+
+
Shares

विपन्न दलित परिवारलाई बाख्रा पाल्न अनुदान

गत वर्ष सिमलखेतका अति विपन्न ११ दलित परिवारका लागि प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १४:२५
प्रतीकात्मक तस्वीर

१९ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमसहित अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित समुदायलाई बाख्रा तथा कुखुरापालनसम्बन्धी सातदिने तालिम दिन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख भीमबहादुर बुढाका अनुसार तालिममार्फत सहभागीलाई सीपयुक्त बनाउँदै आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ । ‘विज्ञ प्रशिक्षकमार्फत तालिम प्रदान गरी दलित समुदायको आयआर्जन वृद्धि गर्ने र आर्थिक अवस्था उकास्ने उद्देश्य छ’, उनले भने, ‘कार्यक्रमले आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

वडा कार्यालयमार्फत अतिविपन्न दलित परिवार छनोट गरी तालिम प्रदान भइरहेको छ । ‘सानो पुँजीबाट पनि व्यावसायिक काम सुरु गरेर जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण समाजमा थुप्रै छन्’, उनले भने ।

यस कार्यक्रमले समुदायको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने विश्वास रहेको कार्यालय प्रमुख बुढाले बताए ।

तालिममा सहभागीहरूलाई तालिमपश्चात बैंक खातामार्फत जनही २५ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने योजना रहेको उनले बताए ।

नगर उपप्रमुख कल्पना पन्तले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र अनुदान रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । ‘अनुदान रकमको सही प्रयोग भए–नभएकोबारे नियमित अनुगमन गरिनेछ’, उनले भनिन् ।

वडाध्यक्ष लालबहादुर ऐरले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरणा दिने उल्लेख गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

गत वर्ष सिमलखेतका अति विपन्न ११ दलित परिवारका लागि प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको थियो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?