+
+
Shares

कांग्रेसका पाँच भ्रातृ संगठन स्वतः विघटन, नयाँ कार्यसमिति गठनको जिम्मा सभापतिलाई

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका हुन् ।

केशव सावद केशव सावद
२०८३ वैशाख २२ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू म्याद नथपिएपछि स्वतः विघटन भएका छन्।
  • नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ र लोकतान्त्रिक खेलकुद संघका अध्यक्षहरूले राजीनामा दिएका छन्।
  • सभापति गगनकुमार थापाले विघटन भएका भ्रातृ संस्थाहरूको नयाँ तदर्थ समिति गठन गर्ने जिम्मेवारी पाएका छन्।

२२ वैशाख, काठमाडौं । लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका नेपाली कांग्रेसका विभिन्न पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका हुन् ।

केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।

‘पाँच वटा संस्था स्वतः विघटन भएका छन् । तरुण दल र दलित संघको अध्यक्षले राजीनामा दिनुभयो,’ महामन्त्री प्रदीप पौडेलले भ्रातृ संस्थाको म्याद थप नगरिएको बारे अनलाइनखबरसँग भने, ‘बाँकी तीन वटाको म्याद थप भएन ।’

कांग्रेसले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थाहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने समयसीमा दिएको थियो ।

पछिल्लो समय १६-२३ असार २०८२ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अवधिभित्र कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्ने गरी समयावधि थप गर्ने निर्णय गरेको थियो ।

भ्रातृ संस्थासम्बन्धी सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा ‘सो अनुसार सहजीकरण गर्न पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदा पनि महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएका कारण केन्द्रीय कार्यसमितिको म्याद थपिरहनु आवश्यक नरहेको’ उल्लेख छ ।

बैठकको निर्णयअनुसार म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वतः अवैद्य मानिने छन् । बैठकले सभापति गगनकुमार थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।

अब सभापति थापाले पाँचवटै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि नयाँ तदर्थ समिति गठन गर्ने छन् । ‘म्याद सकिएका भ्रातृ संगठनहरूको नयाँ कार्यसमिति आउँछ । त्यही कार्यसमितिले अधिवेशन सम्पन्न गर्छ,’ महामन्त्री पौडेलले भने ।

१४ औं महाधिवेशनपछि तल्लो तहसम्मै चलायमान बनेको कांग्रेसले आफ्ना भ्रातृ संगठनलाई भने चुस्त–दुरुस्त बनाउन सकेको थिएन । उसका १३ मध्ये अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चल्दै आएका थिए ।

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन भन्दै ३ फागुन ०७८ मा १३ मध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाएको थियो ।

तर, ती तदर्थ समितिहरूले निर्धारित समयावधि सकिएको लामो समय बितिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेका थिएनन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) : कांग्रेसको नर्सरी भनिने नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरको राजीनामा पछि १६ माघ २०७६ मा कांग्रेसले राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।

१४ औं महाधिवशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तत्कालीन सभापति शेरबहादुर देउवाले ९ चैत २०७८ मा दुजाङ शेर्पाको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति बनाएका थिए । शेर्पा नेतृत्वको नेविसंघको तदर्थ समिति ७५२ सदस्यीय थियो ।

नेपाल तरुण दल : कांग्रेसका भ्रातृ संस्थामध्ये तरुण दललाई महत्वपूर्ण भ्रातृ संस्थाका रुपमा हेरिन्छ । तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तत्कालीन सभापति देउवाले ९ चैत २०७८ मा तत्कालीन कोषाध्यक्ष विद्वान गुरुङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्ष बनाएका थिए ।

तरूण दलको केन्द्रीय कार्यसमिति ४०१ सदस्यीय थियो । अध्यक्ष गुरूङले १६ वैशाखमा पदबाट राजीनामा दिएका थिए ।

नेपाल महिला संघ : नेपाल महिला संघको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । अध्यक्ष उमा रेग्मीलाई १४ औं महाधिवेशनपछि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन अवस्थामा थियो ।

महिला संघ नेतृत्वविहीन भएपछि देउवाले २६ साउन २०७९ मा सिराहाकी उषा राउत मिश्रलाई अध्यक्षमा मनोनित गरेका थिए । महिला संघको केन्द्रीय कार्यसमिति ५३ सदस्यीय रहेको थियो ।

नेपाल दलित संघ : २०६९ पछि नेपाल दलित संघको महाधिवेशन हुन सकेको छैन । निवर्तमान सभापति शेरबहादुर देउवाले १३ असोज २०८० मा नेपाल दलित संघको तदर्थ केन्द्रीय समिति गठन गरेका थिए ।
उनले अध्यक्षको जिम्मेवारी लोकबहादुर विश्वकर्मालाई दिएका थिए । अध्यक्ष विशवकर्माले सोमबारमात्रै सभापति थापासमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा पत्रमा पारिवारिक र शारिरिक समस्याका कारण जिम्मेवारी पूरा गर्न असमर्थ रहेको उल्लेख गरेका थिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ : नेपाल लोकतान्त्रिक खेलकुद संघ कांग्रेसको नयाँ भ्रातृ संस्था हो । २०७९ साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले खेलकुद संघलाई भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

निवर्तमान सभापति देउवाले देवेन्द्रकुमार शेरचनको अध्यक्षमा खेलकुद संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । लामो समयसम्म पनि महाधिवेशन गर्न नसकेपछि सोमबारबाट शेरचन नेतृत्वको समिति विघटन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले भ्रात संस्था नेपाल थारु संघको म्याद १७ जेठ सम्मका लाथि थप गरेको छ । १६–१७ जेठमा महाधिवेशन गर्न तय भइसकेकाले थारु संघको म्याद थप गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नेपाल थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ । यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट मान्यता पाएको थियो ।

शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ । निवर्तमान सभापति देउवाले विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका थिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?