+
+
Shares

धनगढीका मेयरले ४४ लाख तलब सामाजिक सेवामा खर्चे

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पारिश्रमिक तथा विभिन्न सेवा सुविधा बापत पाउने सबै रकम सामाजिक सेवामा खर्च गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सेवा सुविधा बापत पाएको ३८ लाख ८२ हजार रुपैयाँ सामाजिक सेवामा खर्च गरेका छन्।
  • उनले व्यक्तिगत रूपमा थपेर कुल ४४ लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने तयारी गरेको सचिवालयले जनाएको छ।
  • हमालले शैक्षिक सामग्री वितरण र गौ संरक्षणमा रकम खर्च गरेको र बाँकी रकम पनि सामाजिक कार्यमा खर्च गर्ने बताए।

२५ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पारिश्रमिक तथा विभिन्न सेवा सुविधा बापत पाउने सबै रकम सामाजिक सेवामा खर्च गरेका छन् ।

उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

तर कानुन बमोजिम खातामा रकम प्राप्त हुँदै आएको छ । त्यसपछि सेवासुविधा बापत पाएको रकममा पाँच लाख १७ हजार थपेर उनले ४४ लाख बराबरको रकम सामाजिक सेवामा खर्च गर्ने भएका छन् ।

मेयरमा निर्वाचित भएपछि चार वर्षमा सेवा सुविधा बापत मेयर हमालले ३८ लाख ८२ हजार ८३२ रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकममा थप गरेको व्यक्तिगत पाँच लाख समेत गरेर कुल ४४ लाख रुपैयाँ पुग्ने उनको सचिवालयले जनाएको छ ।

अहिलेसम्म हमालले सार्वजनिक शिक्षाको विकास तथा विपन्न वर्गको शिक्षामा पहुँच स्थापना, गौ संरक्षण र व्यवस्थापन तथा सामाजिक विकासका क्षेत्रमा प्राप्त रकम खर्च गरेका छन् ।

हमालले प्राप्त (चालु आर्थिक वर्ष समेत) गरेको ३८ लाख ८२ हजार ८६३ रुपैयाँ मध्ये अहिलेसम्म २३ लाख ९० हजार ८७८ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरिसकेका छन् । अब १४ लाख ८५ हजार १९५ रुपैयाँ (पाँच लाख थपेको समेत) बाँकी रहेको छ । बाँकी रकम समेत सामाजिक क्षेत्रमा खर्च गरिने उनी बताउँछन् ।

निर्वाचित भएको वर्ष हमालले सेवा सुविधा बापत एक लाख ३७ हजार २ सय ७३ रुपैयाँ प्राप्त गरेका थिए । उक्त रकम मध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरेर २६९ जना आश्रितलाई २ लाख ६७ हजार ८ सय बराबरको न्यानो लुगा हस्तान्तरण गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ८ कक्षाको वार्षिक परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सचिवालयले विद्यार्थीहरूलाई ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्राप्त रकमबाट धनगढीका ४७ सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४७५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यसमा १० लाख खर्च गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ अन्तिमसम्म ९ लाख ३६ हजार चार सय रुपैयाँ सेवा सुविधाबापत प्राप्त हुनेछ । उक्त रकम समेत सामाजिक कार्यमै खर्च गर्ने मेयरको तयारी छ ।

आफूले प्राप्त गरेको सेवा सुविधा वापतको रकम खर्चको अवस्थाबारे मेयर हमालले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।

उनले आफूले पाउने सेवा सुविधा बापतको रकममा व्यक्तिगत रूपमा थपेर सामाजिक कार्यमा खर्च गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?