News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय अम्बिर ढकाल र ३९ वर्षीय पदमबहादुर भण्डारी रहेका छन्, जो चोरी गर्ने उद्देश्यले सहकारीमा प्रवेश गरेका थिए।
- घटनामा घाइते सुरक्षागार्ड छविलाल ढकाल मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौमा उपचाररत छन् र उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग मुद्दा दर्ता गरिएको छ।
१७ वैशाख, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ वर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र बागलुङ घर भई हाल नवलपरासी बस्दै आएका ३९ वर्षीय पदमबहादुर भण्डारी रहेका छन् ।
सहकारी संस्थाका अनुसार सहकारीमा चोरी गर्ने उद्देश्यले आएका उनीहरूले सुरक्षागार्डमाथि आक्रमण गरेका हुन् ।
प्रहरीका अनुसार ६ वैशाख राति भण्डारी ताला फुटाएर सहकारी भवनभित्र प्रवेश गरेका थिए । चोरी गर्ने उद्देश्यसहित गएका उनले सुरक्षागार्ड छविलाल ढकाललाई फलामको रेन्चीले टाउको लगायत शरीरका विभिन्न भागमा हिर्काएर गम्भीर घाइते बनाएर फरार भएका थिए ।
‘पैसा खोज्दा नभेटेपछि सुरक्षागार्ड सुतिरहेको कोठाभित्र पसेर भण्डारीले फलामे रेन्चीले हिर्काउन थालेछन्,’ प्रहरी निरीक्षक सरोज कार्कीले भने, ‘सुरक्षागार्डले साइरनको बटम थिच्न भ्याएछन्, साइरन बजेपछि उनी त्यहाँबाट भागेका रहेछन् ।’
घटना लगतै फरार रहेका उनीहरूलाई १३ वैशाखमा पक्राउ गरिएको कार्कीले बताए ।
ढकाललाई चितवन र भण्डारीलाई नवलपरासीबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
सम्बन्धित जिल्लाका प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको छ ।
घाइते ढकाल मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौमा उपचाररत छन् ।
सीसीटीभी फुटेजको सहयोगमा पक्राउ
घटना पश्चात फरार रहेका उनीहरूलाई सहजै पहिचान गर्न सक्ने अवस्था थिएन । सहकारीको सीसीटीभी फुटेजमा भण्डारी एक्लै रेनकोट र मास्क लगाएर भवनभित्र प्रवेश गरेको देखिन्छ ।
रेनकोट, मास्क, रेन्ची लगायतका सामान किनेको पसलको खोजी गर्न प्रहरीले सुरु गर्यो । इलाका प्रहरी कार्यालय आरुघाटका इन्चार्ज प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमान्डमा टोली परिचालन भयो । अन्तत: आरुघाटको एउटा पसलबाट भण्डारीले फलामको रेन्ची किनेको पत्ता लाग्यो । सीसीटीभी फुटेजमा देखिएको व्यक्ति अम्बिर ढकालको घरमा आइराख्छ भन्ने स्थानीयले पत्ता लगाए र प्रहरीलाई जानकारी दिए ।
सोही सूचनाको आधारमा प्रहरीले ढकालको खोजी सुरु गर्यो । चितवनबाट उनलाई पक्राउ गर्न सफल भयो ।
‘घटनाबारे सोध्दा पहिले स्वीकार गरेन,’ श्रेष्ठले भने, ‘पछि केरकार गर्दै गएपछि स्वीकार गर्यो अनि उसको माध्यमबाट भण्डारीलाई पनि पक्राउ गर्न सफल भयौं ।’
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4