+
+
Shares

ममता बनर्जीको आरोप- निर्वाचन आयोग र केन्द्रीय बल मिलेर धाँधली गर्दैछन्

‘अहिले केही चरणको मात्र गणना भएको छ, १४ देखि १८ चरणको गणना सकिँदा हामी नै जित्नेछौँ । हामी बाघ जस्तै लडिरहनेछौँ’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १५:१३

२१ वैशाख, काठमाडौं । पश्चिम बंगाल विधानसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले भारी अग्रता लिएपछि मुख्यमन्त्री ममता बनर्जीले निर्वाचन आयोग र केन्द्रीय सुरक्षा बलमाथि गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफ्ना पार्टीका एजेन्टहरूलाई कुनै पनि हालतमा गणना केन्द्र नछोड्न अपिल गरेकी छन् ।

रुझानहरूमा भाजपा १९२ सिटमा अगाडि देखिएको र आफ्नो पार्टी तृणमूल कांग्रेस (टीएमसी) मात्र ९६ सिटमा खुम्चिएको अवस्थामा बनर्जीले यसलाई ‘भाजपाको योजना’ को संज्ञा दिएकी छन् । उनले निर्वाचन आयोगले जानाजानी पहिले भाजपाको पकड भएका क्षेत्रको नतिजा देखाएको र टीएमसीको अग्रतालाई लुकाएको आरोप लगाएकी छन् ।

‘म हात जोडेर बिन्ती गर्छु, कुनै पनि एजेन्ट गणना केन्द्रबाट बाहिर नजानुहोस्,’ उनले भनेकी छन्, ‘निर्वाचन आयोगले केन्द्रीय बलसँग मिलेर खेल खेलिरहेको छ । कल्याणी जस्ता ठाउँमा गणना नै नगरिएका मेसिनहरू भेटिएका छन् र कतिपय ठाउँमा गणना रोकिएको छ ।’

आफ्नो पार्टीका कार्यकर्ताहरूलाई ढाडस दिँदै उनले अगाडि भनिन्, ‘हाम्रो कार्यालयमा मानिस जबर्जस्ती पसेर कब्जा गर्ने प्रयास गरिरहेका छन्, केन्द्रीय सुरक्षा बलले अत्याचार गरिरहेको छ । तर, अहिले नै दुखी हुनुपर्ने अवस्था छैन ।’

तृणमूल कांग्रेस अझै ७० देखि १०० सिटमा अगाडि रहेको उनले बताएकी छन् । ‘जसको बारेमा झुट बोलिँदैछ । अहिले केही चरणको मात्र गणना भएको छ, १४ देखि १८ चरणको गणना सकिँदा हामी नै जित्नेछौँ । हामी बाघ जस्तै लडिरहनेछौँ,’ उनले भनेकी छन् ।

मुख्यमन्त्री बनर्जीले आफ्नै राज्यको प्रहरीले समेत केन्द्र सरकारसँग मिलेर काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । भाजपाले बहुमतको आँकडा पार गरिसकेको सुरुवाती रुझानहरूले देखाए पनि बनर्जीले भने अन्तिम नतिजा आफ्नो पक्षमा आउने दाबी गरिरहेकी छन् ।

निर्वाचन आयोगले भने यी आरोपको हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?