२१ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस(कांग्रेस आई) की नेतृ प्रियंका गान्धीले केरल विधानसभा निर्वाचनमा आफ्नो पार्टी नेतृत्वको गठबन्धन युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ)को अग्रतामा खुशी व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत खुशी व्यक्त गर्दै प्रियंकाले मतदातालाई धन्यवाद पनि दिएकी छन् ।
‘केरलका मेरा सबै दाजुभाइ र दिदीबहिनीलाई तपाईँको विश्वार र अपार समर्थनका लागि धन्यवाद,’ उनले एक्समा लेखेकी छन्, ‘तपाईँले हामीमाथि जो भरोसा जताउनुभएको छ, त्यो भरोसा यूडीएफका लागि मार्गदर्शक शक्ति बन्नेछ । किनकि हामी तपाईँ सबैका लागि राम्रो भविष्य बनाउने दिशामा कडा मेहनत गर्नेछौं ।’
प्रियंका केरलकै वायनाड निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित सांसद पनि हुन् । २०२४ को लोकसभा निर्वाचनमा पहिले उनका दाइ राहुल गान्धी वायनाड र उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट चुनाव जितेका थिए । पछि राहुलले वायनाड छाडेर उपनिर्वाचनमा बहिनी प्रियंकालाई लडाएका थिए, जहाँ प्रियंकाले पनि फराकिलो जित निकालेकी थिइन् ।
प्रियंकाले पछिल्लो वक्तव्यमा वायनाडका जनतालाई पनि सम्बोधन गर्दै धन्यवाद दिएकी छन् । ‘म वायनाडमा रहेका आफ्नो परिवारका सदस्क्ष्सँग भन्न चाहन्छु कि तपाईँले यूडीएफमाथि एक पटक फेरि जोडदार जनादेशका साथ भरोसा जताउनुभएको छ, ७ मा ७ वटै सिट ।’
अब वायनाडको विकासका लागि आफूसहित ८ प्रतिनिधि भएको बताएकी छन् । ‘अब तपाईँसँग वायनाडको विकासका लागि मिलेर काम गर्ने ८ प्रतिनिधि भएका छन् । हामी तपाईँको आशामा खरो उत्रने पूरा कोसिस गर्नेछौं,’ प्रियंकाले लेखेकी छन् ।
केरल विधानसभा निर्वाचनमा यूडीएफ फराकिलो जिततर्फ अग्रसर देखिएको छ । केरल विधानसभामा १४० सिटका लागि भएको निर्वाचनमा यूडीएफका उम्मेदवार हालसम्म १०२ सिटमा अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया 4