News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले चैत ३० गते ए डिभिजन लिगको उद्घाटन खेल गर्ने घोषणा गरेको छ ।
- १४ ए डिभिजन क्लबहरूले एन्फाले मिति तोके पनि सहमति र तयारीबिना लिग खेल्ने अन्यौलमा रहेको बताएका छन् ।
- एन्फाले क्लबहरूसँग छलफल नगरी अर्ली इलेक्सनका कारण लिग मिति तोकेको र निर्वाचन स्थगित गर्न राखेपले निर्देशन दिएको छ ।
१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत ३० मा शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खेलाउने घोषणा गर्यो । नेपाल फुटबल खेलाडी संघको तालाबन्दीपछि एन्फा एक हजार बढी दिन हुन नसकेको लिग गर्ने निर्णयमा पुगेको हो । एन्फाले खेलाडीसँग सहमति गर्दै फागुन २६ गते पत्रकार सम्मेलनमार्फत ए डिभिजन लिग सुरु गर्ने जानकारी दिए पनि तोकिएकै मितिमा हुनेमा हुनेमा क्लबहरूको आशंका कायमै छ ।
पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि विस २०७९-८० मा शहीद स्मारक ए डिभिजन लिग आयोजना भएको थियो । त्यसपछि दुई सिजन ए डिभिजन लिग नै भएन भने यस सिजनको लिग पनि लगभग टर्ने स्थितीमा छ ।
ए डिभिजन लिग गर्ने एन्फाको पछिल्लो निर्णयपछि ‘ए डिभिजन’ क्लब चर्च ब्वाइजका अध्यक्ष टंकलाल राईले व्यंग्य गर्दै तोकिएको समयमा हुनेमा आंशका जनाए । उनले सामाजिक सञ्जालमा ठट्यौली पारामा लेखेका छन्, ‘यहि चैत ३० गतेबाट नै लिग भयो भने म पात काटेर कानमा राखदिन्छु ।’
उनीमात्र होइन, १४ ए डिभिजन क्लबहरू नै चैत ३० बाट लिग सुरु हुनेमा विश्वस्त छैनन् र लिग खेल्ने/नखेल्ने अन्यौलमा छन् । एन्फाले क्लबसँग छलफल नै नगरी मिति तोकेको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । साथै क्लबसँगको सहमति कार्यान्वयन गर्नसमेत उनीहरुको माग छ ।
लिगको मिति तोकेकै दिन विज्ञप्ति जारी गर्दै क्लबहरुले बारम्बार सहमति र सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने एन्फा कार्यशैलीप्रति आपत्ति जनाए ।
अहिले राष्ट्रिय लिग चलिरहेको छ । १४ मध्ये १३ ए डिभिजन क्लबले उक्त लिग खेलिरहेका छन् । लिग चैत २९ गतेसम्म चल्नेछ । तर, त्यसको ३-४ दिनअघि लिग सक्ने र चैत ३० मा ए डिभिजन लिगको उद्घाटन खेल गराउने तयारी एन्फाको छ । तर, क्लबहरु भने एन्फा नै ए डिभिजन लिग गराउने पक्षमा नरहेको आरोप लगाउँदै आएका छन् ।
लिग गर्नका लागि नभई क्लबहरुलाई नराम्रो बनाउन मात्र यो सहमति गरिएको मछिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठको आरोप छ ।
‘जब खेलाडीहरु आएर ताला लगाएपछि मात्र सहमति गरेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘साँच्चै लिग गराउने भावना छैन । गराउने हो भने त मैदान पाउनुपर्यो नि त । क्लबहरुलाई नराम्रो पार्नका लागि मात्र यो सहमति गरेको हो ।’
सम्झौताअनुसार लिग गराए ६ महिना पनि खेल्न तयार रहेको फ्रेण्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाह बताउँछन् । उनी भन्छन्, ‘हामी क्रिकेटको जस्तै माहोल बनाउँछौँ, राष्ट्रिय लिग खेल्दिनू भन्नुभएको थियो,’ उनी भन्छन्, ‘जहिल्यै पनि झुटो मात्र बोल्नुभयो । सम्झौताअनुसार लिग गराए हामी ६ महिना पनि खेल्न तयार छौँ ।’
एन्फाले बिहीबार १३ ए डिभिजन क्लबलाई टिम दर्ताका लागि पत्र काटेको छ । लिगमा १४ क्लब हुने व्यवस्था रहे पनि एपीएफ फुटबल क्लब र थ्री स्टार क्लबमध्ये कसलाई ए डिभिजनको मान्यता दिने भन्ने विषय स्पष्ट नहुँदा एन्फाले १३ क्लबलाई मात्र दर्ताको लागि पत्र पठाएको हो ।
ए डिभिजन क्लबकै हैसियतमा हाल राष्ट्रिय लिग खेलिरहेको एपीएफ र उच्च अदालत पाटनबाट ए डिभिजन क्लबको मान्यता रहने आदेश पाएको थ्री स्टार दुवैलाई भने एन्फाले पत्राचार गरेको छैन । एन्फाले हालसम्म कुनै निर्णय दिन नसक्दा दुवै टोली अन्यौलमा छन् । अदालतको फैसला नै अन्तिम निर्णय नहुने भन्दै यस विषयमा एन्फाको लेगल टिमसँग छलफलमा रहेको र उनीहरुको राय आएपछि मात्र कुन क्लबले ए डिभिजन हैसियत पाउने निर्णय हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए ।
टिम दर्ताका लागि चैत २० र खेलाडी, अफिसियल दर्ताका लागि चैत २२ देखि वैशाख १८ गतेसम्मको मिति तोकिएको छ । राष्ट्रिय लिग खेलिरहेका क्लबहरु टिम दर्ता गर्ने कि राष्ट्रिय लिग खेल्ने अन्यौलमा छन् । राष्ट्रिय लिगका लागि खेलाडी अनुबन्ध गरेका क्लबलाई तत्कालै ए डिभिजन लिगको लागि आर्थिक जोहो कसरी गर्ने भन्ने तनाव आइलागेको छ ।
एन्फाले तोकेको समयमा खेलाडी भित्र्याउने समयसमेत नभएको मछिन्द्र क्लबका अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘राष्ट्रिय लिगका लागि खेलाडीलाई चैतसम्म अनुबन्ध गरेका छौं । ए डिभिजन लिगका लागि कहिले खेलाडी भित्र्याउने, कहिले खेल्ने ?,’ उनी भन्छन्, ‘लिग गर्ने त चाहना नै छैन । गर्ने भए त छलफल गर्नुपर्थ्यो ।’
खेलाडी संघले लगाएको तालाबन्दी खोल्न सम्झौता गरेको एन्फा आफैँसँग तोकिएको समयमा ए डिभिजन लिग गर्ने ठोस योजना छैन ।
न ए डिभिजन लिग खेल्ने सबै टोलीको टुंगो लगाउन सकेको छ न कुन फर्म्याटमा खेलाउने तय नै गर्न सकेको छ । आन्दोलनमा उत्रिएको खेलाडी संघलाई थुमथाम पार्न मिति तोकेको एन्फाले लिगको मोडालिटी नै तयार पारेको छैन ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्र कुन तरिकाले लिग खेलाउने भन्नेबारे क्लबहरूसँग छलफल गरेपछि मात्रै टुंगो लाग्ने बताउँछन् । एन्फाले नै क्लबहरूसँग आगामी वर्ष मात्रै लिग गराउने सहमति गरेर यता खेलाडी संघसँग भने यही चैत ३० देखि प्रतियोगिता गराउने अर्को सहमति गरेको छ ।
खेलाडी संघको विरोधपछि एन्फा यस वर्ष नै लिगको मिति तोक्न बाध्य भएको थियो । ‘चैत ३० गते उद्घाटन खेल खेलाउने र त्यसपछि बाँकी खेल वैशाख २० गतेबाट गर्ने योजना छ,’ मिश्र भन्छन्, ‘राष्ट्रिय लिगलाई ३-४ अगाडि सकाउने तयारी छ ।’
एन्फाले यसअघि ए डिभिजन क्लबहरूसँग लिग ‘होम एन्ड अवे’को आधारमा सञ्चालन गर्ने सम्झौता गरेको थियो । यस्तै क्लबहरूलाई होम ग्राउन्ड उपलब्ध गराउने प्रतिवद्धतासमेत एन्फाको थियो । तर, अहिले एन्फा त्यसतर्फ वास्ता नगरी लिगको मिति तोकेको क्लबहरुको आरोप छ ।
विधानविपरीत अर्लि इलेक्सन गर्ने एन्फाको गतिविधिप्रति पनि उनीहरु असन्तुष्ट छन् । हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा क्लबहरुसँगको सम्झौता कार्यान्वयन भएपछि मात्रै लिग खेल्ने बताउँछन् । ‘प्लेयर ट्रान्सफरको समय छैन । होम एण्ड अवेका लागि पुर्वाधार निर्माण गरिदिने सम्झौता भएको छ । त्यसमा पनि एन्फाको कुनै छलफल छैन,’ उनी भन्छन्, ‘एएफसीले मान्यता नदिएको लिग खेलेर के अर्थ ?’
खेलाडी संघको तालाबन्दीपछि एन्फाले हतारहतार विज्ञप्ति जारी गरेर माग पूरा गर्न तयार भएको जानकारी गरायो । एन्फाले तत्कालै खेलाडी संघलाई वार्तामा बोलायो । र, राष्ट्रिय लिग सकिएको एक दिनपछि नै ‘ए’ डिभिजन लिग गर्ने सम्झौता गर्यो । त्यसमा न क्लबहरुसँग छलफल गर्यो न कुनै तयारी ।
एन्फा मिति तोक्न अघि सर्यो । त्यसको पछाडिको कारण भनेको अर्लि इलेक्सन नै हो । तालाबन्दीका कारण नेतृत्वमा पुनः दोहोरिने दाउका साथ अघि बढाएको इलेक्सन रोकिने डर एन्फालाई थियो । त्यसकारण पनि हतारहतार सहमति गरिछाड्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १३ गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । ए डिभिजन क्लबहरुले पनि विधान विपरीतको निर्वाचन रोक्न आग्रह गरेका छन् ।
यता एन्फा जसरी पनि निर्वाचन गर्ने र नेतृत्वमा दोहोरिने रणनीतिमा पङ्कज नेम्वाङ छन् । एन्फा निर्वाचनका कारण लिगको तयारीमा कुनै असर नपर्ने प्रवक्ता सुरेश शाह बताउँछन् ।
प्रतिक्रिया 4