News Summary
Generated by OK AI. Editorially reviewed.- अल नेपाल स्पोर्ट्स फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा \'वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६\' सम्पन्न भएको छ ।
- कनक्लेभमा नेपाली खेलकुदमा महिलाको उपलब्धि र चुनौतीबारे छलफल भएको थियो ।
- नेपालमा संगठित खेलकुदमा महिलाको सहभागिता करिब ८ प्रतिशत मात्र रहेको र यस असन्तुलनलाई कम गर्न कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ ।
१ चैत, काठमाडौं । अल नेपाल स्पोर्ट्स फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शनिबार राजानीमा ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ आयोजना गरेको छ ।
स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, ओलम्पिक कमिटी तथा खेल विज्ञहरूको सहभागितामा भएको कनक्लेभमा नेपाली खेलकुदमा महिलाको उपलब्धि, चुनौती र अवसरबारे गम्भीर छलफल गर्दै समावेशी तथा सशक्त खेल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा खेलकुदमा महिलाले सामना गरिरहेका अवरोध हटाउने, नेतृत्व विकास, लचिलोपन तथा खेलकुदमार्फत आर्थिक सशक्तीकरणका विषयमा विचार–विमर्श गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण ‘बाधा हटाउँदै : खेलाडी यात्रा र लचिलोपन’ शीर्षकको प्यानल छलफल थियो । पहिलो सत्रमा राष्ट्रिय टोलीका खेलाडी दीपा शाही (फुटबल), पूजा महतो (क्रिकेट), सुमित्रा रेग्मी (भलिबल), ओलम्पियन सन्तोषी श्रेष्ठ (एथलेटिक्स) तथा कराते खेलाडी एरिका गुरुङले आफ्नो खेल यात्रा, चुनौती र सफलताका अनुभव सुनाएका थिए । उनीहरूले समाजिक धारणा, पारिवारिक दबाब र पूर्वाधार अभावजस्ता कठिनाइका बाबजुद निरन्तर अभ्यास र आत्मविश्वासले सफलताको बाटो खोल्न सकिने अनुभव सुनाएका थिए ।
प्यानलको दोस्रो सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, महिला खेल विज्ञ सुलोचना सिजख्वा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालमा महिला खेलकुदको विकास, नीति सुधार, प्रशिक्षण, अवसर र खेल पूर्वाधार विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद नीतिमा समयानुकूल सुधार गर्दै महिला खेलाडीलाई थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहबाटै खेलाडीलाई अवसर र प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश तथा संघ सरकार राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नेपाली खेलकुद क्षेत्रमा महिलाले अझै विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै महिला खेलाडी सशक्तीकरणका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल गरिने बताएकी थिइन् ।
खेल विज्ञ सुलोचना सिजख्वाले धेरै महिला खेलाडीले परिवार र खेलकुद करियरबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था रहेको औँल्याएकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले महिला खेलाडीहरूको प्रतिभालाई राज्यले प्राथमिकता दिँदै आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताउँदै फाउन्डेसनसँग आगामी दिनमा सहकार्य गर्दै महिला खेलकुद प्रवद्र्धनमा थप पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण र खेलकुदबीचको सम्बन्धबारे चर्चा गर्दै खेलकुद पर्यटनको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याएकी थिइन् ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले राष्ट्रिय खेलकुदको विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले एकताको सन्देश प्रवाह गर्ने बताइन् ।
निर्मला फाउण्डेसनकी अध्यक्ष निर्मला भण्डारीले अपाङ्ता भएका व्यक्तिहरूका लागि अनुकुलित खेलकुदको महत्वबारे प्रकाश पार्दै समावेशी खेल संरचना विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
मोटर स्पोर्ट्सकी खेलाडी प्रज्ञा कँडेलले आफ्नो खेल यात्रा सुनाउँदै महिलाले निरन्तर मेहनत र साहसका साथ अघि बढेमा अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्न सकिने बताएकी थिइन् ।
उपलब्ध तथ्यांक अनुसार नेपालमा संगठित खेलकुदमा महिलाहरूको सहभागिता करिब ८ प्रतिशत मात्र छ भने पुरुषको सहभागिता करिब २८ प्रतिशत पुगेको छ । यही असन्तुलनलाई कम गर्दै महिला खेलकुदको आवाज बलियो बनाउने उद्देश्यले यस्तो कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4