News Summary
Generated by OK AI. Editorially reviewed.- १९ वर्षीया प्रतीक्षा दलित परिवारकी युवती हुन् जसले आमाको मृत्यु र आर्थिक अभावका बाबजुद १२ कक्षा उत्तीर्ण गरिन्।
- प्रतीक्षाले आमाको उपचार खर्च तिर्न सुनको मुन्द्रा बेचिन् र अहिले परिवारको जिम्मेवारी बोकी रिसोर्टमा काम गरिरहेकी छिन्।
- उनको कथा आर्थिक अभाव र सामाजिक विभेदले हजारौं प्रतिभाशाली बालबालिकाको सपना अधुरो रहन सक्ने स्पष्ट सन्देश दिन्छ।
वसन्त ऋतुको त्यो बिहान। बेगनास तालको किनार। ताल वरिपरिका रूखमा नयाँ पालुवा उम्रँदै थिए। न पूरै हरियो, न त पूरै पहेंलो; उनीहरूले आफ्नो वास्तविक रङ देखाउन बाँकी नै थियो। तर त्यही अधुरो रङले पनि तालको रूपलाई अनौठो सौन्दर्यले भरिदिएको थियो।
पानीमा ती रङहरूको छाया परेर ताल आफैं कुनै चित्रकारको अधुरो क्यानभास जस्तो देखिन्थ्यो। बिहानको चिसो हावाले तालका छालहरूलाई हल्का–हल्का जिस्काउँदै थियो। मानौं, उनीहरू पनि कुनै अदृश्य गीतमा झुमिरहेका थिए, म जस्तै। तालसँगै मनका कुराहरू साट्दै थिएँ- शब्द विना, आवाज विना, केवल एकान्त अनुभूतिमा।
त्यत्तिकैमा माथिबाट एउटा आवाज आयो- ‘ए बुने ! तल म्यामलाई कफी लग्दे !’
त्यो आवाजले मेरो र ताल बीचको मौन संवाद अचानक टुट्यो। म अलिकति झस्किएँ र पछाडि फर्केर हेरेँ। हातमा कफीको ट्रे समातेर एक युवती आइरहेकी थिई। उनको चाल सामान्य थियो तर आँखामा कुनै गहिरो थकान लुकेको जस्तो देखिन्थ्यो।
नजिक आइपुगेर उनले हल्का मुस्कान दिंदै भनिन्, ‘गुड मर्निङ, म्याम !’
उनले कफी टेबलमा राखिन्। मैले ‘गुड मर्निङ’ भन्न नपाउँदै उनले फेरि अलिकति फिक्का हाँसो हाँस्दै भनिन्, ‘ह्याप्पी मदर्स डे, म्याम !’
त्यो शब्द सुन्नासाथ एकछिन अचम्म परें। तालको शान्त सौन्दर्य र प्रतीक्षाको मौन पीडा बीच एउटा अदृश्य सम्बन्ध जस्तो महसुस भयो।
मैले सहज रूपमा सोधें, ‘तिम्रो नाम बुने हो ?’
उनले टाउको हल्लाउँदै भनिन्, ‘होइन नि, प्रतीक्षा (नाम परिवर्तन) हो। दाइहरूले मायाले बुने भन्नुहुन्छ।’
मैले जिस्किंदै फेरि सोधें, ‘अनि, कसको प्रतीक्षामा छ्यौ तिमी ?’
त्यो प्रश्नले उनको भित्र लुकेको घाउ छेडियो। उनको अनुहारको मुस्कान अचानक हरायो। आँखाभरि आँसु टिलपिलाउन थाले। एकछिन चुप लागेर विस्तारै उनले भनिन्, ‘आमाको।’ त्यो शब्द यति सानो थियो, तर त्यसको पीडा यति गहिरो र विशाल।
उनले केही नबोली ट्रे समातिन् र चुपचाप फर्किन्। म त्यहीं बसेर हेरिरहें। ताल शान्त थियो। तर अब त्यो शान्त वातावरणमा एउटा अनकही कथा मिसिएको भान भयो- प्रतीक्षाको कथा।
प्रतीक्षाको नाम जस्तै उसको जीवन पनि कुनै न कुनै प्रतीक्षामा बाँधिएको छ। बुटवलको सामान्य परिवारमा जन्मिएकी उनी। परिवारको जीविकोपार्जनको एक मात्र आधार ज्याला मजदुरी थियो। आफ्नै सानो घर भए पनि जमिन थिएन। जसका कारण दैनिक गुजारा चलाउन नै कठिन थियो।
बाआमा दिनभर मजदुरी गरेर छोराछोरीलाई पढाउने प्रयास गर्थे। तर गरिबी मात्र होइन, दलित महिला भएकै कारण प्रतीक्षाले सानैदेखि सामाजिक विभेद पनि भोग्नुपर्यो।
अहिले पनि समाजले उनीहरूलाई बराबरीको नजरले हेर्दैन। साथीको घर जाँदा छुवाछूत, धारामा पानी भर्ने क्रममा भेदभाव, टिभी हेर्दा अपमान, मासु किन्दा हातमा नदिई भुइँमा राखेर दिने जस्ता व्यवहारले उनको आत्मसम्मानमा गहिरो चोट पुर्याएको थियो।
समाजका सार्वजनिक कार्यक्रम, पिकनिक, विवाह, व्रतबन्धमा समेत दलित समुदायलाई बेवास्ता गरिन्थ्यो। यस्ता अनुभवहरूले उनको बाल्यकाल र किशोरावस्थालाई मानसिक रूपमा कमजोर बनाएको थियो। त्यो समाजले जीवनका उत्सवहरूमा उनीहरूको उपस्थिति कहिल्यै चाहेन।
अहिले प्रतीक्षा १९ वर्षकी भइन्। उनी होटल म्यानेजमेन्ट पढ्दै थिइन्। १२ कक्षा पास गर्ने तयारी गर्दै गर्दा जीवनले फेरि एउटा कठोर परीक्षा उनको सामु राखिदियो।
ज्यामी काम गर्दैगर्दा सिमेन्टको धुलो र धुवाँले आमाको घाँटीमा विस्तारै असर गर्न थाल्यो। शुरुमा सामान्य जस्तो देखिएको त्यो समस्या दिनप्रतिदिन गम्भीर बन्दै गयो। महिनौं अस्पताल राखियो, औषधि गरियो। तर पैसा भने सधैं अपुग। गरिबीका कारण उचित उपचार समयमा हुन नसक्दा अन्ततः चुपचाप यो संसारबाट प्रतीक्षाकी आमा बिदा भइन्।
त्यो दिन प्रतीक्षाको जीवनमा केवल आमाको मृत्यु भएन; उनको बाल्यकाल, उनको निश्चिन्तता र उनको संसार नै समाप्त भयो।
त्यो दिनबाट प्रतीक्षाको जीवन दुई भागमा विभाजित भयो। आमा हुँदाको जीवनमा अभाव त थियो, तर आशा पनि। थकान त थियो, तर आड पनि। भोक लाग्दा ‘खायौ ?’ भनेर सोध्ने आवाज थियो। तर आमा नहुँदाको जीवनमा जिम्मेवारी मात्रै थियो, सहारा थिएन। त्यहाँ आँसु थिए, तर पुछिदिने हात थिएन। त्यहाँ सपना थिए, तर पूरा गर्ने आँट थिएन।
१२ कक्षाको परीक्षा दिने बेला प्रतीक्षाको जीवनले फेरि एउटा कठोर परीक्षा लियो। आमाको मृत्यु भएको दुई महिना मात्र भएको थियो। घरमा शोक अझै सकिएको थिएन, आँसु अझै सुकिसकेको थिएन। आमाको उपचार खर्च तिरिसकिएको थिएन। तर विद्यालयले स्पष्ट भन्यो- शुल्क नतिरेसम्म प्रवेशपत्र पाइँदैन।
उनले शिक्षकहरूसँग धेरैपटक अनुरोध गरिन्, ‘सर ! म पछि तिर्छु। अहिले परीक्षा दिन दिनुस्।’ तर उनको समस्या कसैले नबुझेपछि भारी मन लिएर घर फर्किइन्।
घर फर्किएलगत्तै प्रतीक्षाले आत्महत्याको प्रयास गरिन्। बुबाले प्रतीक्षालाई अचेत अवस्थामा देखेपछि अस्पताल लिएर गए। त्यसको ४ दिनपछि प्रतीक्षाको होस आयो। अगाडि बुबा र भाइको मलिन अनुहार देखिन्। आँखाभरि आँसु झार्दै उनीहरूलाई हेरेर मनमनै आफैंसँग बाचा गर्छिन्- ‘अब कहिल्यै आत्महत्याको प्रयास गर्दिनँ।’
६ दिनपछि प्रतीक्षा अस्पतालबाट घर फर्किइन्। घरभित्र सन्नाटा थियो। आमाको सम्झनाले भरिएको त्यो सानो कोठामा एउटा सानो बाकस थियो। त्यसमा आमाको अन्तिम चिनो थियो- कानको सुनको एउटा सानो मुन्द्रा।
त्यो मुन्द्रा हातमा समाउँदा उनका हात काँपिरहेका थिए, आँखाबाट आँसु बगिरहेको थियो। ‘माफ गर आमा ! म तिम्रो सम्झना बेच्दैछु।’
उनले त्यो मुन्द्रा बेचिन् र त्यो पैसाले शुल्क तिरेर परीक्षा दिइन्। त्यो आमाको मायालाई, सम्झनालाई बेचेर आफ्नो भविष्य किन्ने एउटा पीडादायी प्रयास थियो प्रतीक्षाको; जहाँ सुनको सानो मुन्द्राभन्दा भारी आमाको माया थियो र पैसाभन्दा ठूलो उसको सपना।
यही सङ्घर्ष बीच प्रतीक्षाले १२ कक्षा उत्तीर्ण गरिन्।
आमाको मृत्युपछि परिवार झन् सङ्कटमा पर्यो। बुबा चिसोमा काम गर्दा निमोनियाबाट बिरामी परे। परिवारको सम्पूर्ण जिम्मेवारी प्रतीक्षाको काँधमा आयो। अहिले उनी बेगनास तालस्थित एक रिसोर्टमा काम गर्दैछिन् र आफ्नो कमाइबाट आमाको उपचारको ऋण, बुबाको उपचार, भाइको पढाइ र घरखर्च धानिरहेकी छिन्।
आर्थिक अभावले उनको शिक्षा बीचमै रोकिन पुगेको छ। अझै पढ्ने ठूलो इच्छा हुँदाहुँदै पनि ऋण, उपचार खर्च र पारिवारिक जिम्मेवारीले उनलाई विद्यालयबाट टाढा राखेको छ। उनी भन्छिन्, ‘रातभरि रुन्छु अनि बिहान हाँस्दै गएर पाहुनाहरूलाई स्वागत गर्छु।’
उनका हातहरू अब किताब समात्नभन्दा बढी जिम्मेवारी समात्न अभ्यस्त भइसकेका छन्। धेरै पढ्ने र होटलको म्यानेजर हुने सपना ऋण, खर्च र जिम्मेवारीको भारीले थिचिएको छ। तर उनको मनभित्र अझै एउटा सपना जीवितै छ।
यी सबै घटनाहरूले प्रतीक्षालाई मानसिक रूपमा पनि गहिरो असर गर्यो। प्रतीक्षाको कथा केवल एक व्यक्तिको सङ्घर्ष होइन, यो नेपालका धेरै गरिब तथा दलित परिवारका बालबालिकाको साझा कथा हो। आर्थिक कमजोरीले शिक्षा पहुँचमा अवरोध सिर्जना गर्छ। शुल्क तिर्न नसक्नु, पढाइ बीचमै छोड्नुपर्ने अवस्था, मानसिक तनाव र अवसरको कमी जस्ता समस्याहरूले बालबालिकाको भविष्य अन्धकारतर्फ धकेल्छन्।
यसका साथै, सामाजिक विभेदले उनीहरूको आत्मविश्वास कमजोर बनाउँछ र समाजमा समान अवसर पाउने अधिकारलाई सीमित गर्छ। शिक्षा जस्तो आधारभूत अधिकार समेत आर्थिक हैसियतमा निर्भर हुनु गम्भीर प्रश्न हो। आज प्रतीक्षा आफ्नो परिवारको जिम्मेवारी पूरा गर्न सङ्घर्षरत छिन्, तर उनको मनमा अझै पढ्ने ठूलो सपना जीवित छ। यदि राज्य, समाज र सम्बन्धित निकायले समयमै सहयोग पुर्याउन सके भने प्रतीक्षा जस्ता धेरै युवाको भविष्य उज्यालो बन्न सक्छ।
प्रतीक्षाको जीवनले हामीलाई एउटा स्पष्ट सन्देश दिन्छ- आर्थिक अभाव र सामाजिक विभेद हटाउन सकिएन भने हजारौं प्रतिभाशाली बालबालिकाको सपना अधुरै रहनेछ।
बेगनास तालको शान्त पानी जस्तै देखिने प्रतीक्षाको जीवनभित्र गहिरो आँधी लुकेको छ। उनले सानै उमेरमा गरिबी, सामाजिक विभेद, आमाको मृत्यु र परिवारको जिम्मेवारीको भारी एकैसाथ बोकिन्। पढ्ने चाहना हुँदाहुँदै पनि परिस्थितिले उनलाई विद्यालयबाट टाढा बनायो र जीवनको कठोर यथार्थतर्फ धकेल्यो।
तर यी सबै पीडा बीच पनि प्रतीक्षाले हार मानेकी छैनन्। उनका आँसुहरू भित्रै लुकेका छन्, तर अनुहारमा हाँसो छ। उनका सपना थिचिएका छन्, तर मरेका छैनन्। उनी अझै सङ्घर्ष गर्दै छिन्, आफ्नो अधुरो सपना जोगाउन।
प्रतीक्षाको कथा हामी सबैका लागि एउटा ऐना हो, जहाँ हामीले देख्न सक्छौं कि आर्थिक अभाव र सामाजिक विभेदले कसरी एउटा सक्षम र इच्छाशक्ति भएको युवाको जीवनलाई सीमित बनाइदिन्छ। यस्तो अवस्थामा पनि प्रतीक्षाले बाँच्ने र लड्ने साहस जुटाएकी छिन्। त्यो आफैंमा असाधारण शक्ति हो र जीवनको उज्यालो दिनको प्रतीक्षामा छिन् प्रतीक्षा।
प्रतिक्रिया 4