+
+
Shares

गोरखाको छेवेटारमा खरबुजा खेतीको परीक्षण सफल, विस्तार गर्ने तयारी

विकास मरहट्टा विकास मरहट्टा
२०८३ वैशाख १९ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिका–१० छेवेटारमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ र स्थानीयले बिक्री वितरण सुरु गरिसकेका छन्।
  • स्थानीय मुलुकी कृषि सहकारी संस्थाले चार हजार बिरुवा लगाएर करिब ६ रोपनी जग्गामा खरबुजा खेती गरेको छ र नगरपालिकाले तालिम र सहयोग गरेको छ।
  • खरबुजा खेती सफल भएपछि अन्य स्थानीयले पनि खेती विस्तार गर्ने योजना बनाएका छन् र वडा अध्यक्षले प्रोत्साहन गर्ने बताए।

१९ वैशाख, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ । परीक्षणको रुपमा बगरमा गरिएको खेती सफल भएपछि स्थानीय खुशी छन् ।

गोरखा नगरपालिकाको सहयोगमा स्थानीय मुलुकी कृषि सहकारी संस्थाले सरस्वती जातको खरबुजा खेती गरेको हो । बगरको करिब ६ रोपनी जग्गामा चार हजार बिरुवा लगाइएको छ । अहिले बिक्री वितरण समेत हुन थालेको संस्थाकी अध्यक्ष पुष्पा कुमालले बताइन् ।

‘खरबुजा खेती गर्ने भनेर हामीले नगरपालिकासँग समन्वय गर्‍यौ,’ उनले भनिन्, ‘नगरपालिकाले सहयोग गर्छु भनेपछि हामी अघि बढेका हौं ।’ छेवेटारस्थित दरौदी नदी बगरको काँस घारी पन्छाएर खेती थालिएको उनले जानकारी दिइन् ।

उनका अनुसार वडा कार्यालयसँग समन्वय गरेर जग्गा प्राप्त गरिएको हो । काँस घारीले ढाकिएको जग्गा अहिले खरबुजाले भरिएको छ । महिलाहरु मात्र आबद्ध उक्त संस्थाले समूहमा काम बाँडफाँड गरी खरबुजा खेतीमा अग्रसरता देखाएको हो ।

‘बगरभरी पुरै काँस थियो, त्यसलाई पन्छायौ, ड्याङ बनायौ अनि मलजल गरेर खरबुजा रोप्यौं,’ कुमालले भनिन् । पाँच हजार विरुवा जमाएपनि चार हजार मात्र रोपिएको उनले बताइन् ।

यसअघि सो क्षेत्रमा कसैले पनि खरबुजा खेती गरेका थिएनन् । पहिलो पटककै प्रयासमा राम्रो उत्पादन हुन थालेपछि उनीहरु दंग छन् । सोचेभन्दा धेरै फलेको भन्दै सो क्षेत्रमा खरबुजा खेती राम्रो हुने स्थानीयले बताएका छन् ।

खेती गर्नु अघि नगरपालिकाले उनीहरुलाई तालिम समेत उपलब्ध गराएको थियो । गत पुस महिनामा तालिम लिएर उनीहरुले माघमा बिउ जमाए । फागुनमा रोपे । बैशाखमा उत्पादन सुरु भएर विक्री वितरण हुन थाल्यो । छोटो समयमै उत्पादन हुने भएपछि खरबुजा खेतीतर्फ स्थानीयहरु थप आकर्षित हुन थालेका छन् ।

अहिले उत्पादन भएको खरबुजा स्थानीय स्तरमै बिक्री हुने गरेको कुमाल बताउँछिन् । मिठो स्वाँद भएकाले पनि स्थानीयको रोजाईमा पर्ने गरेको उनले सुनाइन् । ‘एक त आफ्नै ठाउँमा फलेको कस्तो हुदो रहेछ भन्ने भयो, अर्काे स्वाँद मिठो भएकाले पनि धेरैले खोज्नुहुन्छ,’ उनले भनिन् । प्रति केजी ६० रुपैँयामा धमाधम बिक्री भइरहेको उनले बताइन् ।

खरबुजा खेती सफल भएपछि अन्य स्थानीयहरु पनि खेती गर्ने सोचमा छन् । समूहले पनि अन्य जग्गामा खेती विस्तार गर्ने योजना बनाएको छ । ‘सफल हुन्छ भन्ने थाहा भयो, अव हामी पनि अन्य जग्गा खोजेर खेतीलाई बिस्तार गर्छाै,’ संस्थाकी अध्यक्ष कुमालले बताइन् ।

वडामा खरबुजा खेतीका लागि प्रोत्साहन गरिने वडाध्यक्ष प्रदिप कुँवरले बताए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?