१७ वैशाख, पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा शुक्रबारबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउन लागेका हुन् । गोल्डकपको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ ।
पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।
‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’, उनले भने ।
पहिलो संस्करण भएकाले धेरै चुनौति रहेको उनले बताए । क्लबले हालैमात्र एन्फाको आयोजनामा भएको महिला लिग छनोटमा सहभागिता जनाएको थियो । क्लबको अबको मुख्य योजना नै राष्ट्रिय उपाधि जित्ने र प्रतिभाशाली युवा खेलाडीहरूलाई खेलसँगै शिक्षाको अवसर प्रदान गर्ने रहेको रहेकाले प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए ।
‘हामीले पहिलो पटक पोखरा रंगशालामा प्रथम महिला पोखरा गोल्ड कप आयोजना गर्ने तयारी गरेका छौं । अवसर र चुनौति दुवै छन् त्यसलाई पार गर्दै अघि बढ्नेछौं’, उनले थपे ।
वैशाख १८ देखि २० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4