफ्नो पार्टीको एउटा साधारण कार्यकर्तालाई समेत किन्न नसक्ने’ भन्दै चुनौती दिएका थिए ।

भाजपालाई ‘धोखाधडीको पार्टी’ भन्ने र आफ्ना कार्यकर्तालाई विपक्षीका प्रलोभन रेकर्ड गर्न सिकाउने तिनै चड्ढा आज भाजपामा समाहित हुनुलाई धेरैले राजनीतिक विडम्बनाको पराकाष्ठा मानेका छन् ।

पार्टी छाडेको तीन दिनपछि सार्वजनिक भिडियोमा चड्ढाले आपभित्र अहिले विषाक्त कार्य-संस्कृति मौलाएको र आफूलाई ‘मौन’ बनाइएको आरोप लगाएका छन् । आफूलाई गलत पार्टीमा रहेको सही मान्छेका रूपमा चित्रण गर्दै उनले भाजपा प्रवेशलाई बाध्यताको उपज बताएका छन् । उनीसँगै सात जना सांसदले सामूहिक रूपमा पार्टी त्याग्नुले आपभित्रको आन्तरिक कलह र गहिरो असन्तुष्टिलाई थप सतहमा ल्याइदिएको छ ।

चड्ढाले आफ्नो निर्णयलाई जति नै तर्कपूर्ण देखाउन खोजे पनि नयाँ पुस्ताका मतदाताले उनलाई विश्वासघातीको दर्जा दिएका छन् । भाजपा प्रवेशको २४ घण्टाभित्रै उनले इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स गुमाएका छन् ।

यो सङ्ख्या पछि बढेर २० लाखसम्म पुग्यो । सामाजिक सञ्जालमा चल्दै गरेको ‘#UnfollowRaghavChadha’ ट्रेन्डले उनलाई एक समयको युवा आइकनबाट पाखण्डी नेता को श्रेणीमा पुर्याइदिएको छ ।

विशेषगरी जेनजी मतदाताहरूका लागि चड्ढाको यो ‘यू-टर्न’ स्वच्छ राजनीतिक सपनाको अन्त्य हो । हिजोका क्रान्तिकारी चड्ढा र आजका सत्ताका आकाङ्क्षी चड्ढाबीचको यो अन्तरले उनको दशक लामो राजनीतिक पूँजीलाई क्षणभरमै कमजोर बनाइदिएको छ ।

दलबदल कि धरपकड ?

भारतीय सञ्चारकर्मी रविश कुमारले यी समग्र घटनाक्रमलाई राजनीतिक धरपकडको नाम दिएका छन् । यस तर्कलाई पुष्टि गर्नका लागि उनले सन्दीप पाठकको अभिव्यक्तिको उदाहरण दिएका छन् । पञ्जाबमा आपलाई ऐतिहासिक जित दिलाउन पर्दापछाडिबाट मुख्य रणनीतिकारको भूमिका निभाएका पाठक कुनै आक्रोश वा उमङ्गबिना नै अलग भए ।

‘मेरो कसैसँग व्यक्तिगत समस्या छैन, यो परिस्थिति हो,’ उनले भने, ‘म अरविन्द केजरीवाललाई धन्यवाद दिन्छु कि उनले मलाई मौका दिए र मैले पनि ईश्वर साक्षी राखेर त्योभन्दा कयौँ गुणा बढी काम गरेँ ।’

सार्वजनिक रूपमा कमै बोल्ने र बौद्धिक रणनीतिकारको छवि बनाएका पाठकको यो अभिव्यक्तिमा न त पुरानो पार्टीप्रति रिस देखिन्थ्यो, न त नयाँ यात्राप्रति कुनै उत्साह । उनको यो उदासीन शैलीले राजनीतिक वृत्तमा उनलाई किन बीजेपीमा लगियो वा उनी किन जान तयार भए भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।

आम आदमी पार्टी वा त्योभन्दा अघि कङ्ग्रेसमा भएका विभाजनहरू वैचारिक मतभेदका कारण नभई केन्द्रीय एजेन्सीहरूको दबाबका कारण भएको कोणबाट रविशले हेरेका छन् । जसलाई प्रवर्तन निर्देशनालय (ईडी) ले समात्यो, सिबिआईले घेर्यो वा आयकर विभागले खेद्यो, उनीहरू नै अन्ततः बीजेपीमा ओत लाग्न पुगेका छन् । यस प्रक्रियाले एकातिर नेताहरूलाई अपराधी बन्नबाट जोगाएको छ भने अर्कोतिर उनीहरूलाई रातारात राष्ट्रवादीको नयाँ पगरी भिराइदिएको छ ।

अशोक मित्तलजस्ता नेताहरूको हकमा पनि यही सूत्र लागु भएको देखिन्छ । मित्तलको घरमा इडीको छापा मारिएको ठ्याक्कै १० दिनमा उनी बीजेपीमा सामेल हुनुले यो धरपकडको राजनीतिको पुष्टि गर्दछ ।

राघव चड्ढाले सातै जनाको हस्ताक्षर सुरक्षित रहेको दाबी गरे पनि सन्दीप पाठकको अलमलपूर्ण अभिव्यक्तिले यो एकता कति स्वेच्छिक र कति बाध्यात्मक छ भन्ने बहस छेडिदिएको छ ।

चड्ढाको बहिर्गमन र अन्य पुराना नेताको बहिर्गमनमा के फरक छ ?

शुक्रबार आम आदमी पार्टीका पूर्वनेता, संस्थापक र वकिल प्रशान्त भूषणले ट्विट गरे, ‘जुन सात जनाले आप छोडेर बीजेपीको हात समातेका छन् र जसले पहिले आप छोडेका थिए, उनीहरूमा के फरक छ ? जसले पहिले छोडेका थिए, उनीहरू पार्टीबाट तब अलग भए जब केजरीवालले ती सिद्धान्तहरूसँग सम्झौता गरे जसमा पार्टी स्थापना भएको थियो । राघव चड्ढासमेत बाँकी टोलीले सत्ताको सबै सुख भोगे, राज्यसभाको टिकट पाए । यिनीहरूले मात्र र मात्र अवसरवादको इरादाले बीजेपी जोइन गरेका हुन्, कुनै सिद्धान्तका लागि होइन ।’

भूषणको यस ट्विटले परोक्ष रूपमा पार्टीको मर्मस्थलमा नै प्रश्न गरेको देखिन्छ । अवसरवादी मानिसहरूले राज्यसभाको टिकट पाउनु र सिद्धान्तनिष्ठ मानिसहरू पार्टीबाट बहिर्गमित हुनुको विचित्रताबारे यस ट्विटले बोलेको देखिन्छ ।

‘आप’ बाट सात सांसदको सामूहिक बहिर्गमनले पार्टीको स्थापना र यसको वैचारिक जगमाथि नै प्रश्नहरू पनि खडा गरिदिएको छ । अप्रिल २४ देखि सामाजिक सञ्जालमा आपको उदय र अन्ना आन्दोलनको पछाडि आरएसएसको योजना रहेको दाबीसहितका बहसहरू तीव्र भएका छन् ।

धेरैले यसलाई ‘बीजेपीको बी-टिम’ आफ्नो असली घर फर्किएको टिप्पणी गरिरहेका छन् भने कतिपयले अरविन्द केजरीवाललाई अन्ना आन्दोलनमा आरएसएसको भूमिकाबारे स्पष्टीकरण दिन चुनौती दिइरहेका छन् ।

केजरीवालले पार्टीका पुराना र वैचारिक नेताहरूलाई पाखा लगाएर धनकुबेरहरूलाई राज्यसभा पठाएको विषय अहिले सबैभन्दा बढी आलोचित बनेको छ । प्रशान्त भूषण र योगेन्द्र यादवजस्ता संस्थापकहरूलाई पार्टीबाट निकालियो, तर उनीहरू सिद्धान्तमा अडिग रहेर बीजेपीमा गएनन् ।

अर्कोतर्फ, आपसँग कुनै सरोकार नभएका र कहिल्यै सक्रिय राजनीतिमा नदेखिएका व्यक्तिहरूलाई राज्यसभा पठाइयो, जो आज अवसर पाउनेबित्तिकै बीजेपीको शरणमा पुगेका छन् ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?