+
+
Shares

सुर्खेतमा अब घरघरमै राहदानी सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालयले समझदारी पत्रमा हस्ताक्षर गरी सरकारी कुरियर सेवा सञ्चालनमा ल्याएका छन्।
  • अब राहदानी विभागबाट पासपोर्ट प्रिन्ट भएर आएको राहदानी हुलाकले सात दिनभित्र सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ।
  • सेवाग्राहीले राहदानी, नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू घरमै पाउनेछन् र १०० थान खाममा हुलाक महसुल बापत टिकट टाँस गर्नुपर्नेछ।

२४ वैशाख, सुर्खेत । जिल्ला हुलाक मार्फत अब सुर्खेतवासीको घरदैलोमै राहदानी पुर्‍याउने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै ‘सरकारी कुरियर सेवा’ सञ्चालनमा आएको हो ।

उक्त सेवा सञ्चालनमा आएसँगै अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

नेपाल सरकारको शासकीय सुधारको १०० दिने कार्य योजना अनुसार उक्त सेवा सुरु गरिएको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।

‘अब सेवाग्राहीले राहदानी विभागबाट पासपोर्ट प्रिन्ट भएर आएको हप्तौंसम्म पर्खिनु पर्ने वा बुझ्नकै लागि प्रशासन धाउनु पर्ने छैन,’ उनले भने, ‘हुलाकका कर्मचारीले नागरिकको ढोकैमा ल्याइदिने छन् ।’

जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय भएको ९ बुँदे सहमति भएको छ । सहमति अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी विभागबाट राहदानी प्राप्त भएपछि सेवाग्राहीको घरमा पुर्‍याउन सम्बन्धित व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर राखी हुलाक निर्देशनालयलाई हस्तान्तरण गर्नेछ ।

हुलाकले ती राहदानी बुझेको ७ दिनभित्र सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने निर्देशक पाण्डेले बताए ।

उनका अनुसार, राहदानी हराउने वा दुरुपयोग हुने जोखिमलाई शून्यमा झार्न सेक्युर डेलिभरीको अवधारणा समेत अपनाइएको छ ।

राहदानीसँगै हुलाकले नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू घरमै पुर्‍याउने व्यवस्था गरेको छ । सेवा ग्राहीले १०० थान खाममा हुलाक महसुल बापत लाग्ने टिकट टाँस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?