+
+
Shares

युरोपमा किन बढ्दैछ अमेरिकी सैन्य उपस्थिति ?

अमेरिकी सेनाको उपस्थिति दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको मेरुदण्ड रहँदै आएको छ । यो उपस्थिति मुख्य रूपमा जर्मनी, इटली, बेलायत र पोल्यान्डमा केन्द्रित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:१७

अमेरिकाको युरोपमा ठूलो सैन्य उपस्थिति छ । त्यहाँ दर्जनौँ अमेरिकी सैन्य अखडा छन् । ती अखडाहरूमा ८० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।

अमेरिकी सेनाको उपस्थिति दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको मेरुदण्ड रहँदै आएको छ । यो उपस्थिति मुख्य रूपमा जर्मनी, इटली, बेलायत र पोल्यान्डमा केन्द्रित छ ।

काउन्सिल अन फरेन रिलेसन्सका अनुसार सन् २०२५ को सुरुवातसम्म युरोपमा अमेरिकी सैनिकहरूको संख्या करिब ८४ हजार थियो । यो संख्या तैनाथी र प्रशिक्षणका आधारमा समय–समयमा घटबढ भइरहन्छ ।

अमेरिकी अनुसन्धान केन्द्रहरूका अनुसार युक्रेन युद्धका क्रममा पूर्वी युरोपमा थप सैनिक पठाइएकाले यो संख्या बढेर ७५ हजारदेखि १ लाख ५ हजारसम्म पुगेको थियो ।

युरोपमा अमेरिकी सैन्य उपस्थितिको सबैभन्दा ठूलो केन्द्र जर्मनी हो । यहाँ रामस्टाइन हवाई बेस छ, जुन अमेरिकाबाहिरको सबैभन्दा ठूलो हवाई बेस हो । युरोपमा अमेरिकी सैन्य कमान्डको मुख्यालय स्टुटगार्टमा छ भने युरोप–अफ्रिकाका लागि अमेरिकी सेनाको मुख्यालय विस्बाडेनमा छ ।  ग्राफेनवोहर र होहेनफेल्स जस्ता सहरमा ठूला प्रशिक्षण केन्द्र पनि छन् ।

जर्मनीमा करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन् । यसबाहेक हजारौँ नागरिक कर्मचारी र तिनका परिवार पनि त्यहाँ बस्छन् ।

सैन्य अखडा र सैनिक संख्याका हिसाबले इटली दोस्रो स्थानमा छ । यहाँ पाँच अमेरिकी सैन्य अखडा छन्, जसमा एभियानो हवाई बेस सबैभन्दा महत्वपूर्ण हो । यो अखडा अमेरिका र इटली दुवैका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण छ । यहाँ करिब साढे आठ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

एभियानो हवाई अखडा उत्तरी इटलीमा भेनिसबाट करिब ८० किलोमिटर टाढा अवस्थित छ । माईबिजगाइड वेबसाइटका अनुसार यो नेटोका सबैभन्दा महत्वपूर्ण सैन्य ठिकानामध्ये एक हो ।

इटलीमा अमेरिकी सेनाका अन्य अखडा पनि छन्, जस्तै– क्याम्प डार्बी, विसेन्जामा क्याम्प एडरले, सिसिलीमा सिगोनेला नौसैनिक बेस र नेपल्समा नौसेना कमान्ड । यसरी इटली अमेरिकाका लागि भूमध्यसागर क्षेत्रमा अत्यन्त महत्वपूर्ण सैन्य केन्द्र बनेको छ ।

रणनीतिक सहयोगी

अमेरिकाका लागि बेलायतको रणनीतिक महत्व धेरै उच्च छ । त्यसैले ब्रिटिश भूमिमा धेरै अमेरिकी सैन्य अखडा रहेका छन् । एक पुरानो र विश्वासिलो साझेदारका रूपमा बेलायतले धेरै अमेरिकी अखडाहरूलाई स्थान दिएको छ ।

अमेरिकी सेना यूरोप में रक्षा से लेकर सैन्य सामान की आपूर्ति का काम भी देखती है

यीमध्ये आरएएफ लेकनहिथमा अमेरिकी एफ–३५ लडाकु विमानहरू तैनाथ छन् । आरएएफ मिल्डेनहोल हवाई अभियान र सैन्य सामग्री आपूर्तिका लागि प्रयोग गरिन्छ । आरएएफ फेयरफोर्डमा ठूला बमवर्षक विमानहरू अवतरण गर्छन् र यसलाई प्राय: नेटोका परमाणु अभियानका लागि प्रयोग गरिन्छ ।

पोल्यान्डमा पनि धेरै अमेरिकी सैन्य अखडाहरू छन्, जसमा रेडजिकोभो बेस सबैभन्दा महत्वपूर्ण हो । यसलाई नोभेम्बर २०२४ मा पहिलो स्थायी बेसका रूपमा औपचारिक रूपमा खोलिएको थियो ।

यो नेटोको मिसाइल रक्षा प्रणालीको हिस्सा हो । क्याम्प कोसियुस्को अमेरिकी सेनाको पाँचौँ कोरको अखडा हो । यसबाहेक बोवेड्ज बेस सैन्य उपकरण भण्डारण र सैन्य सामग्रीका लागि प्रयोग गरिन्छ ।

लास्क एयर बेसमा अमेरिकी वायुसेनाका टुकडी र एफ–१६ विमान तैनाथ छन् । साथै स्कोवेरजिना र बोलेस्लाविएकमा पनि फर्वार्ड अपरेटिङ साइटहरू रहेका छन् ।

पोल्यान्डको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पोल्यान्डमा अमेरिकी सैन्य उपस्थितिको महत्व अझ बढेको छ ।

युरोपमा अमेरिकी सैन्य बेसहरूको सञ्जाल पूरा गर्ने अर्को महत्वपूर्ण अखडा टर्कीमा पनि छ, जसको नाम इन्सिरलिक वायुसेना बेस हो ।

यसलाई मध्यपूर्व र भूमध्यसागर क्षेत्रमा अमेरिकाका लागि सबैभन्दा रणनीतिक अखडामध्ये एक मानिन्छ । यहाँ अमेरिकी वायुसेना र सैन्य अभियानलाई सहयोग गर्ने दलहरू सधैं तैनाथ रहन्छन् ।

युरोपमा रहेका अमेरिकी सैन्य अखडाको भूमिका

युरोपमा तैनाथ अमेरिकी सैनिकहरूले विभिन्न प्रकारका काम गर्छन् । यसमा सीमाको रक्षा गर्ने, सैन्य सामग्री आपूर्ति गर्ने र सहयोगी देशका सेनालाई तालिम दिने जस्ता काम समावेश छन् ।

जर्मनीको ब्युसेल एयर बेसमा अमेरिकी सैनिकहरूले त्यहाँ राखिएका १० देखि २० वटा बी–६१ परमाणु बमको निगरानी गर्छन् । यो जानकारी काउन्सिल अन फरेन रिलेसन्स थिंक ट्यांकको वेबसाइटमा दिइएको छ ।

अमेरिकी नेसनल गार्ड र पूर्वी युरोपेली देशहरूबीचको साझेदारी कार्यक्रमअन्तर्गत पेन्सिलभेनिया नेसनल गार्डका सैनिकहरूले लिथुआनियाली सेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

यसका साथै अमेरिकी १० औँ स्पेसल फोर्सका सैनिकहरूले मुख्य रूपमा जर्मनीमै युक्रेनी सेनालाई विशेष सैन्य अभियानसम्बन्धी तालिम पनि दिइरहेका छन् ।

सन् २०२२ यता अमेरिकाले युक्रेनलाई अन्य कुनै पनि देशभन्दा बढी सैन्य सहयोग प्रदान गरेको छ, जसमा ठूलो मात्रामा हतियार र सैन्य उपकरण समावेश छन् ।

अमेरिकी अनुसन्धान संस्थाहरूका अनुसार युरोपमा अमेरिकी उपस्थितिले युक्रेनी सैनिकहरूलाई नयाँ हतियार चलाउने तालिम दिनुका साथै हतियार र गोला–बारुद युक्रेनसम्म पुर्‍याउन पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

सैन्य तैनाथीका प्रकार

युरोपमा अमेरिकी सेना मुख्य रूपमा चार तरिकाले तैनाथ हुन्छ :

स्थायी तैनाथी : युरोपेली अड्डाहरूमा सधैं रहने सैनिक, जसले रक्षा अभियानको जिम्मा लिन्छन् ।

रोटेसन तैनाथी : समय–समयमा फेरिने सैनिक, तर नेटोको तयारी कायम राख्न लामो समयसम्म युरोपमै रहन्छन् ।

नेसनल गार्ड साझेदारी कार्यक्रम : अमेरिकी नेसनल गार्डका टुकडीहरूले युरोपेली देशका सेनासँग मिलेर तालिम लिन्छन् ।

अस्थायी तैनाथी : संयुक्त सैन्य अभ्यासका लागि छोटो समयका लागि पठाइने टुकडी ।

यसको महत्व के हो ?

विश्वभर रहेका अमेरिकी सैन्य अड्डाहरू रक्षा, कूटनीति र मानवीय अभियानका महत्वपूर्ण केन्द्र हुन् ।

युरोपमा विशेषगरी दोस्रो विश्वयुद्धपछि अमेरिकाको निरन्तर सैन्य उपस्थिति रहँदै आएको छ ।

यो उपस्थिति धेरै महत्वपूर्ण उद्देश्य पूरा गर्छ :

  • पूर्वी क्षेत्रबाट आउन सक्ने खतराविरुद्ध रोकथाम गर्नु
  • अग्रपंक्तिमा रक्षा सुनिश्चित गर्नु
  • संयुक्त तालिम र एकीकृत अभियानमार्फत नेटो गठबन्धनलाई बलियो बनाउनु

माइबिजगाइडका अनुसार दोस्रो विश्वयुद्धपछि युरोपमा स्थिरता कायम राख्न सुरु गरिएको यो सैन्य तैनाथी आज युरोपको सामूहिक सुरक्षा प्रणालीको एक महत्वपूर्ण भाग बनेको छ ।

–बीबीसी हिन्दीको भावानुवाद 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?