+
+
Shares

‘किम्फ २०२६’ का जुरी घोषणा : कुमार नगरकोटीदेखि दीप्ति डी’कुन्हा प्यानलमा

अन्तर्राष्ट्रिय जुरीको नेतृत्व मुम्बईस्थित चलचित्र प्रोग्रामर दीप्ति डी’कुन्हाले गर्नेछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १३:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०२६ जेठ १३ देखि १७ गतेसम्म आयोजना हुँदैछ।
  • अन्तर्राष्ट्रिय जुरीमा थाइल्यान्ड, भारत, इटाली र नेपालका अनुभवी फिल्मकर्मी सहभागी छन्।
  • काठमाडौ डक ल्याब २०२६ का लागि पाकिस्तान, भुटान र भारतका तीन अन्तर्राष्ट्रिय मेन्टर घोषणा भएका छन्।

‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६’ आगामी जेठ १३ देखि १७ गतेसम्म हुँदैछ । महोत्सव आयोजकले अन्तर्राष्ट्रिय जुरी, नेपाल पानोरमा जुरी र काठमाडौं डक ल्याबका मेन्टरको नाम सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय जुरीमा थाइल्यान्ड, भारत, इटाली र नेपालका अनुभवी फिल्मकर्मी तथा स्रष्टा सहभागी छन् । अन्तर्राष्ट्रिय जुरीको नेतृत्व मुम्बईस्थित चलचित्र प्रोग्रामर दीप्ति डी’कुन्हाले गर्नेछिन् ।

उनी समकालीन भारतीय तथा दक्षिण एसियाली सिनेमा क्षेत्रमा परिचित नाम हुन् । उनले सन् २०२३ र २०२४ मा मुम्बई चलचित्र महोत्सवमा कला निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् । साथै, भेनिस, लोकार्नो, कान्सको ‘डाइरेक्टर्स फोर्टनाइट’, रेड सी लगायत अन्तर्राष्ट्रिय महोत्सवसँग लामो समयदेखि सहकार्य गर्दै आएकी छन् ।

अन्तर्राष्ट्रिय जुरीमा थाइल्यान्डकी फिल्म अभिलेखविद् तथा प्रोग्रामर चालिदा उआबुमरुङ्जित पनि छन् । उनी थाइ सर्ट फिल्म एन्ड भिडियो फेस्टिभलकी संस्थापक सदस्यमध्ये एक हुन् । सन् २०१९ देखि उनी थाइल्यान्ड फिल्म आर्काइभकी निर्देशकको रूपमा कार्यरत छिन् । प्रयोगधर्मी चलचित्र र वृत्तचित्र निर्माणमा समेत उनको सक्रियता रहँदै आएको छ ।

इटालीका लुका बिच पनि अन्तर्राष्ट्रिय जुरीमा समावेश छन् । उनले सन् १९९२ मा ‘फिल्मोन्टाग्ना’ पर्वतीय चलचित्र महोत्सव सुरु गरेका थिए, जुन अहिले ३४औँ संस्करणमा पुगेको छ । उनी ‘सेर्भिनो सिनेमाउन्टेन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का कलात्मक सहनिर्देशकसमेत हुन् । अनुसन्धानमूलक र सिर्जनात्मक वृत्तचित्र निर्माणमा उनको विशेष दख्खल मानिन्छ ।

नेपाली साहित्यकार कुमार नगरकोटी पनि अन्तर्राष्ट्रिय जुरीमा छन् । समकालीन नेपाली साहित्यका प्रयोगशील र वैचारिक लेखकका रूपमा परिचित नगरकोटीका सिर्जनाले युवा पुस्तामाझ विशेष प्रभाव पारेका छन् ।

उनका ‘कोमा, ए पोलिटिकल सेक्स’ र ‘झ्यालिञ्चा’ जस्ता नाट्यकृतिले अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रशंसा पाएका छन् । साहित्य, समाज, कला र समकालीन चिन्तनमाथि केन्द्रित ‘यादहरूको दस्तखत’ कार्यक्रमका प्रस्तोतासमेत रहेका नगरकोटीले श्रव्यदृश्य माध्यममार्फत पनि योगदान दिँदै आएका छन् ।

नेपाल पानोरमा जुरीतर्फ निर्देशक नवीन चौहान, एलायन्स फ्राँसे काठमाडौंकी संस्कृति तथा सञ्चार संयोजक लुसी दे बारोस र फिल्म समीक्षक रीना मोक्तान चयन भएका छन् ।

यसैबीच, ‘काठमाडौ डक ल्याब २०२६’ का लागि तीन अन्तर्राष्ट्रिय मेन्टरको पनि घोषणा गरिएको छ । पाकिस्तान/क्यानडाकी फिल्मकर्मी अनम अब्बास, भुटानी वृत्तचित्र निर्देशक अरुण भट्टराई र भारतीय वृत्तचित्र निर्देशक सर्वनिक कौर सूचीमा छन् ।

अनम अब्बास ‘शोगल्र्स अफ पाकिस्तान’ र ‘दाग दाग उजाला’ जस्ता वृत्तचित्रका लागि परिचित छिन् । उनले निर्माण गरेको ‘इन फ्लेम्स’ सन् २०२३ को कान्स चलचित्र महोत्सवमा प्रिमियर भएको थियो ।

अरुण भट्टराई ‘एजेन्ट अफ ह्यापिनेस’, ‘द नेक्स्ट गार्डियन’ र ‘माउन्टेन म्यान’ जस्ता वृत्तचित्रका निर्देशक हुन् । उनको पछिल्लो फिल्म ‘एजेन्ट अफ ह्यापिनेस’ सनडान्स चलचित्र महोत्सवमा ग्रान्ड जुरी पुरस्कारका लागि मनोनयनमा परेको थियो ।

सर्वनिक कौर ‘अगेन्स्ट द टाइड’ र ‘सोज : ए ब्यालेड अफ म्यालडिज’ जस्ता वृत्तचित्रमार्फत परिचित छिन् । समुद्र, भूमि, पहिचान, जलवायु र समुदायबीचको सम्बन्धलाई केन्द्रमा राखेर उनी दीर्घकालीन अवलोकनात्मक वृत्तचित्र निर्माण गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?